गुल्मी २ बाट रामकुमारीको नाम सर्वसम्मत

नेकपा एकीकृत समाजवादी, गुल्मीले केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा संघीय सांसदको उम्मेदवारको निम्ति गुल्मी क्षेत्र नम्बर २ बाट सर्वसम्मत एकल सिफारिस गरेको छ । गठबन्धनमा सामेल दलहरुले जिल्लाबाट आफ्नो नेताको नाम सिफारिस गर्दै केन्द्रमा पठाए पनि हालसम्मको परिस्थितिमा कुनै फेर बदल नआए गठबन्धनबाट झाँक्रीको नाम अन्तिम हुने प्रायः निश्चित भएको बताइन्छ ।

केही दिन अगाडि झाँक्रीले गठबन्धनका शीर्ष नेताहरुमध्ये प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत गुल्मी २ मा गठबन्धनबाट टिकट दिलाउने विषयमा आश्वस्त पारेको बताएकी थिइन् । झण्डै नौ महिना वर्तमान सरकारमा रहेर मन्त्रीको भूमिका निभाउँद झाँक्रीको कामबाट प्रधानमन्त्री देउवा प्रभावित हुनुभएको झाँक्री निकटस्थहरुको दाबी छ ।

छोटो समय मन्त्री भएकी झाँक्रीले अहिलेसम्म गुल्मीबाट मन्त्री भएका अन्य दलका नेताहरुको तुलनामा औसतमा बढी बजेट पुर्याएर विकासको आशा जगाएको बताइन्छ । पछिल्लो समय झाँक्रीको प्रभाव जिल्लामा बिस्तारै बढ्दै गएपछि आगामी चुनावमा एमालेबाट सम्भावित नेता गोकर्ण विष्ट तथा सिफारिसमा परेका राजेन्द्र अर्याल एवम् शेषकान्त गौतममध्ये जसले टिकट पाए पनि गठबन्धनका तर्फबाट नेतृ झाँक्रीसँग कडा टक्कर हुने अवस्था बन्दै गएको छ ।

गठबन्धनबाट रूख चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गरेको अवस्थामा चुनाव जित्न अझै सजिलो हुने काँग्रेसका नेता कार्यकर्ताको दाबी छ । गत स्थानीय तहको चुनावलाई आधार मानेर हिसाब गर्दा पच्चीस हजारभन्दा बढी मत भएको नेपाली काँग्रेस झाँक्रीको जीतको निम्ति प्रथम भरथेग हुने निश्चित छ । त्यस्तै सो क्षेत्रको प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका शालीन नेता भुवन श्रेष्ठ र प्रदेश ‘ख’ बाट नेकपा माओवादीका नेता तथा प्रखर वक्ता बुद्धि जिसी उठ्ने चर्चा व्यापक बनाइएको छ ।

उता एमालेबाट ‘क’ बाट डिल्लीराज भुसाल र ‘ख’ बाट सरल नेताको छबि बनाएका दिनेश पन्थी उठ्ने सम्भावना प्रवल छ । एमालेका पन्थी र माओवादीका जिसी मदाने गाउँपालिका वडा नम्बर ७ एउटै वडाका हुन् । यसबाट पनि दुबै जनाको हकमा मदाने गाउँपालिकाका मतदाता निर्णायक हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार