बालबालिकालाई गाईको दूध खुवाउँदा आन्द्रामा ‘प्वाल’

जीवनशैली परिवर्तनसँगै हिजोआज स–साना बालबालिकामा मोटोपन तथा नबढ्ने समस्या पनि बढ्न थालेको छ। कुनै बच्चा चहिने जति बढ्न सक्दैन भने कुनै बालबालिका चाहिने या बढ्नु पर्ने भन्दा धेरै बढेका हुन्छन्। कुपोषण भएका बालबालिकाको अपेक्षित रूपमा शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास हुन सक्दैन।

यसले गर्दा विद्यालय शिक्षा प्रभावकारी हुन नसक्ने र देशको आर्थिक वृद्धिमै ह्रास आउने विश्व बैंकको अध्ययनले देखाएको छ। उचित खानपान र व्यवहारमा ध्यान दिन सकिएन भने कुपोषण एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुने विज्ञ बताउँछन्। कम तौल र कम उचाइ भएका महिलाले सानो र कम तौल भएका बच्चा जन्माउँछन् ।

ती बच्चालाई उचित खानपान र व्यवहार दिन सकिएन भने किशोरावस्थामा पनि कुपोषित हुन्छन् । घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिका मोटोपनको शिकार मात्र भइरहेका छैनन्। उनीहरूको शारीरिक विकासमै असर परिरहेको छ।

कम उमेरमा धेरै बढ्ने र नबढ्ने समस्या
धेरै समस्या हाम्रो खानपान र जीवनशैलीसँग सबन्धित छन्। यो समस्या पनि खानपानसँग सबन्धित रहेको छ। खानपान सम्बन्धि समस्यालाई हामीले तीन वटा समूहमा बाँडेका छौ।

बच्चामा हुने कुपोषण, अधिक मोटोपन र सूक्ष्म तत्त्वको कमी जस्ता समस्या देखिने गरेका छन्। जसले गर्दा बालबालिकामा समस्या देखापरेको छ।

कुपोषणले बालबालिकामा गर्ने असर
कुपोषण विशेषगरी खानाको कमीले हुनेगर्छ। तर, हाम्रो देशमा त्यति धेरै खानाको समस्या भएको पाइदैन। आवश्यक तत्त्व मिलाएर खान नजानेर कुपोषण हुने गरेको छ।

कतिपय बालवालिकामा दीर्घ रोगका कारणले पनि तौल नबढ्ने हुन्छ। आवश्यक मात्रामा खाना मिलाउन नसक्दा पनि बालबालिका कुपोषणको सिकार बनेका छन्। जसले गर्दा समस्या निम्त्याएको छ।

बालबालिकालाई कुपोषण जोगाउन
आमाको स्वास्थ्य अवस्थाले पनि बच्चाको तौलमा असर गर्छ। बच्चा जन्मेपछि पाँच महिनासम्म आमाको दुध खुवाउनुपर्छ। राम्रोसगँ खुवाउन सक्यो र आमाले चिन्ता लिएन भने आमाको दूधले पाँच महिनासम्म पुग्छ। पाँच महिनापछि पोषिलो आहार खुवाउनुपर्ने हुन्छ। बच्चालाई पोषिलो आहार खुवाउन सकिएन भने कुपोषण हुने सम्भावना हुन्छ।

यदि थप खाना राम्ररी बनाएर दिइएन भने झाडापखालासँगै अन्य समस्या आउन सक्छन्। जसले गर्दा कुपोषण हुनेगर्छ। खाना धेरै खुवाएर कुपोषण हुने भन्ने हुँदैन। बच्चामा दीर्घरोगको समस्या छ या अन्य समस्या छ भने कुपोषण हुने हो। अहिले धेरै आमा व्यस्त हुने, बच्चालाई दूध खुवाउन गाह्रो भयो भने, यस्तो अवस्थामा आमाको दूध सफा भाँडामा पुन मनतातो बनाएर खुवाउन सकिन्छ।

आमाको दुधको साटोमा अर्को दूध दिन सकिन्छ। सब्सीच्युट मिल्क बनाउँदा सफा पानी प्रयोग गरिएन, भाँडा सफा भएन, राम्ररी दूध उमालेर खुवाइएन भने रोग फैलिएर कुपोषण हुनेगर्छ। त्यसैले बालबालिकालाई दूध खुवाउदा पनि धेरै ध्यान दिनुपर्ने हुन्छ।

बजारमा पाइने खानेकुरा कति पोषिलो
बालबालिकालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ। त्यसपछि कम्पिलीमेन्ट्री फिडिङमा घरमै लिटो, जाउलो, खिचडी बनाएर खुवाउन सकिन्छ। बच्चाको लागि बजारमा पाइने खानेकुरामा कार्बोहाइड्रेड बढी हुने भएकाले बच्चाको तौल बढ्ने तर स्वास्थ्य नहुने हुन्छन्। विज्ञापनको पछि लागेर बजारमा जे पाइन्छ त्यै खानेकुरा खुवाउनु हुँदैन।

बालबालिकालाई खुवाउनु पर्ने खाना
सानो बच्चालाई आमाको दूध भन्दा पोषिलो अरु केही हुँदैन। ६ महिनापछि घरमै दालभात, लिटो, जाउलो बनाएर खुवाउनु राम्रो हुन्छ। एक वर्षको बच्चालाई आमाको दूधसँगै दिनमा दुई पटक कम्पिलीमेन्ट्री फुड खुवाउनुपर्छ।

एक वर्षपछिको बच्चालाई दिनमा तीन पटक कम्पिलीमेन्ट्री फुड खुवाउनुपर्छ। साधरणतया यो भन्दा बढी उमेरका बच्चालाई दिनमा ५ पटकसम्म खुवाउन सकिन्छ। यसरी खुवाउँदा घरमा नै बनेको या घरमा नै उत्पादन गरिएको खानामा जोड गर्नुपर्छ।

स्कुल पठाउँदा कस्तो खाजा समावेश गर्ने
स्कुल पठाउने बच्चा वा २, ३ वर्षमाथिको बच्चालाई कम्तिमा पाँच पटक खुवाउनुपर्छ। सधै एउटै खानेकुरा खुवाइयो भने बच्चालाई खान मन नलाग्ने हुन्छ। खानामा विविधतासँगै कार्बोहाइटेड, फ्याट र प्रोटिन हुन जरुरी हुन्छ। यी समावेस भएका खानेकुरा मिलाएर खुवाउनुपर्छ।

अभिभावकको लापरबाहीले समस्या बढ्दै
एकदेखि दुई प्रतिशत बालबालिमा मोटोपना देखिएको छ र विस्तारै बढ्दै गइरहेको छ। अधिकाशं खानामा बढी कार्बोहाइड्रेड, फ्याट, प्रोटिन र सुगर रहेको छ। यस्तो खाना बच्चालाई बढी दिने भएकाले मोटोपना बढिरहेको छ।

बच्चालाई चाहिने आवश्यक तत्व बजारमा पाइने खानामा भरपुुर नहुन सक्छ। कसैलाई सानो समस्याले गर्दा मोटो हुन्छन्। तर, धेरै जनामा खानाकै कारणले मोटोपना देखिएको छ।

विज्ञापनको पछि लाग्नु हुँदैन
धेरै खानेकुराको विज्ञापनमा बच्चा मोटो तथा स्वस्थ देखाइएको हुन्छ। यसले गर्दा अभिभावकमा भ्रम सिर्जना हुन्छ। अभिभावकले पनि आफनो बच्चालाई त्यही खानेकुरा किनेर खुवाउनुहुन्छ। तर, विज्ञापनामा देखाएको सबै कुरा सत्य हुँदैन। यस्ता विज्ञापन सरकारले सेन्सर गर्नु जरुरी छ। त्यसैले विज्ञापनको पछि लाग्नु हुँदैन्। घरमा नै बनेको तथा बनाएर खुवाउनुपर्छ।

समस्या आउन नदिन
बालबालिकालाई बजारमा प्याकेजिङ गरिएको तयारी खाना कम खान दिनुपर्छ। अविभावकले बालबालिकालाई समय दिएर घरमै खाना बनाएर खुवाउनुपर्छ। बच्चालाई पनि बाहिरको खाना खानु हुँदैन भनेर सम्झाउनुपर्छ।

हाम्रो देशमा दुई वर्ष मुनिका ७० प्रतिशत बच्चामा आइरनको कमी हुन्छ। हाम्रो खानामा आइरनको कमी हुने गरेको छ।

बालबालिकालाई आइरनको कमी कुपोषण हुने र बच्चाले खान मन नगर्ने हुन्छ। जसले गर्दा बालबालिकामा कुपोषण बढ्दै गएको छ। बालबालिकालाई १३ महिनासम्म गाईको दूध खुवाउनु हुन्न।

१३ महिना सम्मका बालबालिकालाई गाईको दूध खुवाउँदा आन्द्रामा आँखाले नदेखिने प्वाल पार्नुका साथै ब्लिडिङ हुन्छ। यसको बारेमा सबैलाई जनचेतना फैलाउनु जरुरी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार