भग्नावशेषबाट लाश झिक्ने क्रम जारी

अफगानिस्तानमा हिजो गएको भूकम्पमा मारिनेको संख्या एक हजार नाघेको छ । घाइतेहरुको संख्या पनि झण्डै दुई हजार पुगेको छ । मृतक र घाइतेको संख्या अझै थपिने उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् ।

अफगानिस्तानमा रहेका राष्ट्र संघीय निकायका कर्मचारीहरुका अनुसार हिजो मध्यरातमा गएको ५.९ रेक्टर स्केलको भूकम्पले सबैभन्दा बढी दक्षिणपश्चिम प्रान्तमा क्षति पुर्याएको छ । त्यहाँको खोस्ट प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको हो ।

हिजोको भुईंचालो अफगानिस्तानमा पछिल्लो दुई दशकमा गएको सबैभन्दा शक्तिशाली र विनाशकारी हो । भूकम्पबाट दुई हजारभन्दा बढी घर र आवासीय भवन ध्वस्त भएका छन् ।

भूकम्प गएको क्षणबारे स्थानीय २६ वर्षे सरहादी खोस्ती भन्छन्, ‘राति १ बजे मस्त निदाएको समयमा गएको भुईंचालोले सबैलाई ब्युँझायो । काठ र ढुंगामाटोबाट बनाइएका घर सबै ढले । भूकम्प गएको दुई दिन भइसक्दा पनि हामी भग्नावशेषबाट लाशहरु झिकिरहेका छौं ।’

उता छिमेकी पाकिस्तानमा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । त्यहाँबाट अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको समाचार संस्थाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार