यतिसम्म भयावह श्रीलंकाको अवस्था !, कोलम्बोमा काठमाडौंबाट औषधिका पोका

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा गहिरिएको राजनीतिक संकटले अझै पार पाएको छैन । सर्वसाधारणको दैनिकी कष्टमय भएको छ । अत्यावश्यक सामग्री विदेशबाट आयात गर्ने क्रम ठप्प छ । किनभने मुलुकको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती सकिएको छ ।

श्रीलंकाको अहिलेको संकट राजनीतिक, आर्थिक र वित्तीय क्षेत्रका अगुवाले बेलैमा बुद्धि नपुर्याउँदाको परिणाम हो । पेट्रोलियम पदार्थ, औषधि र अन्य कतिपय अत्यावश्यक सामानको चरम अभाव छ । सबैभन्दा भयावह अवस्था अस्पताल र स्वास्थ्य केन्द्रहरुमा रहेको बताइन्छ ।

काठमाडौंमा पेशा व्यवसाय गर्दै आएका श्रीलंकाली नागरिक र विशेषगरी मेडिकल शिक्षामा अध्ययनरत त्यहाँका केही विद्यार्थीका अनुसार मुलुकको अवस्था सोच्न पनि नसकिने मोडमा पुगेको छ । उनीहरुले आफन्त र नजिकका वृद्ध नातेदारको औषधि यहाँबाट कोलम्बो पठाउने गरेको जानकारी दिएका छन् ।

महाराजगञ्जको एउटा औषधि पसलमा भेटिएका ती मेडिकल विद्यार्थीले भने,‘प्रेसर, सुगरलगायतका क्रोनिक बिरामीको औषधि पाइन छाडेको छ । अस्पतालमा उपचार हुन छाडेको खबर छ । वृद्धहरुलाई अस्पताल पुर्याउने मात्र हो,स्वस्थ बनाएर फर्काउने कुनै सम्भावना छैन । आफन्तहरुको औषधि यताबाट पठाइरहेको छु ।’

कोलम्बो–काठमाडौं–कोलम्बो हुँदै आएको श्रीलंकन एअरलाइन्सको उडानमा उनीहरुले यताबाट औषधि पठाउने गरेका हुन् । अहिले त्यहाँका अस्पतालमा युवालाई उपचारको निम्ति प्राथमिकता दिइएको पनि श्रीलंकाली विद्यार्थीले बताए । वृद्धहरुको लागि मुखले नभने पनि उपचार गर्न छाडिएको भन्दै उनले दुःखेसो पोखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार