अर्थ मन्त्रालयमा पूर्व नासुको गेट पास शुल्क एक करोड बिस लाख !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरुलाई बजेट निर्माणको अन्तिम रात अर्थ मन्त्रालयमा पहुँच दिएर राष्ट्रघाती काम गरेको भनेर देशभर र संसदमा हंगामा भइरहेको छ । उद्योगी विनोद चौधरी र व्यापारी दीपक भट्टलगायतका केही व्यक्तिका लागि उनीहरुकै प्रतिनिधिहरुमार्फत करको दर थपघट, फेरबदल पारेर राष्ट्रघाती काम गरेको गंभीर आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ । उक्त आरोपको प्रष्ट जवाफ दिन नसकेका मन्त्री शर्माले सरकारी मिडियामार्फत आफ्नो भनाई राखेर कनीकुथी औपचारिकता निभाएका थिए । अनि, संसद उठेको प्रश्नको जवाफ पनि टालटुले दिएर सकेका थिए । संसद र सडकमा उठेका प्रश्नको जवाफ दिन सक्ने अवस्थामा अर्थ मन्त्री शर्मा नभएकै कारण उनी पन्छिन खोजेको पनि प्रष्टै देखिन्थ्यो ।

२०७९ जेठ १५ गते ०.३० बजे अर्थ मन्त्रालय छिरेका र ‘मध्यराति बजेटमा जब ‘चुकुल’ लाग्यो, बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए’ प्रकरणका नायक अर्थकै पूर्व नासु रघुनाथ घिमिरेको अर्थ मन्त्रालयको गेटमा तालाबन्दी रहेको मध्यरातिको प्रवेशको गेट पास चाहिं के कति थियो भन्ने चर्चा अहिले अर्थ मन्त्रालयमा व्यापक छ । स्रोतका अनुसार, अर्बौं ठेक्कापट्टाका एजेन्ट दीपक भट्टका कर्मचारी पूर्व नासु रघुनाथ घिमिरे अति गोप्य र संवेदनशील घडीमा अर्थ मन्त्रालयको विशेष र विशिष्ट कक्षमा प्रवेश गरेर भंसार÷राजस्व दरमा निर्ममतापूर्वक तल/माथि गर्दा राज्यलाई कति अर्ब घाटा लाग्यो त्यसको हिसाव किताव त इतिहासले गर्ला नै ।

तर, यी पूर्व नासुको अर्थ मन्त्रालय प्रवेशको गेट पास चाहिं देशमा लुटतन्त्र चलेको समयमा निकै कम रहेको भन्दै स्रोतले व्यंग्य गरेको छ । इलेक्ट्रोनिक गाडीको भंसार दर दस प्रतिशत बढाउन सफल भए वापत उनले गेट पासका लागि अटो गेयर वाला रु. ६० लाख मूल्यका दुई थान (रु.१ करोड २० लाख) गाडी दिने सर्त रहेको स्रोत बताउछ ।

यी एक करोड २० लाखका अटो गेयर वाला दुई थान गाडी अर्थ मन्त्री जनार्दन शर्माका निकट मानिसहरुले उपहार स्वरुप प्राप्त गर्ने भएका छन् । दलालहरुको सेटिङमा भंसारका दरहरु फेरबदल गर्दा कति करोड, अर्बको थैली माओवादी केन्द्रमा पुग्यो त्यो भने खोजीकै विषय भएको छ ।

(साँघु साप्ताहिक, २०७९ असार ६ गते)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार