इन्धनको भाउ बढेकोमा ठेकेदारहरु आगो, काम ठप्प पार्ने चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले मुलुकभरका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण परियोजनाहरु ठप्प पार्ने चेतावनी दिएको छ ।

इन्धनको मूल्यवृद्धिले निर्माण सामाग्रीको भाउ बढेको भन्दै निर्माण व्यवसायीलाई तत्काल राहत दिनेगरी सरकारले मूल्य समायोजन नगरेमा ‘कन्स्ट्रक्सन होलिडे’ का बीच सञ्चालनमा रहेको परियोजनाहरु ठप्प पार्ने महासंघले चेतावनी दिएको हो ।

इन्धनको भारी मूल्यवृद्धिले निर्माण सामग्रीहरुको अत्याधिक भाउ बढ्न गई निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । निरन्तर मँहगी भइरहेपनि सरकारले निर्माण व्यवसायीहरुलाई कुनै राहतको व्यवस्था नगरी समग्र उद्योगका विकासप्रति नै उदासीनता देखाएको उसको आरोप छ ।

‘अप्रत्याशित रुपमा निरन्तर भइरहेको मूल्यवृद्धिले घर जमिन तथा अन्य जायजेथा धितो राखेर निर्माण व्यवसायमा लागेका देशभरका हजारौं निर्माण व्यवसायीहरु, निजका परिवार र निजमा आश्रित लाखौं श्रमिकहरुको बिचल्ली हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थमा लिइने कर कटौती तथा चुहावटको समस्या समाधान नगरी केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउदै एकोहोरो रुपमा निर्माण व्यवसायीसहित तमाम उपभोक्ताको ढाड सेक्ने काम सरकारले गरेको महासंघले भनेको छ । आफ्ना माग सम्बोधन नभए यसअघि स्थगित कार्यक्रमसहित एक साताभित्र थप सशक्त कार्यक्रम सार्वजनिक गर्ने महासंघको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार