काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप २ विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् ।
नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबईले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् ।
नेपाल क्यानका महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले २ हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि प्रक्रिया थालेको छ । भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च छ ।
सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् । साताको ३ दिन नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले पनि हप्तामा सातै वटा उडान गर्ने तयारी गरेको विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले बताए ।
हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको भाडा ३३ हजार छ । भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा यसभन्दा ६ हजार ६ सय कम छ ।