निजगढकाे निर्माण रोक्ने निर्णय उचित हाेइन : संसदीय समिति

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण राेक्ने निर्णय उचित नदेखिएको जनाएकाे छ ।

‘लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित देखिन्न’ आइतबार समितिले पारित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

निजगढ विमानस्थलको निर्माण रोक्दा बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रयोजनको लागि भइसकेको अर्बौं रुपैयाँको खर्चलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्न सक्ने समितिको निचोड छ ।

सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएपछि यो विषयमाथि अनेक कोणबाट टिकाटिप्पणी भइरहेको छ । सर्वोच्चको आदेशउपर अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि पटक–पटक छलफल भएको छ ।

समितिको वार्षिक प्रतिवेदनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न सरकारलाई निर्देश गरिएको पनि उल्लेख छ ।

प्रतिवेदनलाई छिट्टै प्रतिनिधिसभामा पेश गरिने समिति सभापति पवित्रा निरौला खरेलले बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार