खानेकुरा, पानी र व्यक्तिगत सरसफाइमा ध्यान दिए सरुवा रोगबाट बच्न सकिन्छ

यस पटक मनसुन केही छिटो सुरु भएको छ । त्यसको प्रभाव देखा परिसकेको पनि छ । वर्षाको स्थिति सुरु भएकोले यस मौसममा हुने सरुवा रोगका बिरामीहरु अस्पतालमा देखा पर्न थालेका छन् । यसै सन्दर्भमा वर्षामा देखिने झाडापखाला, टाइफाइड जस्ता सरुवा रोगहरुबाट कसरी बच्ने भन्ने सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी ।

वर्षाको यो समयमा हुने विभिन्न सरुवा रोगबाट बच्न के गर्नुपर्ला ?

सरुवा रोग वर्षाको समयमा कसरी सर्छ भन्ने कुरामा पहिले जानुपर्छ । वर्षाको समयमा हुने विभिन्न किसिमका सरुवा रोगबाट कसरी बच्न सकिन्छ भन्ने कुरा निकै महत्त्वपूर्ण छ । वर्षामा नेपालमा देखिरहने सरुवा रोगको नाम भन्नुपर्दा झाडापखाला, टाइफाइड, हेपाटाइटिस ‘ए’ अथवा ‘ई’ भन्छौँ हामीले जुन खानपानबाट सर्छ जस्तै रेक्टोस्पाइरोसिस, हैजा आदि । हैजालाई पनि झाडापखालामा नै गनिन्छ तर हैजालाई अलि कडा मानिने हुनाले यसलाई अलि फरक तरिकाले हेर्नुपर्छ हामीले ।

यी माथिका हामीले थाहा पाएका रोगहरु भए । थाहा नभएका अनगिन्ती अरु पनि छन् । अहिले पनि जुन झाडापखाला छ त्यसको कारक के हो भन्ने धेरैलाई थाहा छैन । भनेको हामीले जुन परीक्षण गर्छौँ त्यो परीक्षण अन्तर्गत पर्दैन । त्यसले गर्दा हामीले लक्षणका आधारमा मात्र उपचार गरिरहेका हुन्छौँ । जुन अघि मैले नामहरु लिएँ त्यस्ता खालका रोगहरु वर्षाको समयमा देखिन्छ।

यस्ता खालका रोगहरुबाट जोगिन के-के गर्नुपर्छ ?

यो पक्कै पनि महत्त्वपूर्ण प्रश्न हो । मुख्य कुरा चाहिँ खानेकुरा र पानी नै हो । खानेकुराभन्दा पनि अझ पानी एउटा ठाउँबाट धेरै जनाले प्रयोग गर्ने भएको हुँदा अझ त्यसबाट रोग फैलिएको हाम्रो इतिहास छ । हाम्रो खानेकुरा वा पानीमा सङ्क्रमण मिसिएको छ भने त्यो हामीले उपभोग गर्दा त्यसमध्ये धेरैलाई रोगहरु फैलन सक्ने सम्भावना हुन्छ ।

पानीका कारण रोग फैलन सक्ने सम्भावना धेरै देखिएको हुँदा पानीलाई हामीले कसरी प्रयोग गर्ने ?

हुन त पानी सुरक्षित र सफा खानुपर्छ भनेर हामीले विगतदेखि भन्दै आएका हौँ । त्यसका लागि विभिन्न तरिकाहरु छन् । यसमा हामीले भन्नुपर्दा पानी शुद्ध बनाउने विभिन्न विधि जस्तै उमालेर, पीयूषको प्रयोग गरेर होला, सोडास विधिको प्रयोग गरेर होला विभिन्न विधि छन् । यसमध्येको विधि अपनाउन सकिन्छ ।

अर्को चिन्ताको कुरा भने अचेल हामी पानी किनेर खान्छौँ । त्यसमा सबै त होइन राम्रा कम्पनीहरुको त अस्पताल, कार्यालय, स्कुल सबै ठाउँमा लिएर खाने गरिएको छ । तर, कतिपय अवस्थामा जसले दैनिक ज्याला गरेर कमाइरहनु भएको छ उहाँहरुले त्यो ध्यान नदिएको देख्छु म । हुन त मैले अरुहरुलाई पनि भन्न खोजेको हो । उहाँहरुको विषयमा मेरो राम्रो अनुभव भएको हुनाले भनेको हुँ । किनकि उहाँहरुले त्यो पानी कहाँबाट आएको त्यति मतलब नगर्ने हुँदा उहाँहरुलाई झाडापखाला भएको विगतको मेरो अनुभव छ ।

जुन समयमा जारको पानीले धेरै रोग पनि फैलिएको छ भनेर मैले भन्दा धेरैले पत्याउनु भएन । मैले भन्नुपर्दा भर्खर भर्खर जारको पानी आएको त्यसबेला म हाँसोको पात्र समेत भएको थिएँ । तर, त्यसको केही वर्षपछि प्रयोगशालामा परीक्षण गर्दा कोलिफर्मको स्तर अत्यधिक भएको भन्ने कुरा आयो जसले गर्दा खानेपानीमा पनि ध्यान दिनुस् भन्ने कुरा आयो ।

जुन पानी पिउनको लागि तयारी हो भन्ने थियो त्यसमा पनि हामीले अलि विचार पुर्याउँ भन्ने कुरा अहिले हामीले भन्नैपर्छ यतिबेला । कोही कोही व्यापारीले केही बदमासी गरेको पनि हुनसक्छ तर, सबैले होइन । खानेकुराको हकमा ताजा र राम्रोसँग पकाइएको खानेकुरा मात्र खाउँ ।

अर्को हामीले त्यति कुराकानी नगरेको विषय भनेको जो व्यक्तिलाई झाडापखाला लागेको छ भने उहाँहरुले शौचालय गएर राम्रोसँग हात धुनुभएन भने खानेकुरा जतिसुकै ताजा होस्, जतिसुकै राम्रोसँग पकाइएको होस् अथवा पानी पूरा सुरक्षित होस् उसको हात सफा भएन भने त्यहाँबाट रोग फैलन सक्छ । त्यसकारण खानेकुरा, पानी र व्यक्तिगत सरसफाइ त्यसमा पनि हात र अलि अलि सङ्क्रमित व्यक्ति जो काममा लागिरहेको हुन्छ उसबाट सर्ने सम्भावना हुन्छ ।

रोग लागि हालेमा के गर्ने ?

झाडापखालको कुरा गर्दा लक्षण त्यति कडा छैन अर्थात तारन्तार पखाला लागेको छैन र युवा हो भने यदि विगतमा उसमा दीर्घ रोगहरु छैन भने उसले घरमा बसेर जीवनजल लगायत झोलिलो चिजहरु खाएर अनि केही दिन आराम गरेर हेर्न सकिन्छ । तर, यदि ज्येष्ठ नागरिक हो, दीर्घ रोगी हो र पखाला मात्र नभएर तारन्तार बान्तासमेत हुन थाल्यो भने घरमा नबस्नुस् चिकित्सकको सल्लाह लिनुस् । उहाँहरु भने घरमा बस्ने होइन ।

तर, दीर्घ रोग छैन, युवा हो र खासै पखालाहरु पनि कडा छैन भने घरमै आराम गरेर र झोलिलो कुरा खाएर पनि ठिक हुन्छ । सामान्य भाषामा भन्नुपर्दा थोरै थोरै पखाला लागेको छ बान्ता भएको छैन भने आराम गरेर पनि बस्न सकिन्छ तर, यदि तारन्तर बान्ता पनि भएको छ भने उसले केही खान त सक्दैन र ऊ झन् सिकिस्त हुने सम्भावना हुन्छ र यसले अरु अङ्गमा थप प्रभाव पार्न सक्ने हुन्छ त्यसकारण त्यस्तो अवस्थामा उपचारका लागि जसरी हुन्छ चिकित्सकहाँ सम्पर्क गर्नुस् ।

वर्षामा हुने सङ्क्रमणमा व्यक्तिगत सरसफाइ घर वरपरको सरसफाइमा कसरी ध्यान दिने ?

व्यक्तिगत सरसफाइको कुरा गर्दा हातहरु राम्रोसँग धुने त्यसमा पनि शौचालय गइसकेपछि । कहिलेकाहीँ सङ्क्रमण लक्षणविहीन पनि हुनसक्छ तर, अर्कोलाई सर्दा त्यो कडा पनि हुनसक्छ । शौचालय, खानेकुरा, पानीको सफाइमा ध्यान दिनुपर्यो ।

हामीले अघि जसरी फैलन्छ भनेर भनेका छौँ त्यसमा ध्यान पुर्याउनु पर्यो । त्यसलाई हामीले महत्त्व दिएर विशेष ध्यान पुर्याउनु पर्छ । त्यसो गरेमा सङ्क्रमण फैलिँदैन । सक्रमण सधैँ फैलनुपर्छ भन्ने पनि छैन । त्यसको रोकथाम र नियन्त्रण सबै तपाईँ हाम्रै हातमा छ । केही पनि ठूलो कुर छैन । हामीले सामान्य कुरामा ध्यान दियौँ भने धेरै मान्छे प्रभावित हुनबाट जोगिनुहुन्छ । तर, विडम्बना केही हप्तादेखि मानिसहरुमा झाडापखाला फैलिएको देखिएको छ ।

सङ्क्रमणको कारक मानिने लामखुट्टे तथा झिँगालाई चाहिँ कसरी नियन्त्रण गर्ने ?

झिँगाले फाेहर मन पराउने हुनाले फाेहर गर्नुभएन । अर्को कुरा भनेको लामखुट्टेको हकमा भने यो त्यति सहज छैन चुनौतीपूर्ण नै छ । उदाहरणको लागि सिँगापुरमा पनि डेङ्गी फैलाउने लामखुट्टे चुनौतीको रुपमा रहेको छ ।

यसका लागि वरपरको खाल्डाखुल्डी, पानी जम्ने गरी भाँडाहरु फाल्नु भएन । अझ वरपर ग्यारेजहरु हुन्छन् जहाँ टायरहरु फालिएको हुन्छ त्यो चाहिँ लामखुट्टेको स्वर्ग नै हो । त्यो ठाउँमा लामो समयसम्म पानी जम्ने र त्यहीँ हुर्कने कारणले पनि यस्ता कुरामा ध्यान दिनुपर्छ । लामखुट्टे हुर्कने वातावरण बनाउनु भएन ।

तर, घर मात्रै सफा राखेर भएन किनकि मलाई केही सामान किन्न जानुपर्यो भने बाहिर त जानै पर्छ यसकारण त्यो बेलमा लामखुट्टेले टोक्न सक्छ । यसकारण एक जना या एउटा घर सफा भएर भएन यसमा सामूहिक प्रयासको आवश्यकता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार