प्याच्च बोल्ने मन्त्रीहरु अप्ठेरोमा

गत साता बसेको नेकपा एकीकृत समाजवादी स्थायी समितिको बैठकले धेरै वटा निर्णय गरेको छ । मन्त्री फेर्ने सचिवालयको निर्णयलाई स्थायी समितिले समेत अनुमोदन गरेको छ ।

दुई साताअघि मन्त्री फेर्ने निर्णयलगत्तै कुदाकुद गरेका एकीकृत समाजवादीका मन्त्रीहरुको प्रस्तुति पछिल्लो स्थायी समिति बैठकमा आक्रामक नभएको बताइन्छ । ‘मन्त्रीहरु बाहिर कराएजस्तो सशक्त ढंगले स्थायी समितिको बैठकमा प्रस्तुत हुन सक्नुभएन,’ एक जना नेताले भने ।

बैठकमा उनीहरु सामान्य ढंगले प्रस्तुत भएको नेताहरुको बुझाइ छ । दुई साताअघिको सचिवालयको निर्णयविरुद्ध सार्वजनिक धारणा राखेकाले पनि उनीहरुलाई अप्ठेरो परेको बुझ्न गाह्रो छैन । पुनः त्यस्तै विचार राखेमा स्थायी समिति बैठकमा आफैं खुइलिने डर भएपछि उनीहरु पछि हटेको बताइन्छ ।

यता आगामी आर्थिक वर्षको बजेट संसदबाट औपचारिक रुपमा पारित भइसकेको छ । त्यसअघि विनियोजन विधेयकमाथि छलफल भयो भने मन्त्रालयको तर्फबाट मन्त्रीहरुले जवाफ पनि दिइसके । त्यसैले पहिले संसदमा बजेटसम्बन्धी मन्त्रालयको तर्फबाट जवाफ दिएपछि फर्कन्छौं भनेका मन्त्रीहरुले अहिलेसम्म पनि कुनै तदारुकता देखाएका छैनन् । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसबारे केही उच्चारण गर्नुभएको सुनिएको छैन ।

यसअघि एकीकृत समाजवादीका केही मन्त्रीले क्याबिनेटबाट फिर्ता हुने विषय ‘सचिवालयले निर्णय गर्न पाइन्छ र ?’ भन्दै केही दिन टाँग अड्याएका थिए । तर उनीहरुको उक्त धारणा पार्टी विधान विपरित रहेको नेतृत्व तहको बुझाइ छ । ‘उनीहरुले कुनै अध्ययन नगरी दिएको प्रतिक्रिया हो त्यो । पार्टीको सबैजसो निर्णय सचिवालयले गर्ने र स्थायी समितिले अनुमोदन गर्ने सन्दर्भमा मन्त्रीहरुको आवेगको प्रतिक्रियाले उनीहरुलाई नै अप्ठेरो बनाएको हो,’ सचिवालयका एक जना सदस्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार