असारपछि दुई दिने सरकारी बिदा खारेज, आउँदैनन् सेवाग्राही, ५ बजे पछि अफिस सुनसान

काठमाडौं । संधै जसो १० देखि ५ बजेसम्म भिडभाड हुने त्रिपुरेश्वस्थित कम्पनी रजिष्टारको कार्यालय शुक्रबार ठीक पाँच बजे नै सुनसान देखिन्थ्यो । ०७९ जेठ १ गते देखि हप्ताको दुई दिन शनिवार र आइतवार बिदा दिने र कार्यालय समय बढाएको भएपनि सेवाग्राहीहरुले भने सरकारी निर्णयलाई नरुचाएको यो घटनाले पुष्टि गरिदिएको छ । त्रिपुरेश्वस्थित उद्योग बिभाग, भंसार बिभाग, कम्पनी रजिष्टारको कार्यालय समय अगावै सुनसान रहेको थियो तर पनि सेवाग्राही आउने आशामा रहेका कर्मचारीहरु भने दिक्क मानेर बसिरहेका देखिन्थे । सेवाग्राही नआएपनि सरकारले तोकिदिएको कार्यालय समयसम्म बस्नु आफूहरुको बाध्यता भएको गुनासो उनीहरु सुनाइरहेका थिए ।

सुन्धारास्थित काठमाडौं महानगरपालिका हालत पनि उस्तै थियो । साँघु प्रनिनिधि ५ बजेर २५ मिनेटमा पुग्दा केही कर्मचारीहरु कुर्सी छोडेर घर टाप कसिसकेका थिए । कुर्सीमा भएका कर्मचारीहरु हाइ काडेर समय बिताइरहेका देखिन्थे । सेवाग्राही आउने प्रतिक्षामा रहे पनि कार्यालय वरपरको वातावरण भने सुनसान देखिन्थ्यो । प्रमुख प्रशासकीय अधिकृतलगायत उच्च अधिकारीहरु भने सोमवारका दिन नयाँ मेयरसावलाई स्वागत गर्ने चटारोमा व्यस्त देखिन्थे ।

महानगरका कर्मचारी गुनासो पनि दुई दिने सार्वजनिक र कार्यालय समय अव्यवहारिक रहेको गुनासो सुनाइरहेका थिए । शुक्रवार सार्वजनिक बिदा, शनिवार र आइतवार नियमित पर्दा पैसावाल कर्मचारीलाई झन मस्तीका लागि समय मिलेको गुनासो एक महिला कर्मचारीले सुनाइन । हामी महिला कर्मचारीहरु त घरको काम व्यस्त हुन्छौं, पुरुष कर्मचारीलाई मादक पदार्थ सेवन र जुवा तास खेल्नको लागि थप समय मिलेको उनको बुझाई थियो । यसकारण पनि दुई दिने सार्वजनिक बिदा प्रभावकारी नभएको नाम उल्लेख नगर्ने शर्तमा ती महिला कर्मचारीले साँघुलाई बताइन ।

यसैबिच, जताततैबाट दुई दिने सार्वजनिक बिदा दिने सरकारी निर्णयको आलोचना बढेपछि ०७९ असार मसान्तपछि खारेज गर्ने तयारीमा सरकार पुगेको बताइएको छ । सरकारी खर्च कटौती र इन्धन खपतमा न्यनीकरण गर्ने सरकारी उदेश्य रहेको थियो । तर उक्त योजना प्रभावकारी कार्यान्वयमा हुन नसकेको र सर्वसाधरणले पनि बिरोध जनाएका कारण छिट्टै खारेजी हुन लागेको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।
-साँघु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार