गठबन्धन बैठकमा चुनावी समीक्षा : तालमेल उपलब्धिमूलक र सन्तोषजनक भएको निष्कर्ष

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तहका नेताहरूको सोमबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनबीच भएको चुनावी तालमेल उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षा भएको जानकारी दिए ।

‘बैठकमा चुनावी समीक्षा भयो, गठबन्धनबीचमा तलैसम्म सबै स्थानीय तहमा तालमेल नहुँदा सोचेजस्तो परिणाम आएन भन्ने निष्कर्ष हो तर पनि परिणाम सन्तोषजनक, उपलब्धिमूलक छ भन्ने छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

बैठकले पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा पनि गठबन्धन आबद्ध पाँच दलभित्र सहमति गरेर जान जिल्ला तहका नेतृत्वलाई निर्देशन दिएको छ । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार