आफ्ना उम्मेदवार कृष्ण थापालाई हराउन एमाले नेताहरुवीच गोप्य सल्लाह (अडियोसहित)

पोखराका एमाले नेताहरुले पार्टी उम्मेदवार कृष्ण थापालाई हराउन चुनावअगाडि बनाएको गोप्य रणनीति बाहिरिएको छ । सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यसँग भित्री साँठगाँठ गरेर थापालाई हराउन असन्तुष्ट खेमाका दुई नेताले गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि यस्तो रणनीति बाहिर आएको हो ।

१३ मीनेट ५४ सेकेण्डको उक्त अडियो संवादमा आचार्यलाई भोट हालेर थापालाई हराउन योजनावद्ध तयारीका कुरा गरिएका छन् । धनराजसँग पैसा लिएर कलममा भोट खन्याउने र थापालाई देखाइदिने उनीहरुको योजना उक्त संवादमा प्रष्ट बुझिन्छ । दुईपक्षीय संवादमा फोनकर्ताको पहिचान खुलेको छैन भने अर्कोतिर एमालेबाट पोखरा महानगरको टिकटको आकांक्षी रहेका प्रदेश सांसद तथा युवा संघका पूर्वअध्यक्ष राजीव पहारीका पिए मनोज छन् । मनोजले फोन गर्ने व्यक्तिलाई कृष्ण थापा हराउन आफू जेसुकै गर्न तयार रहेको विश्वास दिलाएका छन् ।

“६४ वर्ष भैसक्यो । कृष्ण थापा सिध्दिएपछि बाटो खुल्ने राजीव दाइकै हो । त्यो खगे चोर (खगराज अधिकारी) र थापा काजी (कृष्ण थापा) दुवैलाई थाहा छ मनोजले असहयोग गर्ने होला भनेर । त्यसैले त्यसलाई अप्ठेरो पर्दैन दाइ । खगराजले त्यो मनोजले असहयोग गर्छ भनेको रहेछ । “

संवादमा अर्को पक्षले धनराजसँग पैसा लिएर भोट हाल्दिने गरी कुरा अघि बढाउन मनोजलाई अर्हाएका छन् । गठबन्धनका उम्मेदवार धनराज काका पर्ने भएकाले आफूले सिधै पैसा माग्न नसक्ने बाध्यता सुनाउँदै उनले त्यसको जिम्मा लिइदिन मनोजलाई आग्रह गरेको संवादमा सुन्न सकिन्छ । कुराकानीका क्रममा उनीहरुले एमालेको पकड भएका वडामा अन्तर्घात गरेर थापालाई हराइदिने र राजीव पहरीलाई पोखराको राजनीतिमा हावी गराउने योजना बनाएका छन् ।

पोखराको प्रारम्भिक मतपरिणामले उनीहरुले बनाएको योजना सफल हुने संकेत पनि देखिएको छ । करिव १० हजार ५९० मत गणना हुँदा धनराजले ४२ सय ४० र कृष्ण थापाले ३८ सय ७४ भोट पाएका छन् । उपमेयरमा भने एमालेकै मन्जुदेवी गुरुङ अगाडि छिन् । एमालेको गढ मानिएका ठाउँमै थापा पछि परेपछि एमालेहरुले अन्तर्घात भएको आशंका गर्न थालेका छन् । हाल पोखराको वडा नम्बर १,२,२३,२४ र २५ मा गणना भएको छ । जसमध्ये यसअघि एमालेले जितेका दुई वडा (१ र २ ) कांग्रेसले लिएको छ ।

“चुनाव जितिहाल्यो भने यिनीहरुले जिताएको हैन मैले नै जितेको हो भन्छ । हार्यो भने जसरी पनि दोष लगाउने हामीलाई नै हो । राजीव दाइलाई हो, पिएसलाई हो । माधव बाँस्तोला,मुनबहादुर गुरुङ,भीम कार्कीलाई हो ।”

देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखराको टिकट वितरणलाई लिएर एमालेमा चर्को लफडा भएको थियो । एमालेले दीपक पौडेललाई दिएको टिकट खोसेर थापालाई दिएपछि आन्तरिक द्वन्द्व चर्किएको हो । एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ पक्षका पौडेललाई दिइएको टिकट खोसेर संगठन विभाग प्रमुख खगराज अधिकारी निकट थापालाई दिएपछि त्यहाँ असन्तुष्टी बढेको हो ।

पौडेलले टिकट पाएलगत्तै ‘सुन चोरेको’ पुरानो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर पौडेलको बदनाम गराएको पिएस पक्षको आरोप थियो । यसले चुनावमा अन्तर्घात हुने अनुमान यसअघि नै गरिएको थियो । त्यसैको तुष फेर्न थापालाई हराउने रणनीति बनाएको उक्त अडियोमा पनि सुन्न सकिन्छ ।

यस्तो छ कुराकानी :

फोनकर्ता – मेयरको चुनावको के छ मेलोमेसो  ?

मनोज- वडा जित्नुपर्यो,मेयर त्यस्तै हो ।

फोनकर्ता – धनराज मेरा अङ्कल हुन्, पोलिटिकल्ली उनी बाहिरका हुन् । अहिले कांग्रेससंग मिले, हामीले बोल्न मिलेन । हाम्रो एउटा ग्रुप छ, डीजी सयपत्री युवा क्लव जुन मैले सम्हालेको छु । हामी साइलेन्ट बसेर धनराजलाई सहयोग गर्छौं भन्नुपर्यो । मैले त अंकललाई सहयोग गर्छु,पैसा ले‌ऊ भन्न मिलेन । त्यसको लागि कसरी गर्न सकिन्छ ?

मनोज – म कुरा गरौं कि भन्नेमा छु । उनीसँग मेरो व्यावसायिक रुपमा पनि सम्बन्ध छ ।

फोनकर्ता – तिमी हामी भन्दा दाइ (राजीव पहरी) ले कुरा गर्दिए मान्छन् ।

मनोज – ३३ बाट एमालेको कति भोक काट्न सकिन्छ ?

फोनकर्ता -बढी भन्न सक्दिन डेढ-दुई सय काट्न सकिन्छ । हामी उतातिर मिलियो भने त्यति काट्न सकिन्छ । ७० हाम्रै भोट छ । यताउति गर्दा २१०/२२० गर्न सकिन्छ ।

मनोज – म पैसाको कुरा पनि राख्छु, ल के गर्न सक्छौ भनेर कुरा राख्छु ।

फोनकर्ता – हाम्रो नाम नलिनु नि, नत्र बर्बाद पार्छन् ।

मनोज – कहाँ लिन्छु दाइ । लिन्न । मलाई त कारवाही गरे पनि डर छैन । पृथ्वीसुब्बा, पद्मा अर्यालले कारवाही गर्नुहुन्न । जिल्लाको इञ्चार्जले गर्नुहुन्न । त्यो भएपछि मलाई यिनको गुटको कुनै मतलब छैन । अर्को मान्छे हुन्थ्यो भने हामीले यो कुरा उठाउने पनि थिएनौं, त्यो अपराधी मान्छे (कृष्ण थापा) लाई पार्टीले प्रोत्साहन गर्दियो । क्रिमिनल वे प्रयोग गरेर टिकट लिएको हो उसले ।

फोनकर्ता – को कृष्ण थापा ?

मनोज – अँ कृष्ण थापा । यो मान्छेलाई पनिस गर्ने बेला यहि हो दाइ, त्यहि भएर म त बेस्सरी लागेको छु । वडा नम्बर २४ मा दुई सय बढी भोट काट्दैछु । अनि १९ का ले बाहिर खुलेर हिँडे पनि कुनै हालतमा सहयोग गर्दैनन् । आजसम्म पार्टीमा इमान्दार भएर लागियो पार्टीको सेकेन्ड म्यान भएकाले ईश्वर पोखरेललाई मैले नै लिएर गएको हो पुरनचौर । यसको (कृष्ण थापा) आफ्नै वडाबाट भोट आउँदैन भने अरुबाट कहाँ आउँछ ! एक मत चैं कलमलाई भनेर हामीले आफन्त, साथीभाइलाई भन्नुपर्छ । धनराज सरलाई जुनसुकै हालतमा जिताउने, कृष्ण थापालाई हराउने भनेर बेस्सरी लागेको छु,कसैले रोकेर पनि म रोकिनेवाला छैन ।

फोनकर्ता – सुन तिम्ले यसो गर्दा भोलि राजीव दाइलाई अप्ठेरो नपरोस् ।

मनोज – अप्ठेरो पर्दैन दाइ । किनभन्दा हामी वडाहरुमा कमजोर छैनौँ, वडा जिताउनुपर्यो । वडा जितेपछि मेयर मात्र हार्दा मान्छेले मेयरको क्यान्डिडेट बलियो नभएर हो भन्ने बुझिहाल्छ । यसले नचिड्याएको को छ र ! दलितका २० हजार भोट छन् यी सबै काटिन्छ ।
त्यसैले यसले गलत म्यासेज जाँदैन, पार्टीलाई पनि अप्ठेरो पार्दैन । मात्र एउटा कुरा अवैध गर्भाधानबाट जन्मिएको पार्टी भनेर हिजो आफैँले बोलिएको छ,धनराज सर त्यहि पार्टीको उम्मेदवार हुनुभयो । त्यति कुरामा मात्र हो । माधव नेपालको चुरीफुरी चम्किन्छ भन्ने मात्र हो । तर हामीलाई मतलब छैन । व्यावसायिक मान्छे, यहि भूगोलको मान्छे । ड्यासिङ,डाइनामिक मान्छे भनेर हो । मैले आफैँ कुरा गर्ने भएपछि कुरा मिलाएरै गर्छु । मानौँ कि उनले पैसा दिन मानेनन् भने पनि कृष्ण थापालाई हराउन सहयोग गर्नुपर्यो ।

फोनकर्ता – त्यसले राजीव दाइलाई अप्ठेरो नगरोस् । तिमी हामी त व्यवसाय गरौंला तर उहाँ पोल्टीकल मान्छे हो । राजनीति नै भनेर होमिएको मान्छे हो नि त ।

मनोज – कृष्ण थापाको त यो अन्तिम नै हो ।

फोनकर्ता – त्यो त हो कि तर राजीव दाइको अन्तिम नहोस् !

मनोज – ६४ वर्ष भैसक्यो । कृष्ण थापा सिध्दिएपछि बाटो खुल्ने राजीव दाइकै हो । त्यो खगे चोर (खगराज अधिकारी) र थापा काजी (कृष्ण थापा) दुवैलाई थाहा छ मनोजले असहयोग गर्ने होला भनेर । त्यसैले त्यसलाई अप्ठेरो पर्दैन दाइ । खगराजले त्यो मनोजले असहयोग गर्छ भनेको रहेछ ।

फोनकर्ता -फेरि मनोज बोल्यो भन्दा पनि राजीव बोल्यो भन्ने हुन्छ होला नि त मान्छेलाई

मनोज -मान्छेलाई त्यो पर्न त पर्छ तर त्यस्तो पर्दैन । धनराज सरसँग मेरो व्यावसायिक सम्बन्ध छ त्यो हिसाबले राजीव दाइसंग भन्दा पहिले चिनजान भएको हो । राजीव दाइको बोली भन्ने यिनीहरुको हकमा लाग्दैन, बरु अरुको हकमा लाग्छ दाइ । कहिलेकाही केही बोल्दा राजीवको बोलि रैछ भन्छन् । कृष्ण थापाले चुनाव जितिहाल्यो भने यिनीहरुले जिताएको हैन मैले नै जितेको हो भन्छ । हार्यो भने जसरी पनि दोष लगाउने हामीलाई नै हो । राजीव दाइलाई हो, पिएसलाई हो । माधव बाँस्तोला,मुनबहादुर गुरुङ,भीम कार्कीलाई हो । कुरा त क्लियर नै छ ।

फोनकर्ता -कृष्ण थापाले चुनाव जित्छ कि जित्दैन ?

मनोज – कुनै हालतमा जित्दैन । उसले नचिड्याएको व्यक्ति कोहि छैन । हिजो आफ्नो निर्वाचन क्षेत्र छोड्यो भन्ने छ । क्षेत्र नम्बर २ ख को ६ वटा वडामा, २ को क को पाँच वटा वडामा हिजो हामीलाई ढाँटेको भन्ने परेको छ । सांसद भएपछि काम गरेन भन्ने परेका छन् । ३२ सालदेखि पार्टीमा अर्को कोहि रैनछ भन्ने परेको छ । दलितको भोट सबै काटिन्छ । दिपक सरलाई सिध्याएर क्रिमिनल वेबाट टिकट ल्यायो भन्ने सबैले बुझेका छन्,भोट दिंदैनन् । लेखनाथमा हाम्रो पार्टीबाट उपमेयर छैन । गठबन्धनले उपमेयर त दिएको छ नि त त्यो भएर कृष्ण थापा हार्ने आधारहरु आफैंमा धेरै छ ।

फोनकर्ता – राजीव दाइको कत्तिको साथ् सहयोग छ ?

मनोज – यी कुरा भेटेरै भनौला दाई । आफूसंग जोडिएका कुरा म नडराई भन्छु । अरुसँगको कुरा भेटेर भनौला ।

फोनकर्ता – ल ल भेटेर कुरा गरौला ।

मनोज – भेट्नलाई बोलाइरहेका छन् । यो कुरामा सिरियस्ली लाग्नु है दाइ । यो अपराधीलाई कुनै हालतमा जित्न दिनु हुँदैन ।

फोनकर्ता – ल ! ल !

मनोज – धनराज सर मेयर हुनैको लागि उता जानुभएको हो । उहाँको मेयर बन्ने हबी नै हो,एम थियो । धनराज पोखरा बनाउन भनेर आउनुभएको हो । भोलि गर्नुहोला, नगर्नुहोला । यिनीहरुले त सात अर्ब देखेका छन् । यहाँका स्रोत साधन प्रयोग गरौंला, विदेश घुमौला भन्ने छ । अख्तियारले छापा हान्यो भने सबैभन्दा बढी भ्रष्टाचार रुपामा भएको छ । त्यो खगे (खगराज)ले त्यस्तो गराएको छ । कृष्ण थापालाई मेयर बनाउँला, भोलि मुख्यमन्त्री आफू हौंला अनि सत्तामा भएपछि ११ वटा जिल्लाका मान्छे पछि लागाएर पिएसलाई सिध्याउँला भन्ने उद्धेश्य छ । सबै मान्छेलाई यसैगरी बुझाएर हिंडेको छु । यो दुई दिन सुतिन्न दाइ !


-जन आस्था

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार