जहाज र हेलिकप्टरमा भिआइपीहरु सरर

हिजो पनि हवाइ उडानमा राजधानी भित्रिने र बाहिरिने विशिष्ट व्यक्तिहरुको संख्या उल्लेख्य पाइएको छ । आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ दिल्लीबाट कुशीनगर हुँदै सोझै लुम्बिनी आउने भएपछि सो प्रयोजनको निम्ति अधिकांश विशिष्ट अधिकारीहरु भैरहवा जानुभएको हो ।

हिजो नेपाली सेनाको कासा जहाजमा प्रधानमन्त्री शेरबहादुर देउवा,ऊर्जा,जलस्रोत तथा सिचाईंमन्त्री पम्फा भुसाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दीसहित २८ जनाको टोली दिउँसो साढे ३ बजे भैरहवा गएको हो ।

नेपाली सेनाको हेलिकप्टर एनए ०५८ मा प्रधानसेनापति महारथी प्रभुराम शर्मासहित ११ सदस्यीय टोली साढे २ बजे भैरहवा गएको थियो ।

बुध्द एयरको उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलसहित १४ जना पनि साढे ३ बजेको हाराहारीमा भैरहवा गएका छन् ।

त्यसअघि हिजै बुध्द एअरको उडानमा निर्वाचन आयुक्त सगुन समशेर राणा बिहान सवा ८ बजे सुर्खेत गए । बिहान पौने ९ बजे नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के वीस्च दोहा हुँदै काठमाडौं आएको पाइयो ।

श्री एयरको उडानमा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावल बिहान पौने ११ बजे धनगढीबाट काठमाडौं आए भने जनकपुरबाट बुद्ध एअरको उडानमा पूर्वउप–प्रधानमन्त्री राजेन्द्र महतो बिहान पौने ११ बजे राजधानी पुग्दा बुद्ध एयरकै उडानमा सुर्खेतबाट नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का बिहान ११ बजे काठमाडौं उत्रेको नागरिक उड्डयन प्राधिकरणले बतायो ।

तुम्लिङटारबाट बुद्ध एअरको उडानमा पूर्वमन्त्री दिपक खड्का पौने १२ बजे काठमाडौं आए । बुद्ध एअरकै उडानमा काठमाडौंबाट शिक्षामन्त्री देवेन्द्र पौडेल,भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादव र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस बिहान पौने ११ बजे काठमाडौंबाट पोखरा र भैरहवा गएको देखियो ।

यति एयरको उडानमा जनकपुरबाट दिउँसो साढे २ बजे जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किए । श्री एअरलाइन्सको उडानमा पूर्वगृहमन्त्री कृष्ण सिटौला हिजो साँझ ५ बजे झापा पुगे ।

हिजै नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफ बुद्ध एअरको उडानमा साँझ साढे ६ बजे काठमाडौंबाट भैरहवा पुगेको बताइयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार