कंगनालाई सफल बनाउने पाँच कुरा

बलिउड अभिनेत्री कंगना रनौटको नाम सुन्नासाथ उनीसंगको विवादित कुरा पनि सम्झना आउँछ । त्यसो त बलिउडमा पाइला राखेदेखि अहिलेसम्म कंगना विवादमा घेरिरहेकी छिन् ।

तर यी सबै कुरा भएर पनि उनलाई सधैं भिन्दै बनाउने कुरा भनेको उनको हिम्मत हो । उनी भित्रको हिम्मतले नै कंगना आज यो स्थानमा पुग्न सफल भएकी हुन् । कंगनाले जे ठान्छिन्, त्यो गरेर देखाउँछिन् भन्ने कुरा धेरै पटक देखिएको छ ।

कंगना एउटी कुशल कलाकार हुन् भन्ने कुरा भनिराख्नु पर्दैन । उनको आत्मविश्वास अनौठो छ । वास्तवमा उनले बाल्यकालदेखि नै सोझो बाटो नहिँड्ने निर्णय गरेकी थिइन् । उनले आफ्ना पिताले लाख पटक सम्झाउँदा सम्झाउँदै पनि मोडलिङको दुनियाँमा कदम बढाइन् । सानै उमेरदेखि अभिनेत्री बन्ने भुत चढेको कंगनाले यही कुरालाई लिएर बुबाको हातबाट पिटाई पनि खानु परेको थियो ।

उनले १६ वर्षको कलिलो उमेरमा नै केही गर्ने सोचेर घर छाडेकी थिइन् । उनी घरबाट भारतको राजधानी दिल्ली पुगेर मोडलिङ प्रारम्भ गरिन्, तर मोडलिङमा उनी सन्तुष्ट हुन सकिनन् । त्यसपछि थिएटर ज्वाइन गरिन् र नाटकमा काम गर्न थालिन् । उनी पुरुष पात्रले अस्वीकार गरेका भूमिकामा समेत काम गरिदिन्थिन् ।

जबसम्म तपाईं स्वंयले चाहनु हुन्न, कसैले पनि तपाईंलाई चोट पुर्याउन सक्दैन भन्ने मान्यता कंगनाको छ, जुन सत्य हो ।

किनभने लगातार विवादमा आइरहँदा पनि कंगना डराइनन् ।

एउटा त्यस्तो समय पनि थियो, जुन समयमा उनी बलिउडमा एक्लै परेकी थिइन, तर उनले हिम्मतका साथ गाह्रो समयको सामना गरिन्, जुन प्रशंसनिय छ ।

‘पैसा कमाउने व्यक्ति मात्र सफल हुन्छ ?’ भन्ने जिज्ञासामा कंगना भन्छिन्– ‘पैसा त जसले पनि कमाउँछ, तर सफल व्यक्ति त्यसलाई भनिन्छ, जसले आफुले चाहेको काम पुरा गर्न सक्छ ।’

शायद उनको यही सोचले उनलाई आज सफल अभिनेत्री बनाएको हो ।

कंंगना आफूलाई एक्सप्लोर गर्न कहिल्यै पछि हट्दिनन् । उनी कुनै न कुनै सरप्राइज लिएर आउँछिन् । उनी कुशल नृत्यांगना, लेखक र निर्देशक हुन् । उनले कविता पनि लेखिसकेकी छिन् । लकडाउनको क्रममा उनले अति नै सुन्दर कविता लेखेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार