निर्वाचन आयोगले नै आचारसंहिता मिचेको एमाले नेताको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एकजना उपल्लो तहका ठूला नेताले निर्वाचन आयोगको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएका छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आयोगको तटस्थ भूमिकामा औँलो उठाउदै कानुनी प्रतिवादको चेतावनीसमेत दिएका छन् ।

उनले आज जारी गरेको वक्तव्यमा आचार संहिता पालना गराउनुपर्ने जिम्मेवारीमा रहेको आयोग आफैँ त्यसविपरितका क्रियाकलापमा लागेर निष्पक्षता गुमाएको आशंका गरिएको छ । उनले भनेका छन्, ‘निर्वाचन आयोगबाट खटाइएका केही कर्मचारी र सुरक्षा अंगका व्यक्तिबाट आचार संहिता उल्लङ्घन र निष्पक्षता गुमाएका घटनाहरु प्राप्त हुनासाथ निर्वाचन आयोग र स्थानीय प्रशासनमा उजुरी दर्ता गर्न वा जानकारी गराउन अनुरोध गर्दछु ।’

निर्वाचन आचार संहिता पालना गराउनुपर्नेले नै आचार संहिता उल्लङ्घन गरेमा वा निष्पक्षता गुमाएमा निर्वाचन कसूरमा दण्डनीय हुने उनको भनाइ छ । आफ्ना कार्यकर्तालाई सचेत गराउँदै उनले प्रत्येक घटनाको पार्टी च्यानलमा जानकारी गराउन पनि भनेका छन् ।

त्यहि विज्ञप्तिमा तामाङले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, स्वच्छ, मर्यादित र भयरहीत वातावरणमा सम्पन्न गर्न आफ्नो पार्टीको सहयोगी भूमिका रहने पनि प्रतिवद्धता जनाएका छन् । चुनावमा राज्य सत्ताको दुरुपयोग गरेर परिणाम प्रभावित बनाउने षड्यन्त्र भैरहेको उनको दाबी छ ।

‘सत्तापक्षका कार्यकर्ताबाट आक्रमण गर्ने, निर्वाचन प्रचारमा अवरोध गर्ने र आफै प्रशासनमा उजुरी दिने, निर्वाचनलाई कब्जा गरेर जित्न सकिन्छजस्तो गर्ने तर पीडितको तर्फबाट उजुरी दिँदा केही ठाउँमा उजुरी नलिने जस्ता घटनाहरु शुरु भएका छन्’, उनको आरोप छ, ‘यसलाई तत्काल बन्द गरिनुपर्छ। यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गरिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार