डेपुटी गभर्नरले मेसेञ्जरमा रिस पोखे

नेपाल राष्ट्र बैंकका कनिष्ठ डेपुटी गभर्नर बमबहादुर मिश्रले आफ्नो रिस सामाजिक सञ्जाल फेसबुकको मेसेञ्जरमा पोखेका छन् । आफू प्रतिकूल भनिएको समाचार सेयर गरेको भन्दै उनले एउटा मेसेञ्जर समूहबाट आफूलाई विच्छेद गराएका हुन् ।

वैशाख १४ गते बैंकको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित विशेष समारोहमा उनले वि.सं.२०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना नेपाली कागजी मुद्राको प्रचलन बढाउने उद्देश्यले भएको भनेका थिए । जबकी त्यही कार्यक्रममा त्यतिबेलाका प्रथम गभर्नर हिमालय समशेर राणा स्वयमले मिश्रको उक्त भनाइ सुनिरहेका थिए । समारोहको स्टेजमा अन्य पूर्वगभर्नरहरु पनि थिए । श्रोताको रुपमा पूर्वडेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकहरु पनि ठूलै संख्यामा थिए । अधिकांश पूर्वअधिकृतहरु मिश्र राष्ट्र बैंकको सेवामा छिर्नु अघिका थिए ।

सात दशकअघि मुलुकमा भारतीय मुद्राको बिगबिगी थियो । मुलुकभित्र कायम रहेको भारतीय रुपैयाँको कारोबारलाई विस्थापित गरेर नेपाली मुद्रालाई मुलुकभर प्रचलनमा ल्याउने मुख्य उद्देश्य र चुनौती थियो । त्यो काम कागजी मुद्राको पनि थियो र सिक्काको पनि । त्यसैले बैंकको ऐनमा नेपाली मुद्रा भनिएको छ, कागजी मुद्रा मात्र होइन । मिश्रले त्यतिबेला कागजी मुद्राको लागि स्थापना भएको बैंकले अब डिजिटल करेन्सीको अवधारणा ल्याएको भनेका हुन् ।

वैशाख १५ गते जनआस्थामा प्रकाशित ‘राष्ट्र बैंकका हाकिमहरुको कामभन्दा कुरा ठूला’ शीर्षकको समाचार बैंकका केही अधिकृतहरुले मेसेञ्जर ग्रुपबाट सेयर गरेका थिए । उक्त सेयर मिश्रलगायत २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका तत्कालीन २० जनाको समूहमा भएको हाे। तर, आफूविरुद्धको समाचार सेयर आफ्नै समूहका साथीले गरेको भन्दै मिश्रले रिसाउँदै सोही रातिदेखि ग्रुप छाडेको एक जनाले बताए ।

‘मिश्र सरले आफूलाई समूहबाट सँधैका लागि डिलिट गराउनुभयो । भोलिपल्ट पो थाहा पाइयो, उहाँले त्यो समाचारको कारण ग्रुप छाड्नुभएको रहेछ,’ अर्का एक जनाले भने ।

२०५९ सालमा बैंकको सहायक निर्देशकमा मिश्रसहित २० जनाले नाम निकालेका थिए । बैंक सेवामा रहेका १० जना र बाहिरका १० जना थिए तर महिला एक जनाले पनि नाम निकालेका थिएनन् । त्यसैले उनीहरुले केही वर्ष अघिसम्म नियुक्ती लिएको दिन पारेर सँधै जमघट गर्थे ।

त्यस्तो जमघट लामो समयसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग अघिल्तिरको घरको एक तलामाथि रहेको रेष्टुरेन्टमा हुने गथ्र्यो । केही वर्ष अगाडि त्यस्तै २० भाइको वार्षिकी कार्यक्रम मनाउने क्रममा रात छिप्पिँदै गएपछि एक जना तत्कालीन उपनिर्देशकले दोहोरी गाउन थाले । साेही क्रममा आफ्नै सहकर्मीलाई ‘चरित्रहीन’ को बात लगाउँदै दाेहाेरी गाएपछि त्यस्तो कार्यक्रम भाँडिएकाे बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार