आकाशमा उड्नेलाई लागेन आचारसंहिता

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि आयोजना हुने आमसभा, जुलुसजस्ता कार्यक्रममा हेलिकोप्टर प्रयोगमा कडाइ गर्दै खर्च विवरण पठाउन निर्देशन दिए पनि राजनीतिक दलका नेताहरुको हवाई यात्रा रोकिएको छैन । चुनावी अभियानका क्रममा दैनिकजसो हेलिकप्टरमा पूर्व-पश्चिम हान्निने नेताहरु हिजो पनि त्यसैमा व्यस्त देखिए ।

राजधानीभित्र र बाहिरका कतिपय कार्यक्रममा उपस्थित हुनै पर्ने भएपछि उनीहरुले भ्याएसम्म हवाइजहाज र अपर्झटमा हेलिकप्टर चार्टर गरेका छन् । देशभरका चुनावी सभामा भाषण गर्न भ्याईनभ्याईमा पर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढ्ने नेताहरुको सूचीमा अग्रपंक्तिमा हुनुहुन्छ ।

हिजो मात्रै उहाँ हेलिकप्टर चढेरै रौतहट पुग्नुभएको थियो । त्यहाँ आयोजित पार्टीको चुनावी सभामा भाषण गर्न अध्यक्ष ओलीसहित पाँच जनाको टोली कैलाश हेली लिएर दिउँसो २ बजे काठमाडौँबाट उडेको हो । सोही जहाजबाट ओलीको टोली साँझ ६ बजेतिर काठमाडौँ फर्किएको थियो ।

अस्ति चितवनको भरतपुरमा आयोजित पाँचदलीय गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि हिजो हेलिकप्टरबाटै काठमाडौँ फर्किनुभएको थियो । काठमाडौँको चुनावी सभालाई सम्बोधन गर्न बुद्ध एयरको BHA-356 जहाजबाट दिउँसो ३ बजे काठमाडौँ आइपुग्नुभएका उहाँ त्यसलगत्तै जनकपुर उड्नुभयो । साँझ पौने ८ बजे प्रचण्डसहित ५ जनाको टोली बुद्ध एयरबाट जनकपुरतर्फ लागेको हो ।

हिजो सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मुस्ताङ हेली लिएर ओखलढुंगा जानुभयो । उहाँसहित ५ जनाको टोली बिहान साढे ११ बजे काठमाडौँबाट ओखलढुङ्गा उडेको हो । हिजो नै संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग पनि त्यहि आसपासमा सिम्रिक एअरको जहाज चढेर ताप्लेजुङ्ग जानुभएको थियो ।

बुद्व एयरको जहाज चढेर कांग्रेस उपसभापति धनराज गुरुङ पौने १ बजे पोखरातर्फ प्रस्थान गर्नुभयो । हिजै साैर्य एयरको SAU 813 जहाजबाट पूर्वमन्त्री तथा एमाले नेता छविलाल विश्वकर्मा भैरहवा जानुभयो भने मुस्ताङ हेलिकप्टर लिएर काङ्ग्रेस महामन्त्री गगन थापासहित ३ जनाको टोली दिउँसो सवा १ बजे रौतहट उडेको थियो । नेपालगन्जमा रहनुभएका खेलकुदमन्त्री महेश्वर गहतराज श्री एयर SHA 436 को जहाजबाट पौने ६ बजे काठमाडौँ फर्किनु भएको थियो ।

त्यस्तै, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मन्त्री र सल्लाहकार बनेका उध्योगी-व्यवसायी मोतिलाल दुगड पनि हिजो हेलिकप्टर चढेर विराटनगरतर्फ लाग्नुभएको थियो । उहाँ यति एयरको NYT- 793 जहाजबाट काठमाडौँबाट दिउँसो १५:२४ बजे विराटनगर प्रस्थान गर्नुभएको हो । साँझ सवा ५ बुद्ध एयरकै जहाजबाट काँग्रेस नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापा पनि विराटनगर जानुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार