सत्तारुढ गठबन्धनको चुनावी सभा आज बुटवलमा

काठमाडौं । सत्तारुढ गठबन्धनले आज बुटवलमा चुनावी अमसभा गर्ने भएको छ । चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । बिहान ११ बजे बुटवलको देवीनगर चौपारीमा सभा आयोजना हुने बताइएको छ ।

चुनावी एकतालाई परिणाम दिन र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउन सबै दलका नेताहरूले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको हो ।

पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरूले सम्बोधन गर्नेछन् । शुक्रबार सत्ता गठबन्धनको चुनावी सभा काठमाडौंमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार