रुसी ‘सैन्य क्षमताको प्रतीक’ मानिएको मस्क्भा लडाकू पानीजहाज अमेरिकी सहयोगमा ध्वस्त

काठमाडौं। गत महिना युक्रेनी सेनाको क्षेप्यास्त्र आक्रमणबाट रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज समुद्रमा डुबेको थियो।

मस्क्भा नामक उक्त लडाकू पानीजहाजमा सुरुमा आगलागी भएको थियो। त्यसपछि त्यो समुद्रमा डुबेको थियो।

सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक नै थियो।

आक्रमणको बेला सो जहाजमा ५१० रुसी सेना थिए। सो घटनामा भएको हताहतीबारे भने अहिलेसम्म केही थाहा छैन। यद्यपी सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो।

युक्रेनले आफ्नो नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो।

मस्कोस्थित बीबीसीका सम्वाददाता स्टिभ रोजेनबर्ग भन्छन्,‘मस्क्भा रुसी सैन्य क्षमताको एक प्रतीक जस्तो थियो। त्यो प्रतीक ध्वस्त भएको र डुबेको विषय रुसी सेनाको प्रतिष्ठामा ठूलै धक्का हो।’

१२ हजार टन तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो।

अमेरिकी सहयोगमा ध्वस्त बन्यो रुसी जहाज
अमेरिकी संचारमाध्यमका अनुसार अमेरिकाको सहयोगमा रुसी शक्तिशाली जहाज ध्वस्त भएको हो।

अमेरिकी संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले दिएको जानकारीअनुसार अमेरिकाले रुसी जहाज रहेको स्थानबारे युक्रेनलाई जानकारी दिएपछि युक्रेनले क्षेप्यास्त्र हानेको थियो।

अमेरिकाको खुफिया टिमले युक्रेनलाई जानकारी दिन सहयोग गरेको समाचारहरु आइरहँदा अमेरिकी रक्षा मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

रुसले युक्रेन मामिलामा पश्चिमा राष्ट्रलाई दख्खल नदिन बारम्बार चेतावनी दिँदै आएको छ। विदेशी सेना युक्रेन पुगेको खण्डमा आफूले परमाणु हतियार नै प्रयोग गर्ने मस्कोको भनाइ छ।

अमेरिका लगायत पश्चिमा राष्ट्रले भने रुसलाई आर्थिक प्रतिबन्ध लगाएर र युक्रेनलाई हतियार दिएर किभको समर्थन जनाइरहेको छ। बीबीसी र एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार