आगामी मंगलबार मध्यरातदेखि भारत आउजाउ विमानबाट मात्रै

आसन्न स्थानीय तहको चुनावलाई ध्यानमा राखेर नेपाल भारत सीमानाका बन्द गरिने भएको छ । निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्दै मतदानको ४८ घण्टा अघिदेखि सीमानाका बन्द गर्ने व्यवस्था मिलाउन भनेको हो ।

निर्वाचनलाई स्वच्छ, भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न उक्त कार्य वाञ्छनीय रहेको आयोगको भनाइ छ । वैशाख २७ गते राति १२ बजेदेखि सीमाबाट आवतजावत बन्द गर्न लागिएको हो ।

त्यसैगरी, मतदानका दिन आगामी शुक्रबार आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई आग्रह गरिएको छ । तर, तोकिएको प्रक्रिया पूरा गरेर पास लिएका सवारी साधन चल्न दिइने आयोगले जनाएको हो ।

यसैबीच मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थितिमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा निर्वाचनको दिन ७२ घण्टा अघि सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

आयोगले मदिरा सेवनमा पनि निषेध गरेको छ । वैशाख २७ गते राति १२ बजेदेखि मतदान नसकिँदासम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा २१ मा उल्लेख भएअनुसार मौन अवधि सुरु भएदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ ।

आयोगले मादक पदार्थको बिक्री वितरण र सेवन पूर्ण रूपमा निषेध गर्न र नेपाल भारत सीमानाका बन्द गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार