एकाबिहानै खुमलटारमा को गए, कोटेश्वरमा को ?

स्थानीय तहको चुनाव नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरुको कार्यक्रम व्यस्त हुन थालेको छ । दिउँसो चुनावी कार्यक्रममा व्यस्त हुँदा बिहान बेलुकी निवासमा भेटघाटको बाक्लिएको हो ।

हिजो पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न एकाबिहानै गृहसचिव टेकनारायण पाण्डे खुमलटार पुग्नुभएको थियो । अध्यक्ष दाहाल र सचिव पाण्डेबीच बिहान सवा ७ बजेदेखि झण्डै ८ बजेसम्म भेटवार्ता भएको दाहालको सचिवालयले पुष्टि गरेको छ ।

गृहसचिव निस्केपछि दाहालसँग भेटघाट गर्न जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई खुमलटार पुग्नुभएको हो । उहाँ ८ बजे त्यहाँ पुग्नुभएको बताइन्छ । दुई जना पूर्वप्रधानमन्त्रीबीच बिहान १० बजेसम्म दुई घण्टा लामो कुराकानी भएको थियो ।

यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवासमा पनि हिजो बिहान भेटघाटको निम्ति नेताहरु पुगेका थिए । नेपाल निवास कोटेश्वरमा बिहान ८ बजे एकीकृत समाजवादीका नेता बलरामप्रसाद बाँस्कोटा पुग्नुभएको थियो । उहाँहरुबीच ४५ मिनेट कुराकानी भएको हो ।

त्यसपछि अध्यक्ष नेपालसँग पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटघाट भएको थियो । उहाँहरुबीच साढे ९ बजेदेखि झण्डै ११ बजेसम्म कुराकानी भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार