दोहोरो नागरिकता लिने उम्मेदवार २ जना: एउटालाई पक्राउ आदेश, अर्कालाई छुट

स्थानीय तह निर्वाचनको निम्ति उम्मेदवार बनेका दुई जनालाई दोहोरो नागरिकता लिएको कसुर लागेको छ । तर एक जना उम्मेदवारलाई पक्राउ आदेश हुँदा अर्का उम्मेदवार फुक्कफाल तरिकाले चुनावी प्रचारमा व्यस्त देखिन्छन् ।

दोहोरो नागरिकता लिएका एक जना ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार हुन् भने अर्का रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष हुन् ।

यसबीचमा लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको हो ।

विष्ट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

यसैगरी दुईवटा नागरिकता लिएका वीरबहादुर खत्री (भिउदे) लाई माओवादी केन्द्र रोल्पाले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ । उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएका हुन् ।

खत्रीले फरक फरक नामबाट दुईवटा नागरिकता लिएको भन्दै २०७४ सालमा स्थानीय हरिबहादुर पुनले जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी हालेका थिए । उनै खत्रीलाई पार्टीभित्र चर्को विरोधका बीच माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले पार्टीको प्रदेश उपाध्यक्षसँगै पुनः गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको माओवादी कार्यकर्ताहरु नै बताउँछन् ।

खत्री यसअघि पनि सोही गाउँपालिकाको अध्यक्ष थिए । अहिले उनी चुनाव प्रचारमा व्यस्त देखिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार