विराटनगरका बागी उपमेयरको शक्ति कति ?

‘म पार्टीप्रति उत्तरदायी र अति अनुशासित कार्यकर्ता हुँ । म माओवादी केन्द्र विराटनगर महागरको सचिव पनि हुँ । पार्टीले विराटनगरमा गठबन्धन गरेकोमा मलाई कुनै आपत्ति थिएन । तर, जब उपमेयरमा जसपाले अमरेन्द्र यादवलाई उम्मेदवार बनायो, मलाई चित्त बुझेन र विद्रोह गरेर स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएकी हुँ । मलाई थाहा छ मैले चर्को प्रतिस्पर्धा गर्नुपर्छ तर चुनाव चाँही म जित्छु । किनभने अरु उम्मेदवारको तुलनामा मलाई मतदाताले निर्विकल्प रुचाएका छन् । म महानगरलाई असल नेतृत्व प्रदान गर्न सक्षम छु ।’

माओवादी केन्द्रबाट विद्रोह गरेर विराटनगर महानगरको उपमेयरमा स्वतन्त्र उठेकी नमिता न्यौपानेको भनाइ हो यो । महानगरको चुनावी अवस्था र सम्भावित परिणामबारे जानकारी गराउने क्रममा उनले आफ्नो जित सुनिश्चित रहेको पटक–पटक दोहोर्याइन् । अहिलेसम्मको मतदाता भेटघाटबाट प्राप्त प्रतिक्रिया र प्रचारपसारका क्रममा देखिएको जनलहरले आफ्नो जीत सुनिश्चित भइसकेको उनको विश्वास छ । मतदाताहरुलाई आफनो उम्मेदवारीको औचित्य र एजेण्डा बुझाउन नमिता तामझाम बिना नै घरदैलो गरिरहेकी छिन् ।

विराटनगरमा नमिता जस्तै अर्का बागी उमेश यादवले गठबन्धन गरेका छन् । गठबन्धनबाट उपमेयर पाएको जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई टिकट दिएपछि असन्तुष्ट रहेका उमेशले मेयरमा बागी हालेका थिए । अघिल्लो चुनावमा पनि माओवादी र जसपाका तर्फबाट साझा उम्मेदवार रहेका उनीहरुले यसपटक पनि एउतै चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लड्ने निर्णय गरेका हुन् ।

एमालेले फेसन डिजाइनर उद्यमी शिल्पा कार्कीलाई उपमेयर पदको उम्मेदवार बनाएको छ । एमाले उम्मेदवार कार्की किर्ते राजीनामाको विवादमा परिसेकेकी छिन् । अर्कोतिर समावेशी नेतृत्व नभएको भन्दै अमरेन्द्रलाई काँग्रेसीहरुले मतदिने सम्भावना कम छ भनिन्छ । एमाले विभाजन भएको र पुराना नेतालाई बेवास्ता गरेर नयाँलाई टिकट दिएकोमा त्यहाँ पनि चर्को असन्तुष्टि छ । त्यसैले स्वतन्त्र उम्मेदवार नमितालाई बलियो उमेद्वारका रुपमा लिइएको हो । सुनसरीमा गठबन्धन सफल नभएको र महानगरमा माओवादी केन्द्रको उम्मेद्वार नभएकाले माओवादीको मत नामितालाई जाने अनुमान गठबन्धनभित्रैबाट गरिएको छ ।

माओवादीको आधिकारिक उम्मेदवार नभए पनि व्यक्तिगत प्रभावका हिसाबले नमिता यसैपनि कम्जोर उम्मेदवार हैनन् । उनको राजनीतिक इतिहास कमजोर छैन भने शैक्षिक योग्यतामा अब्बल छिन् । साथै स्थानीयसँग घुलमिल हुँदै लामो समय त्यहाँको राजनीतिमा सक्रिय रहेकाले विराटनगरको दीगो विकास र सामाजिक न्यायका लागि उनको प्रभावकारी भूमिका रहने विश्वास गर्न सकिन्छ । त्यसैले त उनी आफ्नो पक्षमा माहोल बनिरहेको दाबी गर्दै भन्छिन्, ‘जे–जे काम गर्न सकिन्छ त्यहि कुरा गरिरहेको छु । आश्वासन मात्रै बाँडेर चुनाव जित्न सकिँदैन । सपना त्यो हो जो पूरा गर्न सकिन्छ, यसैले मैले पूरा गर्न नसकिने एजेण्डा सुनाएर मतदाताहरुलाई भममा पार्न चाहिनँ ।’

विराटनगरको समग्र विकासका लागि सही एजेण्डा ल्याएको उनको दाबी छ । र उपमेयरमा विजयी भइसकेपछि आफूले अहिले गर्ने वाचाहरु पूरा गरेरै छाड्ने नामिताको अठोट छ । महानगरको न्यायिक समितिलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने, भौतिक पूर्वाधारहरु विकासमा प्रभावकारी अनुगमन गर्ने, बालबालिका र महिला अनि जेष्ठ नागरिकहरुको हितमा काम गर्ने जस्ता कुरा उनको प्राथमिकतामा परेका छन् । उपभोक्त्ता अधिकार र युवाहरुको सशक्तिकरण गर्ने योजना पनि नमिताको छ । त्यस्तै, शहरी गरिबहरुको समस्या समाधान गर्ने, नगरको भौतिक विकासमा हुने ढिलासुस्ती र अनियमिततामा शुन्य सहनशिलताको नीति अपनाएर महानगरलाई पाँच वर्षभित्र सुन्दर शहरका रुपमा चिनाउने उनको धोको पनि छ ।

मोरङको केरावारी गाउँपालिकामा २०३८ सालमा जन्मेकी नमिता सानैदेखि नेतृत्व क्षमता भएकी महिला हुन् । विद्यालयस्तरदेखि नै उनले कक्षामा नेतृत्व गर्ने गर्थिन् । यसबाहेक विद्यालयका अतिरिक्त क्रियाकलापमा उनको बिशेष रुचि रहन्थ्यो । स्काउटमा पनि नमिता अब्बल थिइन् । निम्नवर्गीय परिवारमा जन्मेकी उनले सबैखाले दुःखको सामना गरेकी छिन् । घरमा अनिकाल लागेर भोकै सुतेको तितो अनुभव पनि उनीसँग छ । विद्यालयको शुल्क तिर्न नसकेर पढाइबाट वञ्चित हुनुपर्ने अवस्था पनि उनले भोगेकी छन् । सानैदेखि सबैको कुरा सुन्ने र उचित समयमा आफ्नो राय राख्ने उनको विशेष स्वभाव हो । स्काउट शिक्षक नवल उपाध्याय सम्झन्छन्, ‘मैले नमितामा सानैदेखि असल नेतृत्व क्षमता भएको व्यक्तिका रुपमा पाएको थिएँ र अब महानगरले पनि उनको नेतृत्व पाउने भएछ यो गर्वको कुरा हो ।’

नमिताको राजनीतिक यात्रा भने एमालेबाट शुरु भएको हो । शुरुमा उनी एमाले निकट अनेरास्ववियुमा आवद्ध भएर संगठित भएकी हुन् । पछि केन्द्रीय सदस्य पनि भइन् । तर, माओवादी शान्ति प्रक्रियामा आएपछि नमिताले मार्ग बदलिनन् र अखिल क्रान्तिकारीमा आवद्ध भइन् । केही समय विद्यार्थी आन्दोलनको नेतृत्व गरिन् । सबैखाले मोर्चाका आन्दोलनमा सँधै अगपंक्तिमा रहेर संघर्ष गर्ने नमिताले माओवादी केन्दको विराटनगर महानगर समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् । २०७४ को निर्वाचनमा विराटनगर महानगरको उपमेयर लडेकी उनले दोस्रो धेरै भोट पाएकी थिइन् । विद्यार्थी, महिला र पार्टीको संगठनलाई असल नेतृत्व दिन सफल नमिता पार्टीभित्र पनि उत्तिकै लोकप्रिय छिन् ।

विराटनगर उपमहानगर हुँदा माओवादीको तर्फबाट राजनैतिक संयन्त्रमा भाग लिएकी नमिताले मनोमानी ढंगले बढाएको कर विरोधी आन्दोलनको नेतृत्व पनि गरेकी थिइन् । उपभोक्ता अधिकारका लागि पनि उत्तिकै सचेत उनी महानगरमा सक्रिय सहयोगी अगुवा महिलाका रुपमा परिचित छिन् । ‘सबैका समस्यालाई साझा बनाएर बुझने, प्रष्ट राख्ने र नेतृत्व दिने क्षमता नमिता दिदीमा छ । यसैले अहिलेका उम्मेदवारहरुमध्ये दिदी नै सबैको रोजाइ हो’, विराटनगर–४ की सीता पुरीले भनिन् ।

राजनीतिशास्त्रमा स्नात्तकोत्तरसम्मको अध्ययन गरेकी नमिताले कानुनमा बिएबिएल पास गरेकी छन् । स्थानीय तहमा सामाजिक न्यायको न्यायाधीश उपमेयर नै हुने व्यवस्था भएकोले कानुन पढेकी उनले समस्यालाई बुझेर न्याय दिलाउन सक्ने सक्षम उम्मेदवारका रुपमा आफूलाई प्रतिस्पर्धामा होमेकी छन् । भोट नगन्दासम्म त सबैले जित्ने नै दाबी गर्ने हुन् । तर, अहिलेको माहोल हेर्दा स्वतन्त्र उम्मेदवार भए पनि नमिता कम्जोर प्रतिस्पर्धी हैन है भने चैँ देखिएको छ’, महानगरका अर्का एक स्थानीयले भने ।
-जन आस्था

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार