सशस्त्रको विडम्बना, १८ दिनमा अचम्म

सशस्त्र प्रहरी बल नेपालमा नयाँ वर्षको दिन बैशाख १ गते नियुक्त प्रहरी प्रमुख (आइजीपी) लाई स्थानीय चुनावको मुखैमा ३० बर्षे नियम लगाएर घर पठाउन लागिएको छ । १८ दिने आइजीपी पुष्पराम केसी,एआइजी रामशरण पौडेल र नेपाल प्रहरीका आइजी सैलेश थापासहितको सेवामा भोलि अन्तिम दिन हो ।

भोलि आइतबार मे दिवसको सार्वजनिक बिदा भए पनि सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा बिदाई समारोह राखिएको छ भने नेपाल प्रहरीले यो काम हिजै सम्पन्न गरिसकेको छ ।

गृहको उच्च स्रोतका अनुसार सम्भवतः पर्सिसम्म दुबैथरी प्रहरीमा नयाँ आईजीपीको नियुक्ति हुने छ । भोलि मे दिवस र पर्सि मुस्लिम धर्मावलम्बीहरुको पर्व इदउल फित्र परेकाले बिदा हुने सम्भावना छ ।

यसवीच १८ दिने सशस्त्रका आइजीपीलाई विभिन्न प्रलोभनमा पारेर केहीले आफ्नो काम फत्ते गरेको पनि खबर बाहिरिएको छ । ‘बिचौलिया कमरेड’ भनेर चिनिएका केही वरिष्ठ अधिकृतले नयाँ आइजीपीलाई जोशका साथ काम गर्न लगाएका थिए ।

‘हामी तपाईंको काम गरिहाल्छौं,अर्थ मन्त्रालय हाम्रै कमरेडको भागमा छ,’ भन्दै माओवादीको रुपमा चिनिएका हाकिमहरुले केसीबाट युध्दस्तरमा आफ्नो काम फत्ते गराएका थिए ।

स्रोतका अनुसार उनीहरुले प्रमुख केसीलाई १८ दिनभित्र ३० वर्षे अवकाशको प्रावधानलाई ३२ वर्षे बनाई छाड्ने आश्वासन दिएका थिए । ३२ वर्षे सेवा अवधि हुँदा केसी अर्को दुई वर्ष आईजीपी हुन पाउँथे । त्यसो भनेर उनीहरुले आफ्नो काम पट्याएका हुन् । उनीहरु लामो समयदेखि रोकिएको कामुको जिम्मेवारी स्वीकृत गराएर एसएसपी बने । सँगसँगै कुममा फुलीसमेत भिर्न भ्याए ।

१८ दिन मात्रै आइजीपी बनेका सोझा केसीलाई भुलभुलैयामा पारेर आफ्नो काम पूरा गरेपछि अहिले उनीहरु मरेको मान्छेलाई जुम्राले छाडेझैँ परपर भएको बताइन्छ । बर्दिधारी बिचौलिया कमरेडहरुले ‘आफ्नो काम पहिले गरौं हजुर’ भन्दा ‘पहिले ३० को नियम हटाएर ल्याओ केटा हो,तिमीहरुका बढुवा र सरुवा सबै म गर्छु’ भन्न नसक्नु नै केसीको कमजोरी रहेको बताइन्छ ।
-जन आस्था

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार