माओवादीका सुदूरपश्चिम इञ्चार्ज भट्टलाई कारवाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टलाई कारवाही गरेको छ । पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै माओवादीले भट्टराई कारवाही गरेको हो ।

पार्टीले कारवाही गरेसँगै इञ्चार्ज भट्टको हस्ताक्षर निर्वाचन प्रयोजनका लागि आधिकारिक नहुने भएको छ । कारवाही गर्दै भट्टको हस्ताक्षर अधिकार खोसेको माओवादीले अब प्रदेश समितिका अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर नै आधिकारिक हुने निर्णय गरेको छ । माओवादीले भट्टको हस्ताक्षर नचल्ने निर्णय निर्वाचन अधिकृतको कार्यालयहरूलाई पत्राचार गरिसकेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको टिकट वितरण प्रकृयामा विवाद आएपछि माओवादीले भट्टको हस्ताक्षर अधिकार खोसेको हो ।

शुक्लाफाँटा नगरपालिकाको मेयर पदका लागि नगर समितिले सिफारिस गरेका लोकबहादुर ऐरलाई जिल्ला समितिले पनि सदर गरेर पठाएको थियो । त्यसै गरी प्रदेश समितिले पनि ऐरलाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर भट्ट आफैले हस्ताक्षर गरी नवराज ऐरलाई उम्मेदवार बनाएपछि विवाद बढेको थियो । सोही विषयलाई लिएर माओवादीले इञ्चार्ज भट्टराई कारवाही गरेको हो ।

भट्टको हस्ताक्षर अधिकार खोस्ने निर्णय गर्दा माओवादीले किटान गरेर ‘कारवाही गरिएको’ नभनेता पनि पार्टीको जिम्मेवार नेताको अधिकार खोस्नु कारवाही नै हुने माओवादीका एक नेताले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार