रोल्पामा माओवादी एकातिर, अरु जम्मै अर्कातिर

रोल्पाको थवाङ र सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रलाई हराउन अन्य सबै दलले मोर्चा कसेका छन् । मोर्चाबन्दी कस्दै नेपाली काँग्रेस,नेकपा (एमाले), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् ।

थवाङमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढालाई हराउन स्वतन्त्र उम्मेदवार दरजित रोकालाई काँग्रेस,एमाले, नेकपालगायतका दलहरूले साथ दिएका छन् ।

यस्तै,सुनछहरीमा पनि माओवादी केन्द्रका उम्मेदवार धनबहादुर पुनलाई हराउन काँग्रेस,एमाले र नेकपाले स्वतन्त्र उम्मेदवार पुष्टमन घर्तीलाई अघि सारेका छन् । ती स्थानीय तहका वडा स्तरसम्म पनि गठबन्धनले उम्मेदवारहरु तय गरेको छ ।

जिल्लाको सुनछहरी र थवाङ गाउँपालिकामा अघिल्लो निर्वाचनमा पनि विप्लव नेकपाले स्वतन्त्र उम्मेदवार उठाएको थियो । त्यसबेला थवाङको एउटा वडा मात्र जितिएकोमा यसपटक सबै ठाउँमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहमा फरक दलहरूबीच गठबन्धनको प्रयास हुने क्रममा विप्लवको प्रभाव क्षेत्र मानिएको थवाङ र सुनछहरीमा स्वतन्त्र उम्मेदवारलाई प्रमुख पद दिन अन्य दलहरु तयार भएका हुन् । तर गंगादेव गाउँपालिकामा भने स्वतन्त्र र काँग्रेस,एमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

अघिल्लो निर्वाचनमा १० वटामध्ये सात स्थानीय तहमा जितेको माओवादीलाई हराउन यस पटक काँग्रेस र एमालेले विप्लवलाई समेत साथमा लिएका छन् । माओवादीका उम्मेदवार हराउन यसपटक भएको अन्य सबै दलको गठबन्धन भएपछि आगामी स्थानीय तहको निर्वाचनलाई थप चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार