नेतालाई भोट  किसानलाई बालीनालीको चटारो

घोराही । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । चुनाव प्रसार गर्न उम्मेदवार, नेता तथा कार्यकर्ता गाउँ–गाउँमा पुगेर कार्यक्रम गर्ने दौडधुप बढेको छ । तर गाउँका कृषकहरु भने चुनावभन्दा आफूले उत्पादन गरेको बालीनाली स्याहार्न व्यस्त छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ अखबरेका ४६ वर्षीय शेर बहादुर रोका पेशाले कृषक हुनुहुन्छ । नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनको चटारो परिरहँदा रोका भने आफ्नो हिउँदे तरकारीबाली स्याहार्नमै व्यस्त हुनुहुन्छ । उहाँलाई चुनावको माहोलले छुन सकेको छैन र वास्ता पनि छैन । ‘म खेतीपातीको काममै बढी व्यस्त छु’– उहाँले भन्नुभयो– ‘मलाई चुनावको कुनै पर्वाह छैन, हामी किसानको लागि कसले पो सुनिदिन्छ ?’ नेताहरुलाई आफूतिर भोटर बटुल्न चटारो छ तर कृषकहरुलाई भने हिउँदे बालीनालीको ।

सात वर्षको उमेरमा रोल्पाको उवाबाङबाट आमाबुवासँगै दाङ झर्नुभएका रोका करिव चार वर्ष विदेशी भूमिमा काम गर्नुभयो । मलेसिया गएर कन्स्ट्रक्सनमा काम गर्नुभएका उहाँले मासिक १५ हजार कमाउनुहुन्थ्यो । वैदेशिक रोजगारीबाट भने जस्तो आम्दानी हुन नसकेपछि उहाँ स्वदेश फर्कनुभयो । स्वदेश फर्किसकेपछि रोकाले कृषि पेशा अँगाल्नुभयो र अहिले कृषिमा लागेको १७ वर्ष भइसकेको छ । वैदेशिक रोजगारीले नदिएको सुख आफ्नै देशमा कृषि पेशाले दिएको उहाँले बताउनुभयो । कोभिड महामारीमा धेरै समस्या आए पनि अहिले विस्तारै कृषि व्यापार बढेको उहाँले बताउनुभयो ।

स्वदेश फर्केर आफ्नै खेतबारीमा सामान्य तरकारीबालीबाट कृषि पेशा शुरु गर्नुभएका रोकाले अहिले २३ कट्ठाको खेतबारीमा मौसम अनुसारको खेती गर्दै आउनुभएको छ । अहिले हिउँदको समयमा पनि टमाटर, गोभी, सिमी, बोडी, प्याज, काँक्रालगायतका तरकारी बालीको खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । ‘अहिले आफ्नै १० कट्ठा र लिजमा लिएको १३ कट्ठा जग्गामा तरकारी खेती गर्दै आएको छु’– उहाँले भन्नुभयो– ‘वार्षिक रुपमा पाँच छ लाखको आम्दानी हुन्छ । यसैबाट छोराछोरीलाई पढाउने र घर व्यवहार चलाउने काम भएको छ । यसैमा खुशी छु ।’रोकाको सातजनाको परिवार छ । तरकारी खेती गरेरै परिवारको पालनपोषण गर्दै आउनुभएका उहाँले विदेशको तातो मरुभूमिमा आफ्नो पसिना बगाउनुभन्दा स्वदेशमै आफ्नै परिवारसँग रमाउँदै उद्यम गर्न सकिने बताउनुभयो ।

कृषिमा बिचौलियाको विगविगी

किसानहरुले उत्पादन गर्ने तरकारीजन्य वस्तुहरुमा बिचौलियाहरुको विगविगी बढेको छ । कृषकहरुले उत्पादन गरेका तरकारी ग्राहकसम्म आइपुग्दा भाउ बढेर जाने गरेको रोकाले गुनासो गर्नुभयो । आफूहरुले उत्पादन गरेका तरकारीजन्य वस्तुहरु बजारमा पुग्दा तेब्बर भएर जाने गरे पनि आफूहरुले सोचे जस्तो भाउ पाउन नसकेको उहाँले बताउनुभयो । ‘थोकमा भनेर व्यापारीहरुले सस्तो भाउमा लैजान्छन् तर ग्राहकसम्म पुग्दा दुईतीन गुणा बढी भाउमा बिक्री गर्ने गरेका छन् । हामी उत्पादन गर्ने कृषकहरु भने सधंै मारमा पर्ने गरेका छौं’– उहाँले भन्नुभयो ।

‘बजारमा कहिले सहजरुपमा मल पाउन गाह्रो हुन्छ’– उहाँले भन्नुभयो– ‘तरकारीबालीमा किरा लाग्दा किट्नाशक औषधि पाउन पनि समस्या हुन्छ ।’ उत्पादन गर्ने कृषक र सेवाग्राहीहरुको अन्तरसम्बन्ध बिचौलियाहरुको कारण बिग्रने गरेको पनि उहाँ बताउनुहुन्छ ।

कृषकलाई कुनै अनुदान छैन

नेपाल कृषिप्रधान देश हो भनिए पनि वास्तवमा कृषकहरुको हौसला र आत्मसम्मानका लागि स्थानीय निकायहरुले कुनै सहुलियत सामग्री दिएका छैनन् । न त सरकारले दिने गरेको भनिएको अनुदान पनि उहा“ले पाउनुभएको छैन । स्थानीय निकाय तथा वडातहबाट किसानहरुका लागि भनेर छुट्याएका अनुदान लगायत कृषि सामग्रीहरु वास्तविक किसानहरुले नपाएको उहाँको गुनासो छ । ‘मैले कृषि पेशा गर्न थालेको १७ वर्ष भयो तर आजसम्म वडा तथा अन्य निकायबाट कुनै सहयोग पाएको छैन’– रोकाले भन्नुभयो– ‘सरकारले दिने अनुदान वास्तविक कृषकहरुलाई नदिएर आफ्नालाई मात्र दिन्छन् ।’

अहिले नेपालीहरु रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ । विदेशिने नागरिकहरुलाई उद्यममा आबद्ध गराई स्वदेशमै रोजगारी दिन सके देशलाई आत्मनिर्भर र अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । सरकारले वास्तविक किसानहरु पहिचान गर्दै अनुदान प्रदान गर्ने र कृषिलाई प्राथमिकतामा राखेर उद्यमशीलतामा जोड दिन सके विदेशिने नागरिकहरुको संख्या कम हुने देखिन्छ ।
– नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार