दाङमा ११ मतदानस्थल अति संवेदनशील

देउखुरी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ को दाङमा सुरक्षा तयारी मजबुत पारिएको छ । निर्वाचन सुरक्षाका लागि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको हो । जस अन्तर्गत निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको छ । मनोनयन दर्ताको समयदेखि निर्वाचन सुरक्षा प्रणाली कार्यान्वनयमा आएको हो । मनोनयन दर्ता स्थल, मतदान स्थल, मतदान केन्द्र, मतगणना स्थल लगायतका ठाउँमा गरिने सुरक्षालाई चुस्त पारिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले संवेदनशीलताको आधारमा जिल्लाका एक सय ५३ मतदानस्थलमध्ये ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । एक सय ३१ मतदान स्थललाई संवेदनशील र ११ वटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको हो । भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, सुरक्षा निकायको संस्थागत उपस्थितिलगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो । सोहीअनुसार सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । ‘तीन घेराको सुरक्षा प्रणाली लागु छ । नेपाल प्रहरीले यसपालि एक हजार सात सय सात जना म्यादी र नेपाल प्रहरी गरी तीन हजार बढी सुरक्षाकर्मी खटाएको छ ।’ एउटा मतदानस्थलमा कम्तिमा छ जना म्यादी र कम्तिमा दुईजना प्रहरी गरी आठजना प्रहरी पहिलो घेराभित्र रहनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरीले पहरा दिनेछन् । त्यसभन्दा परबाट नेपाली सेनाले निगरानी राख्नेछ ।

सुरक्षा निकायको तर्फबाट जिल्लाका दश स्थानीय तह अन्तर्गत रहेका मतदान स्थलको स्थलगत अनुमगमन समेत गरिएको थियो । सोही अनुगमनको आधारमा सुरक्षा संवेदनशीलतालाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो । यसपालि पनि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् । वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा दाङमा एक सय ५१ मतदानस्थल र तीन सय ५१ मतदान केन्द्र थिए । यसपालि मतदान स्थल दुईवटा थपिएका छन् भने मतदान केन्द्रको संख्या एक सय १० थपिएको छ । हाल जिल्लामा एक सय ५३ मतदान स्थल र चार सय ६१ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्रको संख्या थपिएसँगै निर्वाचन परिचालनमा सुरक्षाकर्मी थपिएका हुन् ।

अघिल्लो निर्वाचनमा जिल्ला सुरक्षा समितिले एक सय ५१ मतदानस्थललाई सुरक्षा संवेदनशीलताको आधारमा चार वटा मतदानस्थल अति संवेदनशील, एक सय ३६ वटा मतदानस्थल संवेदनशील र ११ वटा मतदानस्थललाई सामान्यरुपमा वर्गीकरण गरेको थियो । अघिल्लो निर्वाचनमा जिल्लामा नेपाली सेना पाच सय ५०, सशस्त्र प्रहरी चार सय ७४ र नेपाल प्रहरी एक हजार ३७ र म्यादी एक हजार तीन सय ४० जना खटिएका थिए ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार