पुटिनले ग्यास आपूर्ति रोकिदिए युरोपले कसरी सामना गर्ला ?

विश्लेषकहरूले भनेजस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मस्कोको ग्यास हतियार’ प्रयोग गर्ने निर्णय गरे भने त्यसको असर सबै युरोपेली संघका सदस्यमा समान हुने छैन । यसको असर केही मुलुकमा अरूमा भन्दा धेरै हुनेछ । रुसी कदमले सिर्जना गर्ने प्रभावका भिन्नताहरू ती ऊर्जा बजार कसरी व्यवस्थित छन् र त्यहाँको कानुन कस्तो छ भन्ने कुराबाट निर्देशित हुन्छ ।

आज युरोपेली संघले प्रयोग गर्ने कुल प्राकृतिक ग्याँसको ३५ प्रतिशत रुसबाट मात्रै आउँछ । रुस विश्वमा प्राकृतिक ग्याँसको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले रुसमाथि कठोर प्रतिबन्धहरु लागु गर्यो । यस परिप्रेक्षमा ग्यास माथिको युरोपेली निर्भरतालाई रुसले प्रयोग गर्ला भन्ने डर बढेको छ ।

युरोपले सन् २०२० मा रुसबाट आयात गरेको १६७.७ अर्ब घनमिटर प्राकृतिक ग्याँसमध्ये जर्मनीले सबैभन्दा बढी ५६.३ अर्ब घन मिटर किनेको थियो । जर्मनीपछि इटालीले १९.७ अर्ब डलर र नेदरल्याण्डले ११.२ अर्ब डलर ग्यास किनेको थियो ।

तर मस्कोबाट बढी ग्यास आयात गरेकै आधारमा कुनै मुलुक सम्भावित रुसी कदमबाट बढी जोखिममा छ भन्ने होइन । रुसी ग्याँसले ती मुलुकको राष्ट्रिय ऊर्जा प्रयोगमा कति हिस्सा ओगट्छ भन्ने कुरा यहाँ निर्णायक हुन्छ ।
उदाहरणका लागि सन् २०२० मा सबैभन्दा बढी रुसी ग्यास किन्ने जर्मनीले प्राकृतिक ग्याँसबाट उसको कुल ऊर्जा खपतको करिब एक तिहाइ आवश्यकता पुरा गरेको थियो । तर यसमा रुसबाट खरिद गरेको ग्याँसमात्र प्रयोग हुँदैन ।
सन् २०२० मा नर्वेले जर्मनीलाई उसले प्रयोग गर्नेमध्ये ३१ प्रतिशत नेदरल्याण्डले थप १३ प्रतिशत ग्यास आपूर्ति गरे । जर्मनीको छिमेकी अस्ट्रियाले प्राकृतिक ग्याँसबाट देशले खपत गर्ने लगभग २० प्रतिशत उर्जा निकाल्छ । यसमा प्रयोग हुने सम्पूर्ण ग्यास रुसबाट मात्रै आउँछ ।

स्लोभाकिया र हंगेरीको पनि उस्तै समस्या छ । ती मुलुकको लगभग एक तिहाइ उर्जा प्राकृतिक ग्याँसबाट आउँछ र तिनले उपभोग गर्ने ग्याँसको उच्च प्रतिशत क्रमशः ७० र ९० प्रतिशत ग्यास रूसबाट आयात हुन्छ ।
त्यसैले अधिकांश मध्य र पूर्वी युरोपेली राष्ट्रहरूको वास्तविक चासो रुसले ग्यास बन्द गरिदियो भने के विकल्प प्रयोग गर्ने भन्नेमा केन्द्रीत छ । अक्सफोर्ड इन्स्टिच्युट फर इनर्जी स्टडीजको सन् २०२२ फेब्रुअरीको समीक्षामा युरोपमा रूसी ग्यास आपूर्ति प्रभावित हुने विभिन्न परिदृश्यहरू प्रस्तुत गरिएका छन् । तिनमा युरोपमा युक्रेन हुँदै युरोपसम्म ग्यास लाने मुख्य पाइप लाइनहरूमा असर परेको अवस्थादेखि ग्याँसको आपूर्ति पूर्ण बन्द हुने अवस्थाको चित्र प्रस्तुत गरिएको छ ।

अक्सफोर्ड इस्न्टिच्युट फर इनर्जी स्टडिजले उसको समीक्षामा ग्यास अवरुद्ध भएको अवस्थामा चाल्न सकिने कदमबारे पनि लेखेको छ । तिनमा अन्य मुलुकबाट लिक्युफाईड नेचुरल ग्यास (एलएनजी) आयात गर्ने वा युरोपका भण्डारणमा राखिएका प्राकृतिक ग्यास प्रयोगमा ल्याउने वा रुसलाई युक्रेनभन्दा अन्यत्रका पाइपलाइनहरू मार्फत् थप ग्यास पठाउन प्रोत्साहित गर्ने सम्मका विकल्पहरु प्रस्तुत गरिएका छन् ।
ऊर्जा संकट समाधान गर्ने युरोपेली योजना

उल्लेखित सुझावमध्ये केही पहिले कार्यान्वयनमा आउन थालिसकेका छन् । फेब्रुअरीमै युरोपले जनवरीमा भन्दा तीन गुणा बढी एलएनजीको आयात गरेको इन्डिपेन्डेन्ट कमोडिटी इन्टेलिजेन्स सर्भिसेस (आईसीआईएस) को तथ्याङ्कले देखाएको थियो ।

आयातित एलएनजी अधिकांश संयुक्त राज्य अमेरिकाबाट आएका थिए, तर कतारले पनि केही एलएनजी युरोपमा पनि पठाउने विचार गरिरहेको छ । युरोपेली ग्याँसका भण्डारणको ग्यास निकाल्न नसकिने होइन । तर त्यसलाई सबैभन्दा खराब समयमा लागि बचाई राख्नुपर्छ । युरोपमा जाडो याममा अत्यन्त चिसो हुने भएकाले त्यस समयका लागि सोच्नुपर्छ ।

ग्यास आपूर्तिमा गम्भीर कमी आएको अवस्थाका लागि युरोपेली संघले एक आपतकालीन योजना बनाएको छ । अरु संकटजस्तै उर्जा अभावको संकट पनि बिस्तारै बढ्दै जाने सोचेर संघको योजनामा तीन चरण छुट्याएको छ । पहिलो दुई चरणमा बजारका समस्या सम्बोधन गर्ने र वैकल्पिक आपूर्तिको व्यवस्था मिलाउने वा भण्डारण गरिएको ग्यास उपयोग गर्न थाल्ने विषय समेटिएको छ ।
अन्तिम चरणको योजना साँच्चै नै आपतकालीन स्थिति आएपछि सक्रिय बनाइनेछ । यस स्थितिमा सरकारले उर्जा आपूर्तिलाई आफैले सञ्चालन गर्नेछ । विशेष घरायसी ग्राहकहरुले पाइरहेको ग्याँसको आपूर्ति युरोपेली र राष्ट्रिय कानुनबाट नियमित गरिन्छ ।

निजी घर वा अस्पतालजस्ता ठाउँमा उर्जा आपूर्ति सहज गर्न निश्चित गैर अत्यावश्यक औद्योगिक व्यवसायले स्वेच्छिक रूपमा ग्याँसको प्रयोग कटौती गर्न सहमति जनाएका छन् । संकट योजना अन्तरगत युरोपेली संघका सदस्यबीच समन्वयलाई जोड दिएको छ । ग्यास धेरै भएका सदस्य मुलुकले ग्यास कम भएका मुलुकलाई सघाउनेछन् ।

सन् २०१४ को क्राइमिया संकटपछि युरोपमा रूसी ग्याँसलाई लिएर चिन्ता गर्न थालिएको थियो । त्यस यता केही प्रगति भएको छ । उदाहरणका लागि ग्यास आपूर्ति गर्ने युरोपेली महाद्वीपीय यातायात सञ्जाल र पश्चिमबाट पूर्वमा ग्यास ल्याउने क्षमतामा सुधार भएको छ ।

आशावादी दृष्टिकोण
अधिकांश विश्लेषक रुसले ग्यास कटौती गर्ने एकदमै कम सम्भावना भएको सोच्छन् । रुसले ग्यास अवरुद्ध गर्यो भने मध्यम र दीर्घकालीन रूपमा रुसकै व्यवसाय र प्रतिष्ठालाई नोक्सान पुग्ने भएकाले उसले त्यस्तो कदम नचाल्ने तिनको जिकिर छ ।

‘हामीले हरेक सम्भावित परिदृश्यको लागि तयारी गर्नुपर्छ तर हामी अनुमानकै आधारमा डराएर बस्दैनौँ । १९७० को दशकदेखि रुस भरपर्दो साझेदार रहदै आएको छ । उसले शीतयुद्धको समयमा समेत कुनै आपूर्ति अवरोध गरेको थिएन,’ जर्मनीको प्रमुख उर्जा कम्पनी युनिपरका प्रवक्ताले भने ।

सबै कुरा विचार गर्दा अहिलेको लागि ऊर्जा आयातसम्बन्धी लडाईंको अग्रपंक्ति वित्तीय रहने देखिन्छ । विशेषत युद्धपछि रुसी ग्याँसको मुल्य बढेको असर देखिन थालिएको छ । अचम्मको कुरा इन्धनमा भएको मूल्यवृद्धिबाट सबैभन्दा बढी प्रभावित स्पेनी उपभोक्ता भइरहेका छन् । स्पेनिस घरेलु नियमनको कारणले ग्याँसको मुल्यमा भएको वृद्धिले थोक बजारकै मूल्यमा असर गरेको छ । यस विपरित फ्रान्समा नियामक माध्यमबाट ग्याँसको मुल्य वृद्धिलाई थोक बजार मूल्यहरूमा पर्नबाट रोकिएको छ ।

दीर्घकालमा उच्च ऊर्जा मूल्य र युरोपेली संघमा देखिएको ऊर्जा असुरक्षाले उत्पादन र अन्य लागत बढाउनेछ, जसले समग्र बजारभाउ नै बढ्नेछ । उपभोक्ताको मानसिकतालाई यसले प्रभावित बनाउने भएकाले अन्ततः यसले मतदाताको राजनीतिक छनोटलाई नै प्रभावित बनाउँछ । युरोपेली संघले यस बारेमा पनि सोचिरहेको हुुनुपर्छ ।

एलेन्सबाक इन्स्टिच्युटले जनवरीमा जर्मनीमा सञ्चालन गरेको मत सर्वेक्षणले ७० प्रतिशत जर्मनहरु सबैभन्दा बढी मुद्रास्फीतिलाई लिएर चिन्तित रहेको देखायो । यो दर युक्रेन–रुस द्वन्द्व वा कोभिड–१९ महामारीप्रति चिन्ता जनाउने मानिसको संख्या भन्दा बढी थियो । यस अर्थमा रुससँग हुने सम्भावित ऊर्जा द्वन्द्वको अग्रमोर्चा युरोपेली उपभोक्ताको घर घर पुग्ने उर्जा महसुल बिल पो हुने देखिन्छ ।

अल–जजिराका लागि क्याथ्रिन स्केयरको विश्लेषण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार