हलिउडकी चर्चित अभिनेत्री जसले आफ्नो वास्तविक परिचय जीवनभर लुकाइन्

बीबीसी । क्लासिक हलिउड चलचित्र ‘वदरिङ हाइट्स’की चर्चित अभिनेत्री मर्ल ओबरोनले जीवनभर आफ्नो पहिचान लुकाएर राखिन् ।

हलिउड चलचित्रमा एकछत्र राज गरेकी उनले आफ्नो अभिनय करियरभरि आफूलाई ‘गोरी’कै परिचय दिइरहिन् । उनले ‘गोरी’ परिचयभित्र आफ्नो वास्तविक एङ्ग्लो–इन्डियन परिचय सधैँ लुकाएरै राखिन् ।

एङ्ग्लो–इन्डियन मूलकी उनी सन् १९११ मा तत्कालीन बंबई (मुम्बई) मा जन्मिएकी हुन् । तर हलिउडमा आफ्नो सुनौलो यात्रामा उनले आफ्नो पृष्ठभूमि संसारसामु खुलाउन चाहिनन् । उनले आफूलाई ‘गोरी’ भनेरै चिनाइरहिन् ।

यसअर्थमा अभिनेत्री मर्ल ओस्करमा नामांकित हुने पहिलो दक्षिण एसियाली मूलकी कलकार हुन्, जुन कुरा अमेरिकास्थित लेखक मयूख सेनले सन् २००९ मा नै भनेका थिए ।

लेखक सेनले यो जानकारी सार्वजनिक गरेसँगै अभिनेत्रीको परिचयबारे खोज्न थाले । “समलैंगिक भएको नाताले म यो भावना बुझ्न सक्छु, तपाईंले विपरीत परिस्थिति र शत्रुताले भरिएको माहोलमा आफ्नो अस्तित्व बचाउनका लागि आफ्नो पहिचानको केही हिस्सा लुकाउनुपर्ने हुन्छ । किनभने मानिसहरूले तपाईंलाई त्यो परिचयबाट स्वीकार गर्दैनन्” मयुख लेख्छन् ।

मयुख अहिले दक्षिण एसियाली परिप्रेक्ष्यबाट संसारमा अभिनेत्री ओबरोनको कथा संसारसामु ल्याउन उनको जीवनीमाथि काम गरिरहेका छन् ।

उनको जन्म एस्टेल मर्ले ओबरोन थम्पसनको रूपमा सन् १९११ मा बम्बईमा भएको थियो । उनकी आमा सिंहली (श्रीलंका) र मावली (मूल रूपमा न्यूजील्याण्डका) थिए जबकि उनका बुबा ब्रिटिस थिए ।

सन् १९१४ मा बुबाको निधनपछि उनको परिवार १९१७ मा कोलकत्ता गए । त्यहाँ सन् १९२० मा उनले कलकत्ता एमेच्योर थिएटेरिकल सोसाइटीबाट अभिनयको कौशल सिक्न सुरु गरिन् ।

पहिलो चलचित्र हेरेर अभिनय गर्ने अठोट

अभिनेत्री मर्लले सन् १९२५ मा जीवनमै पहिलो चलचित्रको रुपमा ‘द डार्क एङ्गल’ हेरेकी हुन् । पहिलो चलचित्र हेरेपछि नै उनले अभिनेत्री बन्ने सपना बुन्न थालिसकेकी थिइन् ।

त्यसपछि एक सैन्य अधिकारीले उनको परिचय एकजना फ्रान्सेली निर्देशक रेक्स इंग्रामसँग गराए । चिनजानपछि रेक्सले उनलाई आफ्ना चलचित्रहरूमा सानोतिनो भूमिका दिए ।

अभिनेत्री मर्लेकी आमा चार्लोट सेल्ब श्यामश्वेत वर्णकी महिला थिइन्, यता अभिनेत्री भने गोरो वर्णकी थिइन् । छोरी अभिनयको लागि फ्रान्स जाँदा उनी मेड (नोकर्नी) बनेर छोरीसँग फ्रान्स गएकी थिइन् ।

अच्चमको कुरा त, सेल्ब उनकी आमा नभएर हजुरआमा थिइन्, यो कुरा सन् २०१४ मा निर्माण भएको डकुमेन्ट्री ‘द ट्रबल विद मर्ले’ बाट प्रष्ट हुन्छ । उक्त डकुमेन्ट्रीका अनुसार सेल्बकी छोरी कन्स्टेन्सले १२ वर्षको कलिलो उमेरमा नै मर्लेलाई जन्म दिएकी थिइन् ।

अभिनेत्री मर्लेलाई पहिलो ठुलो चलचित्रको अवसर एलेक्जेन्डर कोर्डाले दिएका थिए, पछि कोर्डासँगै उनको विवाह भयो । उक्त चलचित्र ‘द प्राइवेट लाईफ अफ हेनरी भीआईआईआई’ हो ।

मर्लेको झुटो पहिचान

डेलोफस्कीका अनुसार अभिनेत्री मर्लेको बारेमा झुटो प्रचार गरिएको थियो । उनलाई एउटा उच्च वर्गकी छोरीको रूपमा देखाएर पछि मात्रै होबार्ट (अस्ट्रेलिया) बाट भारत आएको चित्रण गरिएको थियो । मर्लेलाई पछि अस्ट्रेलियाकै तास्मानिया राज्यले राम्रै स्थान दिएर मिडियामा कभर गरिरह्यो । यसैको फाइदा उठाएर उनले पनि जन्मस्थान तास्मानिया बताउँथिन् ।

मर्लेले कोलकत्तालाई याद नगरे पनि, कोलकत्ताले उनलाई याद गरिरहयो । उनले आफ्नो परिचय खुलाउन नचाहेपनि उनको जन्म कोलकत्तामा नै भएको भन्ने हल्ला बेलाबेला आइरहन्थ्यो ।

अस्ट्रेलियामा बसिरहेकी उनलाई हलिउड चलचित्रहरूमा धेरै ‘अफर’ आउन थालेपछि उनी अमेरिकातर्फ लागिन् । सन् १९३५ मा उनको ‘द डार्क एन्जल’ को भूमिकाका लागि ओस्कर पुरस्कारमा मनोनयनमा परिन् । तर उद्योगमा उनको जादु सन् १९३९ मा प्रदर्शित ‘वदरिङ हाइट्स’ पछि चल्यो । यस चलचित्रमा उनी लोकप्रिय अभिनेता लरेन्स ओलिभियरको ‘अपोजिट’मा मुख्य भूमिकामा थिइन् ।

गोरी देखिने कोसिस

मयुख सेनका अनुसार सन् १९३० सम्म आइपुग्दा मर्ले हलिउडको ठूलो स्टार बनिसकेकी थिइन् । त्यो समयका चर्चित संगीतकार कोले पोर्टर र पटकथा लेखक नोएल कोवार्ड उनका नजिकका व्यक्तिहरूमध्येका थिए ।

सेनका अनुसार कोर्डा र निर्माता स्यामुएल गोल्डविनले उनलाई पाश्चात्य रंगमा ढल्न धेरै सहयोग गरे । यसका लागि कोर्डाले अभिनेत्रीको उच्चारणदेखि हरेक कुरामा ध्यान दिए ताकी उनको बोलीमा दक्षिण एसिया मूल भएको कुनै छनक नै नहोस् ।
उनलाई पश्चिमी मूलकी हो भनेर प्रमाणित गर्न उनको गोरो वर्णले पनि थप मद्दत पुगेको थियो ।

तर फिल्म पत्रकारहरू उनको वर्णलाई लिएर बेलाबेला घुमाउरो शैलीमा प्रश्न भने उठाइरहन्छन् । केही मिडियाले त यतिसम्म भने की गोरी देखिनका लागि उनले अनुहारमा ब्लीचींग गर्ने गरेका कारण उनको अनुहारको छाला एकदमै बिग्रिन थालेको थियो ।

सन् १९३७ मा कार दुर्घटनामा मर्लेको अनुहार जलेको थियो । यसपछि, सिनेमेटोग्राफर लुसियान बर्नार्डले त्यस्तो टेक्निकको विकास गरे जसबाट मर्लेको अनुहारको दाग मज्जाले छोपिन्थ्यो । अभिनेत्री मर्लेले पति कोर्डासँग सम्बन्ध बिच्छेद गरेर १९४५ मा बर्नाडसँग विवाह गरिन् ।

कोर्डा पत्नी तथा अभिनेत्री मर्लेको मूलबारे जानकार थिए, र त्यसलाई लुकाउने मर्लेको प्रयासमा सधैँ साथ दिइरहन्थे । त्यसैले आफ्नो भतिज माइकल कोर्डाले निकालेको पारिवारिक किताब ‘चाम्र्ड लाइब्स’ मा पत्नी मर्लेको वास्तविक जन्मस्थान खुलाएर लेखिएको पृष्ठ हटाउन लगाएका थिए ।

परिचय लुकाउन हम्मेहम्मे

अभिनेत्री मर्लेले आफ्नो उमेरको उत्तारर्धसम्म पनि आफ्नो वास्तविक परिचय अनि विगतलाई ढाकछोप गर्न लागिरहिन् ।
तर उनलाई त्यो रहस्य गोप्य राख्न गाह्रो हुँदै गएको थियो । पत्रकारहरूले उनको वास्तविक परिचयमाथि प्रश्न गर्ने डरले सन् १९६५ मा अस्ट्रेलियाको भ्रमणलाई छोट्याइन र अरू थुप्रै सार्वजनिक कार्यक्रमहरू रद्द गरिन् ।

स्ट्रोकका कारण उनको सन् १९७९ मा निधन भयो । तर उनले जीवनकालमा सार्वजनिक रूपमा कहिले पनि सत्यलाई स्वीकार गरिनन् । यद्यपि संसारको सामु उनको वास्तविक परिचयको पर्दाफास सन् १९८३ मा उनको जीवनी प्रकाशित हुँदै भएको थियो ।
‘प्रिन्सेस मर्लेः द रोमान्टिक लाइफ अफ मर्ले ओबरोन’ मा उनको बम्बईबाट झिकिएको जन्मदर्ता प्रमाणपत्र, धार्मिक दीक्षा सम्बन्धी प्रमाणपत्र, भारतीय आफन्तहरूलाई लेखिएको पत्र र तस्बिर पनि समावेश गरिएको छ ।

लेखक सेनले अभिनेत्री मर्लेको वास्तविकता बाहिर ल्याएर उनको आलोचना गर्नुभन्दा पनि उनीप्रति सम्मान र सहानुभूतिको भाव बढाउन र वर्णका कारण एक नागरिकले गर्नु परेको संघर्षलाई चित्रण गर्ने कोसिस गर्न खोजेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार