छोरीका लागि मेकअप आर्टिष्ट बने आमिर खान

बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खान आफ्ना जिन्दगीका अधिकांश कुराहरु सामाजिक सञ्जालमार्फत शेयर गरिरहन्छन् ।

भखर्रै उनले आफ्ना पितासंगको सुन्दर तस्बिर शेयर गरेकी छिन्, जसमा बुबा– छोरीको प्रेम र सुन्दर सम्बन्ध देखेर जो कोहि पनि भावुक बन्न सक्छ ।

आयराले शेयर गरेको तस्बिरमा उनले आफ्नो मेकअप फ्लन्ट गर्दै गरेको देखिन्छ, जून मेकअप उनका बुबा आमिरले गरिदिएका हुन् ।

आयराले तस्बिरसंगै एउटा क्याप्सन पनि लेखेकी छिन्– ‘के तपाईँहरु अनुमान लगाउन सक्नु हुन्छ, मेरो मेकअप कसले गरिदिएको हो ? तपाईको बुबा तपाईँकहाँ आएर म तिम्रो मेकअप तिमी भन्दा राम्रोसंग गर्न सक्छु भन्नु र आफुले बोलेको प्रमाणित गरेर देखाउनु सबैभन्दा रोमाञ्चक कुरा हो ।’

बुबा आमिरले गरेको मेकअपमा आयरा वास्तवमै प्यारी देखिएकी छिन् । उनले शेयर गरेको फोटोमा कमेन्टको ओइरो लागेको छ । त्यसैले त आमिर खानलाई मिस्टर परफेक्शनिस्ट भनिन्छ भनेर धेरैले कमेन्ट गरेका छन् ।

कोरोनाकालमा आफुले आफ्ना सन्तानलाई धेरै माया दिन नसकेको कुराको महसुस भएको र अब समय मिल्नासाथ आफ्ना सन्तानसंग समय बिताउने कुनै पनि मौका नछाड्ने कुरा आमिरले एउटा अन्तर्वार्तामा बताएका छन् ।

आमिरले सन् १९८६ मा रीना दत्तासंग विवाह गरेका थिए । उनीे र रीनाका दुई सन्तान आयरा र जनेद छन् । त्यस्तै, आमिरको रीनासंग २००२ मा सम्बन्ध विच्छेद भएपछि सन् २००५ मा आमिरले किरण रावसंग विवाह गरे । उनीहरुको एउटा छोरा आजाद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार