साउन्डमा आँखा चिम्लिने नेपाली फिल्ममेकर, कसरी हुन्छन् त चलचित्र राम्रा ?

काठमाडौं । नेपाली चलचित्रमा साउन्ड निकै कमजोर मानिन्छ । चलचित्रका विभिन्न विधामध्ये साउन्ड एक प्रमुख विधा हो । तर, यही नै कमजोर हुने गरेको छ । साउन्डका विभिन्न पक्षमध्ये डाइलग मुख्य विधा हो । डाइलग डबिङ र सिङ साउन्ड रेकर्डिङबाट प्राप्त हुन्छ । यही नै कमजोर हुँदा समग्रमा चलचित्र नै कमजोर हुने गरेको साउन्ड डिजाइनरहरूको जिरह छ ।

नेपालमा अधिकांश चलचित्रमा डबिङ साउन्ड प्रयोग हुन्छ । नेपालमा करिब ९० प्रतिशत चलचित्रले डबिङ साउन्ड प्रयोग गर्छन् । डबिङ साउन्ड चलचित्र छायांकन सकेर त्यसको सम्पादन गरेपछि कलाकारलाई स्टुडियोमा बोलाएर रेकर्ड गरिन्छ । छायांकनमा क्यामेरामा साउन्ड रेकर्ड भए पनि त्यो विभिन्न अवरोधका कारण चलचित्रमा प्रयोग योग्य हुँदैन । सोही आवाज सुनेर कलाकारले स्टुडियोमा रेकर्ड गर्छन् ।

तर, विश्वका ठूला सिनेमा उद्योगमा ९५ प्रतिशत चलचित्रमा सिङ साउन्ड हुन्छ । बाँकी पाँच प्रतिशत पनि एनिमेसन सिनेमा हुन् । जसमा पहिला नै साउन्ड रेकर्ड गर्नैपर्ने बाध्यता हुन्छ । पछिल्लो समय बलिउडका अधिकांश सिनेमामा पनि सिङ साउन्ड नै प्रयोग हुने गरेको साउन्ड डिजाइनर किशोर आचार्य बताउँछन् । नेपालमा पनि सिङ साउन्डको प्रयोग नै नभएको होइन । तर, निकै न्यून छ ।

किन सिङ साउन्ड ?
सिनेमा मेकरहरूमा सिङ साउन्डबारे कमजोर बुझाइ रहेको साउन्ड डिजाइनर उत्तम न्यौपाने बताउँछन् । सिङ साउन्ड गर्न सकिँदैन र गर्दा बजेटले धान्न सकिँदैन भन्ने गलत बुझाइ रहेको उनको भनाइ छ । क्वालिटीमा सम्झौता नगर्ने हो भने सिङ साउन्डमा जानुको विकल्प नरहेको उनी बताउँछन् ।

“नेपालमा डबिङ सस्तो हुन्छ । डबिङको चारदेखि पाँच गुणा बढी सिङ साउन्ड महँगो हुन्छ । हलिउडमा भने ठिक उल्टो छ । त्यहाँका स्टारसँग टाइम हुँदैन । त्यसैले डबिङको छुट्टै एग्रिमेन्ट हुन्छ । क्यारेक्टरको पर्याप्त तयारी गरेर दिनको एकदेखि दुईवटाभन्दा धेरै सिनको डबिङ गर्दैनन् । त्यसैले डेढदेखि दुई महिनाभन्दा धेरै समय लाग्दा त्यहीअनुसार खर्च हुन्छ । स्टुडियो चार्ज महँगो हुन्छ । स्टारहरूका सेक्युरिटी, ट्रासपोटेसन, खाना, बसाइ सबैको खर्च बेहोर्नुपर्छ,” किशोर भन्छन्, “त्यसैले त्यहाँ डबिङका लागि पनि झन्डै सुरुकै जति अर्को एग्रिमेन्ट गर्छन् । तर, हाम्रोमा डबिङलाई सामान्य रूपमा लिइन्छ । मुख्य भूमिकामा रहेका कलाकारले दुईदेखि तीन दिनमा डबिङ सकाउँछन् ।”

सेटमा आएको फिल कलाकारले स्टुडियोमा जति मिहिनेत गर्दा पनि दिन नसक्ने अवस्था भएकाले पनि ठूला चलचित्र उद्योग सिङ साउन्डमा आकर्षित भएको किशोर बताउँछन् ।

सिङ साउन्ड गर्न केही कठिन हुन्छ । प्रि–प्रोडक्सनमा पर्याप्त तयारी नगरेको अवस्थामा भने कठिन हुने उनी बताउँछन् । तर, सिङ साउन्ड गर्नै नसकिने भन्ने गलत प्रचार नेपाली चलचित्र क्षेत्रमा रहेको उनी सुनाउँछन् ।

सिङ साउन्डमा आउने क्वालिटी डबिङमा नआउने अभिनेता दयाहाङ राई स्वीकार गर्छन् । लोकेसनमा शरीरले बोकेको थकानजस्ता साउन्ड महिनौँपछि गरिएको रेकर्डिङमा आउने सम्भावना निकै कम हुने उनी बताउँछन् । उकालोमा भारी बोकेर थकित भएको अवस्थामा आउने साउन्ड महिनौँपछि काठमाडौंको सुविधासम्पन्न स्टुडियोमा कार चढेर आउने कलाकारबाट नआउने उनको भनाइ छ ।

त्यसमा पनि सपोर्टिङ एक्टरबिना कलाकारले एक्लै डबिङ गर्दा नेचुरल साउन्डको ५० प्रतिशत पनि नआउने साउन्ड डिजाइनर किशोरको दाबी छ ।

एउटा चलचित्र सकेर अर्कै चलचित्रको क्यारेक्टरमा प्रवेश गरिसकेपछि पुरानो क्यारेक्टरको डबिङलाई न्याय गर्नु निकै कठिन काम भएको दयाहाङ बताउँछन् । “लोकेसनमा इमोसनसँग खेलेर जुन साउन्ड आइरहेको हुन्छ, त्यो डबिङ गर्दा आउँदैन । केही न केही आर्टिफिसयल हुन्छ नै,” उनी भन्छन्, “लोकेसनमा लिएको सास, आँखै अगाडि देखिएका दृश्यका कारण आउने इमोसन स्टुडियोमा नआउँदा लोकेसन साउन्ड पक्कै पनि आउँदैन ।”

यो नेपाली चलचित्रको कमजोर पक्ष हो । हल्का तरिकाले सिनेमा बनाउने संस्कार बस्दा पनि यसबाट फड्को मार्न समय लागेको उनी बताउँछन् ।

छायांकन सकेको हप्तौँपछि डबिङ गर्दा कलाकारले पर्फम गर्न नसक्ने साउन्ड डिजाइनर उत्तम बताउँछन् । “छायांकनमा कलाकारबाट जति पफर्मेन्स आउँछ त्यसलाई अचिभ गर्ने हो भने सिङ साउन्डमा जानैपर्छ,” उनी भन्छन्, “जसले बुझेको छ उसले सिङ साउन्डमा काम गर्न थालिसकेको छ । मेरो फिल्मलाई सिङ साउन्ड नै चाहिन्छ भन्ने जानकारी मेकरमा हुनैपर्छ ।”

सिङ साउन्डमा जाने भनेपछि त्यसका चुनौतीबारे पहिला नै पर्याप्त होमवर्क गरेको अवस्थामा ठूलो समस्या झेल्नु नपर्ने उनी बताउँछन् । “कतिपय अवस्थामा सिङ साउन्डमा क्रिएटिभ डिसिजन हुन्छ । प्रोडक्सन अडियो नै मलाई चाहियो भनेर मेकरले भन्ने हो भने सिङ साउन्डमा जाने परम्परा बढ्छ,” उत्तम भन्छन्, “कम्प्रमाइज नगर्ने मेकर हुने हो भने हरेक चलचित्रमा सिङ साउन्ड नै युज गर्ने वातावरण बन्छ । हुन त सिङ साउन्ड भएका नेपाली फिल्म धेरै नदेखेर पनि होला । अब सिङ साउन्ड गरेका धेरै फिल्म आउँदै छन् । त्यसपछि पनि धेरैले यसको प्रभाव बुझ्नुहुन्छ होला ।”

चुनौती
नेपालमा न्यून बजेट र सानो प्रोडक्सन डिजाइनमा चलचित्र बनाउनुपर्दा पनि सिङ साउन्डमा कमै मात्र चलचित्र बन्ने गरेको दयाहाङको भनाइ छ । काठमाडौंमा छायांकन हुने चलचित्रमा सिङ साउन्ड गर्न कठिन हुने उनको अनुभव छ ।

“सानो प्रोडक्सन डिजाइनमा बसेर काम गर्नुपर्दा चाहेर पनि धेरै काम गर्न सकिँदैन । काठमाडौंमा सिनेमा खिच्नुपर्‍यो भने हामी यहाँ छायांकनस्थल ब्लक गर्न सक्दैनौँ,” उनी भन्छन्, “छायांकनस्थल ब्लक नगरी सुटिङ गर्दा कसै न कसैले कलाकारहरूलाई चिनेकै हुन्छ । उसले बोलाइदियो भने त्यो लोकेसन साउन्ड काम लाग्दैन ।”

पूरै सहर नै ब्लक गरेर छायांकन गर्न सक्ने अवस्था सिर्जना नभएसम्म सिङ साउन्डमा काम गर्न चुनौती हुने उनको बुझाइ छ । यद्यपि, यसलाई मेकरले बुझेर प्रि–प्रोडक्सनमै पर्याप्त तयारी गरेर रेखी लगाउन सके केही हदसम्म काम हुने उनी बताउँछन् । ठूला सहरमा सम्भव नभए पनि गाउँघरमा भिड कम हुने भएकाले सिङ साउन्ड राखेर काम गर्न सकिने उनले सुनाए । नेपालमा सिङ साउन्ड डिजाइनमा मेकरले काम कम गरिरहेको दयाहाङको अनुभव छ ।

एम्बियन्स साउन्डमा पनि नेपाली चलचित्र चुकिरहेको किशोरको भनाइ छ । (एम्बियन्स साउन्ड भनेको समय बुझाउने साउन्ड हो । जस्तै : बिहान झिसमिसेको समय कुखुरा बासेको आवाजले बुझाउन सकिन्छ ।)

फोली साउन्डमा पनि त्यति धेरै ध्यान दिइएको देखिँदैन । “एक्टरलाई रिस उठेको छ भने उसले चिया खाएको कप टेबलमा राख्दा बेस्सरी राख्न सक्छ, त्यसरी निस्किएको साउन्डलाई फोली साउन्ड भनिन्छ,” साउन्ड डिजाइनर किशोर भन्छन्, “नेपालमा फोली साउन्ड स्टुडियो पनि निकै कम छन् । त्यसलाई पनि कति प्रयोग गरिएको छ भन्ने हो । यसमा काम हुँदै नभएको त होइन, तर जति गम्भीर हुुनुपर्ने त्यति भएको पाइँदैन ।”

ब्याकग्राउन्ड म्युजिक पनि सिनेमाको साउन्डभित्रै पर्छ । यद्यपि, साउन्ड डिजाइनरको कामभित्र यो पर्दैन । म्युजिक बुझेको ब्याकग्राउन्ड स्कोररले कम्पोज गरेर पठाउँछन् । यसलाई मिक्सिङ साउन्ड डिजाइनरले गर्छन् । यसपछि चलचित्रमा फाइनल मिक्सिङ हुन्छ । साउन्डमा नेपाली चलचित्रले ठूलो लगानी पनि गर्दैन । मुस्किलले दुईदेखि तीन प्रतिशत पनि लगानी नहुने गरेको स्वयं चलचित्रकर्मीहरू नै बताउँछन् ।

‘कागबेनी’, ‘ऐना झ्यालको पुलती’, ‘महानगर’, ‘रुदाने’, ‘लालपुर्जा’, ‘दोख’, ‘पानीफोटो’ ‘प्रकाश’, ‘गाउँ आएको बाटो’, ‘गुडवाई काठमाडौं’ लगायत चलचित्र सिङ साउन्ड प्रयोग गरिएका चलचित्र हुन् । यीमध्ये ‘कागबेनी’ र ‘लालपुर्जा’बाहेक सबै फिल्म प्रदर्शन हुन बाँकी छ । अक्सर फेस्टिभललक्षित चलचित्रहरूले सिङ साउन्डमा काम गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार