कुन प्रदेशमा कति म्यादी ?

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भैसकेको छ भने निर्वाचन आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ । एकै चरणमा हुने निर्वाचनका निम्ति सबैभन्दा जटिल ठानिएको सुरक्षाको प्रवन्ध पनि राम्रो सँग मिलाइएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले कुन प्रदेशमा कति म्यादी प्रहरी खटाउने भनेर पनि निश्चित गरिसकेको छ । योचोटिको स्थानीय चुनावमा ९९ हजार २१३ म्यादी प्रहरी खटाइदैछ ।

१४ जिल्ला रहेको प्रदेश नं १ मा १६ हजार ६५० म्यादी प्रहरी खटाइने भएको छ । तीमध्ये १२ हजार १५० पुरुष र चार हजार पाँच सय महिला रहेका छन् । त्यसैगरी, मधेश प्रदेशमा २१ हजार म्यादी खटाउने तयारी छ । १६ हजार ६३४ पुरुष र चार हजार ३६६ महिला तालिममा उत्तीर्ण भएका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीले बताए । मधेश प्रदेशमा आठवटा जिल्ला छन् ।

बागमती प्रदेशका १३ जिल्लामा तीन हजार ३३८ महिला र आठ हजार ८३१ पुरुषसहित १२ हजार १६९ म्यादी प्रहरी खटाइदै छ । उपत्यकाका तीन जिल्लामा चार हजार ८१४ म्यादी प्रहरी परिचालित हुनेछन् । काठ्माडौंमा दुई हजार ८१४, ललितपुरमा एक हजार १२५ र भक्तपुरमा ७७२ म्यादी खटाउने निश्चित भएको तीन जिल्लाका महानगरीय प्रहरी परिसरले जनाएका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९३३ म्यादी प्रहरी परिचालन हुँदै छन् । तीमध्ये आठ हजार ६९० पुरुष र दुई हजार ३२३ महिला रहेका प्रदेश प्रहरी कार्यालयको भनाइ छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा १५ हजार ८२८ म्यादी परिचालन गर्न लागेको प्रदेश प्रहरी प्रवक्ता केदार रजौरेले बताए । प्रदेशभर ११ हजार ५४५ पुरुष र चार हजार दुईसय ८३ महिला निर्वाचन सुरक्षाका निमित्त खटिने छन् ।

पाँच हजार ९३४ पुरुष र एक हजार ८१९ महिलासहित कर्णाली प्रदेशभर सात हजार ७५३ म्यादी खटाउने निश्चित भएको छ । प्रदेशमा १० वटा छन् । त्यसैगरी ९ वटा जिल्ला भएको सूदुरपश्चिम प्रदेशमा १० हजार १६९ म्यादी खटाउने निर्णय भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । तीमध्ये दुई हजार २३५ महिला र सात हजार ९३४ महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार