ललितपुरका कमरेडहरु विप्लवतिर खुले

चुनावमा पार्टीको सहभागितालाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुको अन्तरकहलले नेता-कार्यकर्ताहरुमा कित्ताकाट शुरु भएको छ । चुनाव उपयोगको पक्षमा उभिएको संस्थापन (विप्लव-प्रकाण्ड) पक्ष र असन्तुष्ट (वली-बाँस्तोला) खेमाबीच विवाद बढिरहेका बेला कार्यकर्तामा कित्ताबन्दी हुन थालेको हो ।

हिजो विप्लवले असन्तुष्ट समूहका नेताहरु वली र बाँस्तोलामाथि कारवाहीको डण्डा बर्साएपछि विप्लव पार्टी विभाजनको डिलमा पुगेको छ । त्यसको प्रभाव तल्ला कमिटी र जनवर्गीय संगठनहरुमा देखा पर्न थालिसकेको छ । यसैबीच सो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ललितपुर जिल्ला समितिले आफूलाई संस्थापन पक्षको समर्थनमा उभ्याएको छ ।

जिल्ला इञ्चार्ज निगम भण्डारी र संयोजक मानबहादुर तिरुवाले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु मूल नेतृत्वप्रति प्रतिवद्ध र विश्वस्त रहेको बताएका छन् । पछिल्लो समय पार्टीमा आर्थिक, सांगठानिक अराजकता, फुटपरस्त गतिविधि र पार्टी नीति एवं नेतृत्वका विरुद्ध षड्यन्त्र भैरहेको भन्दै उनीहरुले विप्लवको बचाउ गरेका हुन् ।

नाम उल्लेख नगरी विज्ञप्तिमा वली र बाँस्तोलाले दुश्मनसंगको मिलेमतोमा पार्टीविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको छ । त्यसविरुद्ध पार्टीले गरेको सांगठानिक निर्णयको समर्थन गरेको भन्दै उनीहरुमाथिको कारवाहीलाई समर्थन गरिएको छ ।

‘हामी कुनै पनि बहाना र आवरणमा हुने सांगठानिक, आर्थिक अराजकता,अवसरवादी चरित्र र फुटवादको विरुद्धमा छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ पार्टीको यो सांगठानिक निर्णयबाट हाम्रो संगठन ललितपुर जिल्लाका कोही पनि नेता र कार्यकर्ताहरु पार्टी र नेतृत्वका विरुद्ध गोयवल्स शैलीमा छरिएका भ्रम,अफवाह र हल्लाका पछि नपर्न साथै एकीकृत जनक्रान्ति र यसको नेतृत्वप्रति दृढ र प्रतिवद्ध रहन अनुरोध गर्दछौँ ।’

चुनावमा जाने विप्लवको निर्णयका विरुद्ध यसअघि कास्की जिल्ला समितिमा पनि लफडा मच्चिएको थियो । विप्लव पक्षले वली-बाँस्तोला खेमाका समर्थक जिल्ला नेतालाई कारवाही गरेपछि असन्तुष्ट खेमाले उल्टै जिल्ला इञ्चार्ज उमा भुजेलमाथि दर्जनौँ आरोप लगाउँदै पार्टीबाट निकालेको घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार