विदेशबाट आउँदा डाइभर्ट भएर भैरहवा ओर्लने जहाजका यात्रुलाई कसले जाँच्ने ?

मुलुकका राजनीतिज्ञ र उच्च सरकारी अधिकारीहरुमा विशेषज्ञताको अभाव हरेक क्षेत्रमा देखिन थालेको छ । यो प्रवृत्ति पछिल्ला वर्षमा ह्वात्तै बढेको छ । अहिले उक्त प्रवृत्तिको गतिलो उदाहरण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको हो ।

आजसम्म मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मात्र थियो । अब सिद्धार्थनगरमा र छिट्टै पोखरामा ती विमानस्थल सञ्चालनमा आउन लागेका हुन् । दुवै विमानस्थलको निर्माण चीन सरकारको आर्थिक सहयोगमा भएको हो ।

गौतम बुद्ध विमानस्थलको औपचारिक उद्घाटन यो वर्षको पहिलो दिन वैशाख १ गते गर्ने कार्यक्रम थियो । तर,विविध कारणले उक्त कार्यक्रम जेठ २ गते सारिएको छ । त्यो दिन बुद्ध जयन्ती पर्छ ।

विमानस्थलको रनवेको शुभारम्भ गत बिहीबारदेखि गरिएको छ । आन्तरिक उडानमा रहेका साना हवाइजहाज उक्त रनवेमा अवतरण र उडान गरेर रनवे सञ्चालनमा ल्याइएको हो । भोलि दिउँसो उक्त रनवेमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अवतरण र उडान गर्ने कार्यक्रम छ । त्यसपछि ठूला जहाजहरु अवतरण गर्न सकिने बताइएको छ ।

जेठ २ गतेदेखि औपचारिक रुपमा अन्तर्राष्ट्रिय उडानको निम्ति कुवेतको जजिरा एअरलाइन्सले चासो देखाएको र सम्भवतः उक्त विमान कम्पनीले पहिलो उडान गर्ने भनिएको छ ।

भोलि नेपाल वायुसेवा निगमको ठूलो विमानको उडान सफल भएपछि भोलि रातिदेखि नै काठमाडौंमा अवतरण हुन नसकेका र आपतकालीन अवस्थाका ठूला विमानलाई अवतरणको निम्ति उक्त विमानस्थल वैकल्पिक हुनेछ ।

तर,आजका दिनसम्म विमानस्थलमा अत्यावश्यक अध्यागमन कार्यालयको स्थापना गरिएको छैन । अध्यागमनको निम्ति आवश्यक पर्ने सिस्टम जडान गरिएको छैन र सोको निम्ति दक्ष र पर्याप्त जनशक्तिको व्यवस्थापन गरिएको देखिएको छैन । केही दिन अघिदेखि मात्र गृह मन्त्रालय मातहतको अध्यागमन विभागले उक्त कार्यमा तदारुकता देखाएको हो ।

तर,भोलि बेलुकीदेखि कुनै विमान आकस्मिक रुपमा अवतरण गर्नुपर्ने अवस्था उत्पन्न भएमा आवश्यक सुरक्षाकर्मी र अध्यागमनको व्यवस्था नगरिनुले गृह प्रशासनको लथालिङ्ग पारा देखिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार