यी ६ जनाका लागि बन्यो गठबन्धन अपरिहार्य

नेपाली राजनीति विचार र शिद्धान्तविहीनताको उत्कर्षमा पुगेपछि सत्ताको यात्रा र भागबण्डाको राजनीतिले अधिक महत्व पाउन थालेको छ । दलका नेताहरूले पदप्राप्तिलाई राजनीतिक सफलता र अप्राप्तिलाई असफलताको रूपमा बुझ्ने गरेकाले पार्टीमा आवद्ध सबै नेता र कार्यकर्ताहरू वडासदस्यदेखि सांसदसम्मको टिकट लिइ उम्मेदवार बन्ने र निर्वाचनमा विजयी हुने सपना र योजनाका साथ सक्रिय भइरहेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दाखिला कार्यक्रम सम्पन्न भइसकेका छन् । उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै चुनाव चिन्ह लिएर उम्मेदवारहरू मैदानमा उत्रने छन् । स्थानीय निर्वाचनमा पार्टीभन्दा उम्मेदवारलाई हेरेर मतदान गर्ने विश्वास गरिए पनि मनोनयन दाखिलाको दृष्य हेर्दा यसअघि स्थापित राष्ट्रिय राजनीतिक दलहरूकै पल्ला भारी हुन सक्ने देखिएको छ ।

स्थानीय सत्तामा जसको पकड बलियो हुन्छ संसदीय निर्वाचनको परिणाम उसैको पक्षमा जाने विश्वास गरिन्छ । त्यसैले पुराना दलहरू संसदीय निर्वाचनलाई लक्षित गरेर स्थानीय सत्तामा पकड जमाउन सम्पूर्ण सामर्थ्य र शक्तिका साथ लागिपरेका छन् । सत्ता गठबन्धनका दलहरू काङ्ग्रेस, समाजवादी, जसपा र माओवादीले नेकपा एमालेलाई मूख्य सत्रु मानेर एमालेविरोधिलाई समेटेर चुनावी मोर्चा कसेको छ र, स्थानीय सत्तामा एमालेको पकड न्यून गराउन सकियो भने संसद् निर्वाचनमा आफूहरूको विजय सुनिश्चित हुने उनीहरूले ठानेका छन् ।

सत्ता गठबन्धनका मूख्य नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रचण्ड, माधवकुमार नेपाल र बाबुराम भट्टराई आफ्नै बुतामा चुनाव लडेर विजयी बन्न सक्ने अवस्थामा छैनन् । कसैको बलियो वैशाखी टेकेर मात्र निर्वाचनमा विजयी बन्न सकिने भएकोले उनीहरूका निम्ति गठबन्धन बाध्यकारी हुन पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा पहिलेझैँ बलिया छैनन् । त्यहाँ कुनै अर्को एउटा पुरानो पार्टीको साथ नहुने हो भने देउवा आगामी संसदीय निर्वाचनमा विजयी बन्ने सम्भावना अत्यन्त न्यून रहेको छ । देउवा आफ्नो कारणले मात्र गठबन्धन गर्न बाध्य भएका होइनन्, आगामी संसदीय निर्वाचनमा आफ्नी श्रीमती आरजु राणालाई पनि कैलालीबाट चुनाव जिताएर ल्याउनुपर्ने योजनामा उनी छन् । भनिन्छ, संसदीय निर्वाचनपछि पनि देउवा आफैं (छैठौँ पटक) प्रधानमन्त्री बन्ने र, आफ्नो मन्त्रिमण्डलमा आरजुलाई समेत समेट्ने चाहना देउवाको छ । ज्ञातव्य छ, शेरबहादुर देउवा काङ्ग्रेसमा सबैभन्दा योग्य मानिस आफ्नै पत्नी आरजु भएको ठान्छन् र, आफ्नो उत्तराधिकारीका रूपमा उनैलाई अघि बढाउने सोच देउवाले बनाएका छन् । आफू डडेलधुराबाट र पत्नीलाई कैलालीबाट चुनाव जिताउनका लागि मात्र देउवालाई चुनावी गठबन्धनको आवश्यकता परेको हो ।

त्यस्तै, माधवकुमार नेपाल पनि गठबन्धनबिना कुनै पनि निर्वाचन क्षेत्रबाट विजय हात पार्ने स्थितिमा छैनन् । काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन नै भए पनि माधव नेपाल विजयी बन्ने सम्भावना न्यून रहेको बताइन्छ । त्यसैगरी, माओवादी अध्यक्ष प्रचण्ड पनि एक्लै चुनाव लडेर जित्न सक्ने अवस्थामा छैनन् । एकपटक एउटा जिल्लाबाट चुनाव लड्ने र अर्को चुनावमा अर्कै जिल्ला रोज्दै आएका प्रचण्ड अब चितवनलाई आफ्नो स्थायी निर्वाचन क्षेत्र बनाउन चाहन्छन् । तर एक्लै लडेर उनी त्यहाँ विजयी बन्न सक्ने अवस्थामा छैनन् । काङ्ग्रेसको समेत मत लिएर मात्र संसदीय निर्वाचनमा विजय प्राप्त गर्न सकिने भएकोले प्रचण्डका निम्ति पनि गठबन्धन बाध्यकारी बनेको छ । हुन त प्रचण्ड सहकार्यका निम्ति विश्वसनीय मानिदैनन् । अघिल्लो निर्वाचनमा पनि स्थानीय तहमा काङ्ग्रेससँग चुनावी गठबन्धन गरेर संसदीय निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्न पुगेका थिए प्रचण्ड । अब पनि प्रचण्डबाट त्यस्तै व्यवहार हुन असम्भव छैन । केपी शर्मा ओली माओवादीप्रति अलिक कठोर भएकोले मात्र कम्युनिष्ट गठबन्धनको सम्भावना न्यून बनेको हो । तथापि स्थानीय निर्वाचनमा भरतपुर महानगरमा छोरीको पराजय भयो भने उनले काङ्ग्रेसलाई संसदीय निर्वाचनसम्म पर्खिएर बस्लान् भन्ने विश्वास गर्न सकिन्न ।

चुनावी गठबन्धनबिना देशको कुनै पनि निर्वाचन क्षेत्रबाट विजयी बन्न नसक्ने चलायमान नेता हुन् माओवादी हिंसात्मक सङ्घर्षका ‘डिजाइनर’ बाबुराम भट्टराई । खुला राजनीतिमा आइसकेपछि गोर्खाबाट भारी मतले विजयी बन्दै आएका भट्टराई २०७४ को संसदीय निर्वाचनमा काङ्ग्रेसको समर्थनबाट विजयी बनेका हुन् । गोर्खाबासीको मत लिएर सांसद बनेपछि भट्टराई बहुराष्ट्रिय राज्यको मुद्दा लिएर तराइ झरेका छन् । अब गठबन्धनकै समर्थन भएछ भने पनि उक्त क्षेत्रबाट भट्टराईले चुनाव जित्न सक्ने सम्भावना कम देखिन्छ । जुनसुकै क्षेत्रबाट चुनाव लडे पनि भट्टराई पुरानो पार्टीको समर्थनबिना जित्न सक्ने स्थितिमा छैनन् । त्यसैले उनलाई पनि आफ्नै लागि चुनावी गठबन्धन चाहिएको हो ।

त्यसैगरी काङ्ग्रेस पार्टीबाट उम्मेदवार बनेर पनि संसदीय निर्वाचनमा पराजित भएका रामचन्द्र पौडेल आगामी संसदीय निर्वाचनमा असी वर्षीय वृद्ध ज्यान लिएर तनहुँबाट नै उम्मेदवार बन्ने तयारीमा छन् । एक्लै लडेर चुनाव जित्ने हैसियत पौडेलले गुमाइसकेका छन् । गोविन्दराज जोशी तनहुँको राजनीतिमा सक्रिय छइन्जेल पौडेलले सफलता हात पार्ने सम्भावना देखिँदैन । तथापि चुनावी गठबन्धन गर्दा आफू विजयी बन्ने आशा उनले गरिरहेका छन् ।

यसरी कुल ६ जना नेतालाई संसदीय निर्वाचनमा विजयी गराउने उद्देश्यका निम्ति नेताहरूबीच गठबन्धन भएको छ र, नेताहरूको निहित स्वार्थका निम्ति भएको गठबन्धनमा भिन्न विचारमा आस्था राख्ने दाबी गरिएका पार्टीहरू एकतावद्ध हुन पुगेका छन् । कार्यकर्ता र समर्थकहरू आफ्नो आस्था र विश्वास नभएको ठाउँमा मतदान गर्न बाध्य भएका/बनाइएका छन् ।
-घटना र विचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार