सधैंको आलटाल : पत्रेखोला पुल

तुलसीपुर । ‘हामीले लगभग काम सकिसकेका छौं । तुलसीपुर साइडको वाल उठाउन बाँकी छ । त्यो काम शुक्रबारबाट शुरु हुँदैछ । त्यो ४÷५ दिनको काम हो । त्यसपछि एप्रोच फिलिङको काम हुन्छ । त्यो दुई दिनको काम हो । काममा देखिएका केही बाधा अड्चनका कारण केही दिन ढिला भएको हो । तपाइँहरु ढुक्क हुनुस् । पुल चैत महिनाभित्रै सञ्चालन हुन्छ’– यो पत्रेखोला पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी पदमप्रसाद शर्माले गत चैत १८ गते नयाँ युगबोधलाई दिएको अभिव्यक्ति हो ।

अहिले भने निर्माण व्यवसायी शर्माको बोली फेरिएको छ । उहाँ भन्नुहुन्छ– ‘म काममा तल्लीन छु । काम निरन्तर भइरहेको छ । काम गरिरहँदा पनि मलाई सबैतिरबाट असहयोग भयो तर पनि म मेरो जिम्मेवारी पूरा गरेरै छोड्छु । काम गर्दागर्दै केही समय ढिला भएको मात्रै हो । मलाई विश्वास गर्नुस्, फिनिसिङ र पेन्टिङको काम बाँकी रहन्छ, जो मेरो काम होइन । बाँकी आउँदो शनिबारभित्रै पुलमाथिबाट गाडी चल्छन् ।’

आ.व. २०७१÷०७२ देखि निर्माण थालिएको पत्रेखोला पुल हालसम्म पनि सम्पन्न हुन सकेको छैन । यो आठ वर्षमा पटक–पटक म्याद थप भयो तर पुलले पूर्णता पाउन सकेन । यो पुल गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने हो । कोभिड संक्रमणको समयमा काममा बाधा भएको हुन सक्ने भनी मन्त्रिपरिषद्ले निर्णय गर्दै असारमा सम्पन्न भइसक्नुपर्ने विकास निर्माणका कामलाई २०७८ को चैत मसान्तसम्म म्याद थप गरिदियो तर पत्रेखोला पुलको काम भने हालसम्म पनि सम्पन्न हुन सकेन ।

पुलको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन तर यसको नियमन गर्ने निकाय डिभिजन सडक दाङ भने अब के गर्ने भन्ने विषयमा अनभिज्ञ छ । म्याद सकियो तर माथिबाट आधिकारिक कुनै निर्णय नआएका कारण यसै भन्न सकिने अवस्था नभएको डिभिजन सडक दाङका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘महंगी बढ्यो भन्दै निर्माण व्यवसायीहरुले विकास निर्माणका सबै कामहरु रोकेका छन् । म्याद सकियो, अब म्याद थप गर्ने या अन्य कुनै कारवाही गर्ने भन्ने आधिकारिक निर्णय आएको छैन । माथिबाट जे निर्णय आउँछ, त्यसैअनुसार प्रक्रिया अगाडि बढ्छ ।’

अहिले पनि पुल निर्माणको काम जारी रहेको र हालसम्म पुल आसपासमा जाली लगाउने काम भइरहेको पुल निर्माणमा कार्यरत मजदुर खगेन्द्र थापाले बताउनुभयो । ‘हामीले अहिले जाली लगाउने काम गरिरहेका छौं । ढुंगाको अभाव छ । अझै ६ घनमिटरभन्दा बढी जाली लगाउन बाँकी छ । सामग्री अभावमा लगातार काम गर्ने वातावरण बनेको छैन’– उहाँले भन्नुभयो– ‘यदि ठेकेदारले समयमै ढुंगा उपलब्ध गराए भने बुधबार या बिहीबार वालको काम सकिन्छ । त्यसपछि दुई पर्खालबीचको भाग भर्ने र फिलिङ गर्ने काम बाँकी रहन्छ । त्यो हाम्रो काम होइन ।’
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार