किसानलाई मल बीउको अभाव नहोस्

देउखुरी । खेतीपाती गरेर घर व्यवहार चल्दै आएको छ । अब त मल, बीउको बढेको मूल्यले गर्दा खेतीपाती पनि गर्न नसक्ने अवस्था आउन थाल्यो । हरिराम चौधरीलाई अब खेतीपातीलाई अघि बढाउन सकिदैन कि भन्ने चिन्ता थपिएको छ । सरकारले किसान, दुःखी, पीडितको कुरा सुनिदिनुपर्ने हो भन्ने लाग्छ ।  सामान्य मल, बीउको लागि उस्तै हैरानी छ । ‘पाँच वर्ष हेरियो । हामी गरिब किसानको लागि खासै उपलब्धि भएन । अब फेरि पाँच वर्ष हेर्नुपर्ने भयो’– उहाँले भन्नुभयो– ‘हामी किसानको समस्या जसले समाधान गर्छ उही नेता बन्छ ।’

स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुन्न मतदाता आतुर देखिन थालेका छन् । हरिरामका केही गुनासा छन् । अब ती गुनासा नयाँ आउने जनप्रतिनिधिले सम्बोधन गर्छन् कि भन्ने आशा छ । ‘गरिबलाई हेरेर कार्यक्रम बनाउनुपर्ने हो । जो धनी छ उ धनी हुँदै जाने, जो गरिब छ त्यो झन गरिब हुँदै जाने अवस्था आयो’– गुनासो गर्दै उहाँले भन्नुभयो– ‘फेरि आउने जनप्रतिनिधिले जनताको समस्या सुन्नै पर्छ ।’ स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तापछि निर्वाचनलाई लिएर मतदाताहरु उत्साहित भएको देखिन्छ । संघीय व्यवस्थाअनुसार संविधानले परिकल्पना गरेको तीन तहको सरकार मध्ये सबैभन्दा जनताको नजिकको सरकार स्थानीय सरकार हो ।

यो सरकारले जनताको सुख, दुःखमा साथ दिनुपर्नेगरी ऐन, कानुन निर्माण भएका छन् । ती ऐन कानुनको व्यवहारिक कार्यान्वयन नै अहिलेको मुख्य आवश्यकताको विषय भएको नागरिक अगुवा जागेश्वर शर्मा घिमिरेले बताउनुभयो । ‘जुन पाँच वर्ष स्थानीय सरकारको अभ्यास भयो त्यो सिकाइको वर्ष थियो’– उहाँले भन्नुभयो– ‘स्थानीय सरकारले गर्न धेरै सक्छन् । त्यसका लागि अभ्यास र अनुभव दुबैको खाँचो पर्छ ।’ संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क उल्लेख छ । त्यसको कार्यान्वयन प्रभावकारी छैन । स्थानीय सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न सक्ने आधारहरु छन् । व्यवहारमा लागु गर्न सकिएको छैन । ‘जनतासँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारको विषयलाई स्थानीय सरकाले ध्यान दिनैपर्छ’– उहाँले भन्नुभयो– ‘अब आउने नयाँ जनप्रतिनिधिबाट थप नयाँ कामहरु अघि सार्नुपर्छ ।’

भौतिक विकाससँगै मानवीय विकासमा जोड दिनुपर्ने आवाज उठ्दै आएको छ । दामोदर पाण्डे स्थानीय तहको निर्वाचनलाई लिएर उत्साहित हुनुहुन्छ । ‘नागरिकको अधिकार मतदानको अधिकार हो । यो अधिकार यो या त्यो बहानामा कुण्ठित हुनुहुँदैन’– उहाँले भन्नुभयो–‘निर्वाचन समयमै हुनु लोकतान्त्रिक अभ्यास हो । जहाँ लोकतन्त्र बलियो छ । त्यहाँको सरकार पनि बलियो छ । नागरिक पनि समृद्ध छन् ।’ दाङका १० स्थानीय तहमा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको माध्यमबाट स्थानीय सरकारले सम्भावनाको नयाँ ढोका त खोलेका छन् तर त्यो गोरेटोलाई मजबुत बाटो बनाउने गरी अब आउने जनप्रतिनिधिले काम गर्नुपर्नेछ । ‘निर्वाचनलाई लिएर उत्साहित छौं । यो मतदाताको अधिकार हो’– नागरिक अगुवा दामोदर पाण्डेले भन्नुभयो– ‘निर्वाचनबाट जनप्रतिनिधि मनोनीत हुने परिपाटीले जनताप्रति जनप्रतिनिधिलाई जिम्मेवार बनाउँछ ।’
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार