विद्युत महशुल नबुझाएपछि तुलसीपुर उपमहानगरको लाईन काटियो

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका विद्युत विहीन भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत महशुल नबुझाएको भन्दै उपमहानगरपालिकाको विद्युत लाईन काटेको छ ।

एक हप्ता पहिले नै विद्युत महशुल बुझाउँनको लागि तुलसीपुर उपमहानगरपालिकामा पत्राचार गरेको भए पनि त्यसको कुनै प्रतिउत्तर नआएपछि मंगलबार विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए ।

अहिले तुलसीपुर उपमहानगरपालिकाको ४ महिनाको विद्युत महशुल बुझाउँन बाँकी छ । जरिमानासहित ४ महिनाको डेढलाख बढी महशुल बुझाउँन बाँकी रहेको प्रमुख फर्सालले बताए । कुनै पनि ग्राहकले रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाएको खण्डमा बिना जानकारी उक्त ग्राहकको विद्युत काटिने प्राधिकरणको नियम अनुसार आफुहरुले तुलसीपुर उपमहनगरपालिकाको विद्युत लाईन काटेको उनको भनाई छ ।

उपमहानगरपालिकाले बक्यौता रकम नबुझाएसम्म वा यती दिनमा पैसा बुझाउँछौ भनी सहमती नगरेसम्म लाईन नजोडिने फर्सालको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार