बैंकहरुमाथि रुष्ट्र बैंकको अनुसन्धान

काठमाडौं । देश संकटमा रहेको बेला केही व्यवसायी भने आफु मस्त कमाएर देशलाई थप समस्यामा लैजाने खेलमा लागेका छन् । यसमा नेपाल राष्ट्र बैंक र सरकारकै अधिकारीहरुले साथ दिएको पाइएको छ । सरकारले बिलासी वस्तुको आयातमा रोक लगाउने निर्णयपछि पनि केही व्यवसायीले महिनौंसम्मलाई पुग्ने बिलासी सामान आयातका लागि प्रतीतपत्र खोलेको समाचार बाहिर आएको छ ।

ज्योती ग्रुप, शारदा ग्रुप, बिशाल ग्रुप, कन्टिनेन्टल इन्टरप्राइज लगायतका कम्पनीले साँठगाँठका आधारमा बिलासी सामान आयात गर्ने अनुमति पाएका हुन् । राष्ट्र बैंकले चैत २१ ग्ते बैंकका सिइओहरुलाई बोलाएर बिलासिताका वस्तुहरुको एलसी नखोल्न मौखिक आदेश दिएको थियो । तर, राष्ट्र बैंकको आदेशलाई अटेर गरेर एलसी खोल्ने बैंकहरुलाई राष्ट्र बैंकले स्पष्टीकरण सोधेको बुझिएको छ । राष्ट्र बैंकले सोधेको स्पष्टीकरणमा बैंकहरुले चैत २१ ग्ते अगाडि नै ती सामान आयात गर्न एलसीको प्रक्रिया पूरा भएकोले २१ गते पछाडि एलसी खोलेको जवाफ दिएको छ । ती बैंकहरुमाथि थप अनुसन्धान जारी छ ।

ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले पनि आयात प्रतिबन्धपछि पनि गाडी र मोटरसाइकल आयात गर्ने अनुमति लिएको छ । नबिल बैंकमार्फत् उसले ४० करोड २० लाख २३ हजार ६८० रुपैयाँको एलसी खोलेको छ । नबिल बैंकमार्फत होण्डाको २ पांग्रे ४ हजार ५६० मोटरसाइकल आयातका गर्न लागेको छ ।

स्रोतका अनुसार नबिल बैंकको एलसी नम्बर ‘२२ डीसी ०१ आई एनआर ०२५२३९’ मार्फत ४ करोड ६३ लाख ३७ हजार ३२० रुपैयाँ भारुको ८४० वटा, एलसी नम्बर ‘२२ डीसी ०१ आई एनआर ०२५२४१’मार्फत ३ करोड ५१ लाख ८९ हजार ७६० रुपैयाँ भारुको ६४० थान र एलसी नम्बर ‘२२ डिसी ०१ आई एनआर ०२५२३७’ मार्फत १६ करोड ९७ लाख ३७ हजार ७२० रुपैयाँ भारुको ३ हजार ८० थान मोटरसाइकलका लागि एलसी खोलिएको छ । राष्ट्र बैंकले प्रतिबन्ध लगाउने दिनमै सो निर्णय भएकाले पहिले नै सूचना दिएर यसरी निर्णय गर्न लगाएको प्रष्ट हुन्छ । यसले राष्ट्र बैंक, निजी बैंक र व्यापारीको मिलेमतो प्रष्ट हुन्छ ।

त्यस्तै एक कम्पनीलाई ६ सय गाडी आयात गर्न अनुमति दिइएको छ । सुद्रित घिमिरे कन्टिनेन्टल इन्टरप्राइजेजले मात्र ६ सय गाडी आयातको प्रतीतपत्र खोलेको छ । सरकारको निर्णय र राष्ट्र बैंकको निर्देशनपछि प्रतिबन्धित वस्तुमा एक अर्ब ७४ करोड ७६ लाख ९५ हजार ५९६ रुपैयाँ बराबरको एलसी खोलेर बिलासी सामान आयात गर्न दिइएको छ । यसमा नबिल र स्ट्यान्डर्ड चाटर्ड बैंकका अधिकारीको मिलेमतो रहेको स्रोत बताउँछ ।

विशाल ग्रुपको युनाइटेड ट्रेडर्सले स्टान्डर्ड चाटर्ड बैंकमार्फत चकलेट, क्रिम, जिलेटका उत्पादन र लुगा धुने डिटरजेन्ट पाउडरका ७८ करोड २९ लाख रुपैयाँको एलसी खोलेको देखिन्छ । स्ट्यान्डर्ड चाटर्ड बैंकमा सो कम्पनीले एलसी खोलेको हो । प्रतिबन्धपछि मात्रै विशाल समूहलाई ७८ करोड २९ लाख १० हजार ५५७ रुपैयाँ बराबरको बिलासी वस्तु आयातको अनुमति दिइएको छ ।

यो धन्दामा नबील बैंक पनि मुछिएको छ । नबिल बैंकले राष्ट्र बैंकको निर्देशनपछि पनि ७ करोड ४५ लाख ७२ हजार ११६ रुपैयाँ ८ पैसा बराबरको लुगा धुने डिटर्जेन्ट पाउडर पनि आयातका लागि एलसी खुलेको छ ।

यस्तै शारदा ग्रुपको एसपीजी ट्रेडिङले ५ करोड ८२ लाख ६९ हजार ५५२ रुपैयाँ ५५ पैसाको एलसी खोलेको छ । एसपीजीले सिवास रिगल र एब्सुलुट भोड्का लगायत रक्सी आयातका लागि एलसी खोलेको हो ।

यसरी मिलेमतोमा एलसी खोल्नेहरुले महंगोमा सामान बिक्री गर्न थालिसकेका छन् । गाडी र मोटरसाइकलको मूल्य बढाइएको छ ।

यसरी सूचना चुहाएकै विषयमा अर्थमन्त्री र गभर्नरबीच विवाद बढेको थियो । सोही आरोप लगाउँदै गर्भनर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार