स्थानीय तहको निर्वाचन: विचित्रकाे तालमेल

काठमाडौं । अहिलेको स्थानीय तहको चुनावमा अनौठो मात्रै हाेइन विचित्र किसिमकाे तालमेल देखिएको छ । स्थानीय तहका नेताहरुको स्वार्थ र शक्तिअनुसार तालमेल भएको छ । यसले कुनै दल वा व्यक्तिविशेषलाई समर्थन र विरोध गर्ने अवस्था देखिएको छ । यस्तो गठबन्धनमा सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धन पनि संलग्न देखिएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनभन्दा बाहिर तालमेल नगर्न निर्देशन दिएका भएपनि जिल्ला र पालिकामा भने फरक फरक शैली देखिएको छ ।उनीहरुले पार्टी नेतृत्वको निर्देशनविपरीत अनेकन प्रकारका तालमेल भएको छ ।

रोल्पाको सुनछहारी गाउँपालिकामा केन्द्रको निर्देशन विपरीत एमाले र कांग्रेसको समर्थनमा विप्लव नेतृत्वको नेकपालाई प्रमुख पद दिने सहमति भएको छ । उनीहरु माओवादी केन्द्रविरुद्ध केन्द्रित भएका छन् ।

यस्तै गठबन्धन बनेको छ, प्युठानको झिमरुक गाउँपालिकामा । जनमोर्चा बलियो भएको यो पालिकामा विगतमा जनमोर्चाले नै जित्दै आएको थियो । केन्द्रीय नीति अनुसार उक्त पालिका जनमोर्चालाई छोड्नुपर्नेमा सत्ता गठबन्धमा रहेका दलहरु नै जनमोर्चाको विरुद्धमा उभिएका छन् । त्यहाँ माओवादी र कांग्रेसको गठबन्धन राष्ट्रिय जनमोर्चाविरुद्ध भएको छ । गठबन्धन भित्रैका दलहरुवीच यस्तो गठबन्धन भएको हो ।

गठबन्धनको प्रदेश कमिटीले उक्त गठबन्धन नगर्न निर्देशन भने दिएको छ तर काम लागिरहेको छैन । यता कालिकोटको महाबु गाउँपालिकामा एमाले र माओवादी केन्द्रमा तालमेल भएको छ ।

यो पनि गठबन्धनभित्रै गर्ने तालमेलको विरुद्धमा देखिएको छ । यता, विप्लव नेतृत्वको नेकपाले उदयपुरको त्रियुगा नगरपालिकामा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका उम्मेदवारलाई समर्थन गरेको छ ।

अनि, झापाको दमकमा एमालेविरुद्ध सत्ता गठबन्धनका दलहरु राप्रपासँग तालमेल गर्न पुगेका छन् भने दमकमा दुश्मनीपूर्ण सम्बन्ध भएका राप्रपा र एमाले चितवन महानगरमा भने मिलेका छन् । नेपालगञ्ज उपमहानगरपालिका भने प्रमुख र उपप्रमुखमात्रै तालमेल गर्ने अन्य पदमा आआफ्नो दल चुनावी प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

धनगढी उपहानगरपालिकामा पनि त्यही अवस्था देखिएको छ । एमालेसँग हेटौडाको उपमहानगरमा उपमेयर लिने सहमति अनुसार कमल थापाको राप्रपा नेपालले भने उपमेयर पाएको छैन ।

एमालेसँगको तालमेल सफल नभएको भन्दै राप्रपा नेपालले केही जिल्लामा आफ्नो पार्टीकै उम्मेदवार उठाएका छन् । रंगीविरंगी तालमेल भइरहेको पालिकामा आफ्नो स्वार्थ र शक्तिका आधारमा गठबन्धन भइरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार