चितवन, काठमाडौं र पोखरा महानगरमा विप्लवका उम्मेदवारले कस्काे भाेट काट्लान ?

काठमाडौं । धेरैले अनुमान गरेका थिए नेत्रविक्रम चन्द विप्लव महासचिव भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेवीच चुनावी तालमेल हुन्छ भनेर । एमालेका अध्यक्ष केपी ओलीसँग नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको सुमधुर सम्बन्ध तथा उक्त पार्टीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि ओलीले खेलेको महत्वपूर्ण भूमिका र तीन बुँदे सम्झौताको बेलामा पनि अनौपचारिक सहमति भएको अनुमानसँग जोडेर त्यस्तो चर्चा हुने गरेको थियो ।

विप्लवको पार्टीले औपचारिक रुपमा कतै पनि एमालेसँग तालमेल गर्ने निर्णय गरेको छैन । बरु, ओलीको गृहनगर दमकमा समेत उम्मेदवार उठाएर एमालेलाई सकसमा पारिदिएको छ ।

एमाले हराउने अभियानमा दमकमा राप्रपालाई सत्ता गठबन्धनका कांग्रेस र माओवादीले समर्थन गरेको बेलामा नेकपाले पनि उम्मेदवार उठाईदिएपछि एमालेलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिएको छ ।

त्यसरी नै एमालेका लागि प्रतिष्ठाको विषय बनेको चितवन महानगर, काठमाडौं र पोखरा महानगर पनि उम्मेदवार उठाएको छ । त्यसैले, एमालेसँगको तालमेल नेकपाले नगरेको चर्चा हुन थालेको छ । रोल्पाका केही पालिकामा भने एमाले र कांग्रेसले नेकपा उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । रोल्पाको सुनछहारी गाउँपालिकामा माओवादी केन्द्रविरुद्ध विप्लवको पार्टीको नेतृत्वमा एमाले र कांग्रेससहितको गठबन्धन बनेको बताइएको छ ।

प्रमुख शहर र आफ्नो प्रभाव भएका सबै जिल्लामा उम्मेदवारी दर्ता गराएको नेकपाले कालिकोटका केही पालिका र रोल्पाका कम्तीमा दुईवटा पालिकामा चाहिं चुनाव जित्ने आंकलन गरेको छ । त्यसैगरी, कपिलवस्तुको शिवराज नगरपालिकामा पनि नेकपाले जित्ने आश गरेको छ । उक्त नगरपालिकामा केन्द्रीय सदस्य भेषराज भुसाललाई उम्मेदवार बनाएको छ । यो पालिका विप्लवको गृह पालिका पनि हो ।

सर्लाहीको वागमती नगरपालिका भने माओवादी केन्द्रका मेयरका उम्मेदवारलाई पराजित गर्ने मनसायसहित उम्मेदवारी दिएको छ । प्रहरीले हत्या गरेका नेकपाका नेता कुमार पौडेलकी श्रीमती धनकुमारी खड्कालाई मेयरको उम्मेदवार बनाएको छ ।

त्यहाँ माओवादीले भने पुरानै मेयर भरत थापालाई उम्मेदवार बनाएको छ । भरत ताल बनाएर चर्चामा रहेका थापाविरुद्ध पौडेलको हत्या प्रकरणमा नाम मुछिएको भनेर नेकपामा नेताहरुले आरोप लगाउने गरेका छन् ।

नेकपाले स्थानीय चुनाव उपयोग गर्ने रणनीति लिएपछि नेकपा भने विभाजनको संघारमा पुगेको छ । नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली विद्रोहको तयारीमा छन् । उनीहरुले २०८ चैत १२ गतेसम्म पर्खिने बताइरहेका थिए । विप्लव र प्रकाण्डको नेतृत्वमा उम्मेदवारी दर्ता कतिजनाले गर्छन वा चुनाव उपयोगमा कसरी अगाडि बढ्छ भन्ने प्रष्ट भएपछि बाँस्तोला र वलीले विद्रोहको रणनीति बनाउने तयारी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार