यूनाइटेड सिमेन्टका सञ्चालक २० लाख धरौटीमा छुटे

काठमाडौं । चुनढुंगाखानी अत्यधिक दोहन गरी राजश्व चुहावट मुद्दामा यूनाइटेड सिमेन्टका सञ्चालक नरेश दुगड २० लाख धरौटीमा छुटेका छन् । नौ करोड ६९ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएकोमा बिशेष अदाललते २० लाख धरौटी माग गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी र सञ्चालकविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमा अदालतले आइतबार २०÷२० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

‘नरेश दुगड र उहाँको उद्योग युनाइटेड सिमेन्टस् प्रालिको उपस्थित हुने निवेदन परेकोमा दुवैलाई २०÷२० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ,’ बिशेष अदालतका इजलास अधिकृत बालकृष्ण लवजुले भने । न्यायाधीशहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासर्ल धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

उनीहरुविरुद्ध तोकिएको परिणाम भन्दाबढी चुनढुंगा उत्खनन् गरेको तथा वातावरणीय संरक्षणलाई बेवास्ता गरी राज्यलाई करोडौंको नोक्सान हुने कार्य गरेको अख्तियारको अभियोग छ । नौ वटा चुनढुंगा उद्योगविरुद्ध अख्त्यिारले मुद्दा दायर गरेको थियो । यसअघि मारुती सिमेन्टका प्रतिनिधि अदालतमा उपस्थित भएका थिए । मारुती सिमेन्टलाई २० करोड ५० लाख रुपैयाँको बिगो कायम गरी मुद्दा दर्ता भएपनि ५० लाख रुपैयाँ धरौटी माग भएको थियो ।
यसमा खानी तथा भूगर्भ विभागका कर्मचारीविरुद्ध समेत मुद्दा दायर भएको छ । १५ चैतमा उपस्थित अन्यदुई कर्मचारीलाई पनि साधारण तारेखमा रिहा गर्ने आदेश भएको थियो । यसै मुद्दाका प्रतिवादीहरु श्रीभद्र गौतम र सौनक भण्डारीलाई पनि साधारण तारेखमा रिहागर्न आदेश भएको थियो । उनीहरुमाथि १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ भन्दाबढीको बिगो कायम गरी राजस्व चुहावटको मुद्दा दायर भएको थियो । सिमेन्ट उद्योगहरुलाई कर तिर्ने विषयमा गलत राय दिएर भ्रष्टाचार गरेको अभियोग पोखरेलमाथि छ भने लेखा अधिकृत गौतम र जियोलोजिस्ट सौनक भण्डारीले गलत प्रतिवेदनतयार गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार