परराष्ट्रको त्यति कडा पत्र

विदेश बस्ने नेपालीको हकहितका काममा रातदिन जुट्नुपर्ने देशको प्रतिनिधि अर्थात् राजदूतले नै पत्र लेख्दा पत्रकारिता पनि गर्ने एकजना युवा दुबईको जेलमा छन् भने तिनै राजदूतले नेपालको कूटनीतिक इतिहासमा कहिल्यै नपाएको निर्देशन परराष्ट्रबाट प्राप्त भएसँगै आफ्नो गल्ती सच्याउन कुदाकुद गरिरहेका छन् । सामाजिक सञ्जालमा अभिव्यक्त विषयमा रिस फेर्न उनले आफै दुबई प्रहरीलाई चिठी लेखी पत्रकार उमाकान्त पाण्डेलाई थुनाएको ठहरसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट जोडदारका साथ उठेको दबाबबमोजिम परराष्ट्रले युएइस्थित दूतावासलाई कडा चिठी लेखेको छ ।

मन्त्रालयबाटै प्रेषित बुँदागत निर्देशनमा भनिएको छ, ‘जेलबाट तुरुन्त निकाल्ने, उनको जफत सम्पत्ति फिर्ता गराउने, डिपोर्टेशन रद्द गर्ने, त्यहीं रोजगारी सुनिश्चित गर्ने, यी काममा तुरुन्त लागेर पाइला पाइलाको रिपोर्ट गर्ने !’ परराष्ट्र यति कडासँग प्रस्तुत भएपछि राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासका कर्मचारीसमेत गम्भीर भएर काममा जुटेका छन् । अहिले खाडी मुलुकमा रमजान पर्व चलिरहेको छ । कर्मचारीहरूले भनेका छन्, ‘यही कारण ढिला भयो, काम प्रगतिको प्रक्रियामा छ ।’

त्यस्तै, परराष्ट्रको अडानका कारण विभिन्न आठ देशमा करिअर डिप्लोम्याट्सले राजदूतको जिम्मेवारी त पाए, तर संवेदनशील र महत्वपुर्ण जिम्मेवारीमा भने दलहरूको रोजाईका पात्र जाने भएका छन् । त्यसमाथि कर्मचारीतर्फबाट पठाउन लागिएका राजदूतहरूको देश मन्त्रिपरिषद्को सिफारिस निर्णयबाट पनि सच्याइएको छ । यसचोटिको सिफारिसमा जेनेभा र जापानमात्रै हो, करिअरवालाले गतिलो देश पाएको । त्यसमाथि हरिश्चन्द्र घिमिरे र तीर्थराज वाग्लेको हकमा त निर्णय भइसकेर पनि देश हेरफेरमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार