विवाहमा मितव्ययिता अपनाउँदै अभिनेत्रीहरु

लकडाउन भन्दाअघिको समय थियो । नेपाली अभिनेत्रीहरुको विवाहलो लहर चलेको थियो ।

विवाह हुनुभन्दा महिनौंअघि विवाहको मिति सार्वजनिक गरिँदै थियो । विवाहको कार्ड बाढिँदै थियो । चिनिएका अनुहार बोलाउनु पर्ने, आफन्त र पाहुना पनि त्यति नै । अझ भारतीय संस्कारको प्रभाव हल्दी, मेहेन्दी र संगीतको रसम गर्नै पर्ने ।

यी सबैबीच कसार बटार्ने परम्परा गायब झैँ थियो । हरेक समारोह भब्यताका साथ गरियो । समारोह अनुसारका पहिरन र गहना पनि । अब अभिनेत्री नै भएपछि सामान्य पहिरन र गहनामा रमाउने कुरै भएन ।

समग्रमा अभिनेत्रीहरु श्वेता खड्का, वर्षा राउत, ऋचा शर्मा, आँचल शर्मा, प्रियंका कार्की लगायतको विवाह खर्चिलो गरी सकियो ।

परिस्थिती बदलियो । कोरोना भाइरसको कारण लामो समय लकडाउन भयो । काम बिहिन भएपछि धेरैलाई पैसाको महत्व समेत थाहा भयो । फजुल खर्चको शृङ्खला नियन्त्रण भयो ।

दुई वर्षपछि पुनः अभिनेत्रीहरु एकपछि अर्को गर्दै विवाह गर्न थालेका छन् । रेखा थापाले केही समयअघि विवाह गरिन् । प्रेममा रहेर विवाह गरेकी उनले सामान्य रुपमा समारोह सम्पन्न गरिन् । उनको विवाहमा उनी निकट केही व्यक्तिको मात्रै उपस्थिति रहेको थियो । उनले न कुनै ठूलो भोज दिइन्, न त भड्किलो विवाह गरेर दुलही पहिरन मैँ पत्रकारको बुम र माइकअघि बोल्न आवश्यक सम्झिइन् ।

अभिनेत्री केकी अधिकारीले आफू निकट सबैलाई विवाह गुपचुप गर्ने कुरा गरिरहन्थिन् । उन लाई भव्य विवाहमा रुचि नभएको अभिव्यक्ति पनि दिन्थिन् । उनले बिहिबार आफ्ना प्रेमीसंग यसैगरि विवाह गरिन् । रोहित तिवारीसंग विवाह बन्धनमा बाँधिएकी उनको विवाह समारोहमा एक सय पचास जना जति निकटका व्यक्तिहरुको उपस्थिति थियो । ग्रान्डी अपार्ट्मेन्टमा सम्पन्न वैवाहिक समारोहमा जाने पाहुनालाई मोबाइल फोन प्रयोग गर्न समेत प्रतिबन्ध लगाइएको थियो । विवाह सकिए लगत्तै केकीले विवाहका केही तस्बिरहरु सार्वजनिक गर्दै आफुहरुलाई आशीर्वाद दिन आग्रह गरिन् ।

आज शुक्रवार अर्की अभिनेत्री वर्षा शिवाकोटीले समेत गोप्य समारोहको आयोजना गरि प्रेमी आशिष गेलालसंग विवाह गरेको खबर छ । उनको विवाहमा समेत दुई सय जनाको हाराहारीमा मात्रै पाहुना निम्त्याइएको चर्चा छ । अमेरिकामा बस्दै आएका युवालाई उनले एक महिनाअघि मात्रै भेट गरेर आएकी थिइन् । उनै युवासंग उनले पारिवारिक सहमतिमा परिवार निकट व्यक्तिको उपस्थितिमा विवाह गरेको चर्चा छ ।

अभिनेत्री पूजा शर्माले समेत केही समयमै प्रेमी युद्ध बानियासंग विवाह गर्ने चर्चा छ । त्यस्तै अर्को जोडी अनु शाह र सविन श्रेष्ठ, हरिहर अधिकारी र नीता ढुङाना, सलोन बस्नेत र करिस्मा केसी पनि लगनगाँठो बाँध्ने तयारीमा छन् । यी जोडीहरुले विवाह कसरी गर्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।

चलेको अनुहार भएपछि उनीहरुको हरेक विषयमा दर्शकको चासो हुनुलाई सामान्य मान्ने गरिन्छ । तर व्यक्तिगत जीवनलाई व्यक्तिगत बनाउन नसक्दा आफ्नै कारण समस्यामा फसेको धेरै कलाकारको अनुभव छ । जोडी छान्ने र विवाह गर्ने नितान्त व्यक्तिगत निर्णय हो । आफ्नो विवाह कसरी गर्ने भन्ने निर्णय व्यक्ति स्वयमले नै गर्ने हो । कलाकारिता त दर्शकमाझ आएकै हो कुनै पनि कलाकारले आफ्नो विवाहलाई गोप्य राख्न चाहन्छ र मितब्ययी ढङले गर्न चाहन्छ भने यस्तो निर्णयको समर्थन गर्नु पर्छ, हैन र ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार