गृहमन्त्रीमाथि मेयरको टिकट बेचेको आरोप, पुराना काँग्रेसीद्वारा राजीनामा

गृहमन्त्री बालकृष्ण खाँणलाई दुई करोड रुपैयाँमा रुपन्देहीको सिद्धार्थनगरनगरपालिको मेयरको टिकट बेचेको गरेको आरोप लागेको छ । खाँणले काँग्रेसका पाका, पुराना र क्रियाशील नेताहरुलाई पाखा लगाउँदै व्यवसायी पृष्ठभूमि भएका र केही महिना पहिले मात्र पार्टी प्रवेश गरेका व्यक्तिलाई मेयरको टिकट दिएपछि उक्त आरोप लागेको हो ।

खाणलाई मेयरको टिकट बेचेको आरोप लगाउँदै काँग्रेस रुपन्देहीका पुराना नेता मातृका यादवले पार्टीको साधारण सदस्य समेत नरहनेगरि राजीनामा दिएका छन् । काँग्रेसका पूर्व क्षेत्रीय सभापति समेत रहेका यादवले आफ्नै निर्वाचन क्षेत्रका सांसद र मन्त्री रहेका खाँणले मेयरको टिकट बेचेको आरोप लगाएका हुन् ।

उनले आफू निकट साथीभाईसँग भन्ने गरेका छन, ‘३० देखि ३५ वर्ष पार्टीमा निरन्तर काम गरेका हामी जस्ता कार्यकर्तालाई एकपटक पनि सोधिएन, खाँणले नोटको बिटो बुझाउनेलाई टिकट दिए ।’ यादवले काँग्रेस पार्टीले निष्ठा र सिद्धान्तप्रति बफादारहरुलाई अन्याय गरिरहेको समेत बताए । उनले भने, ‘अब के गर्ने भनेर साथीहरुसँग सरसल्लाह हुँदैछ, मैले एक्लै राजीनामा दिएको हुँ, तर केही दिनमै हजारौं साथीहरुले केही खास निर्णय गर्दैछौं ।’

मधेसी समुदायमा सबैभन्दा पुराना काँग्रेसी नेता यादव गत स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट मेयरका प्रत्यासी थिए । उनी वर्तमान एमालेका मेयर हरिप्रसाद अधिकारीको मुख्य प्रतिद्वन्दी भएका हुन् ।

मातृकाको राजीनामासँगै रुपन्देही काँग्रेसमा तरङ्ग उत्पन्न भएको छ । यादवलाई फकाउन काठमाडौंदेखि गृहमन्त्री खाँण रुपन्देही आए पनि भेटपछि निराश भई राजधानी फर्केको बताइन्छ । यादवलगायतले स्थानीय तहको टिकट वितरणमा गरिएको अन्यायपूर्ण कार्यको जवाफ आगामी संसदीय चुनावमासमेत दिइएने चेतावनी प्रवाह गरेका छन् । उता जति सम्झाउँदा पनि स्थानीय नेताहरुले नटेरेपछि खाँणले आफ्नै निवास मणिग्राममा पत्रकार सम्मेलन गरेर नेतृत्वको निर्देशन अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

खाँणको एकल निर्णयबाट सिद्धार्थनगरमा मेयरको टिकट ईस्तियाक अहमद खानले प्राप्त गरेका हुन् । खान यसअघि राप्रपाबाट समानुपातिक सभासद बनेका थिए । रियल स्टेट व्यवसायी खान धनी मध्येका एक हुन् । वैचारिक र सैद्धान्तिक ज्ञानभन्दा चन्दा, दान दिएर उनले राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्दै आएका छन् । खानले टिकट पाएसँगै भैरहवा क्षेत्रका पुराना काँग्रेसी नेताहरु विजय शर्मा, महेन्द्रकुमार श्रेष्ठ, सुरेन्द्रजंग थापा, दिपक क्षेत्री न्यौपानेहरु यतिबेला चुनावी प्रचारमा नखटिने र चुपचाप बस्ने सोचमा पुगेका छन् ।

रुपन्देहीका हरेक साना ठूला जमघटमा गृहमन्त्री खाँणले दुई करोड रुपैयाँमा मेयरको टिकट बेचेको गाईंगुईं चलेको छ । टिकट बिक्री भएको हल्लासँगै अन्य १५ पालिकाका प्रमुख, उपप्रमुख र वडाधयक्षका आकांक्षीहरुले टिकटको लोभमा पैसाको जोहो गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार