यस्तो छ कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका थिए ।
सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो । मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन् ।

‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छचारिता, दक्षिणपन्थ प्रवृत्ति र कार्यशैलीगत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो ।

हुन पनि स्थापना भएको ७३ वर्ष पूरा हुँदा कम्युनिस्ट पार्टीहरू अनेक नाममा दर्ता छन् । कोही सत्तामा घरिघरी पुग्छन् त कोही सानो आकारको पार्टीको रूपमा रहेर अस्तित्व मात्र बचाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भने १० वैशाख २००६ मा भएको मानिन्छ । तर, स्थापना मितिमा पनि विवाद छ । जे होस्, नेकपा एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेका हुन् । संस्थापक महासचिव पुष्पलाल बनेका थिए ।

डा. केसीको पुस्तकमा उल्लेख भएअनुसार ‘माक्र्सिस्ट स्टडी सेन्टर’मा आबद्ध डा. केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, मनमोहन अधिकारीलगायतलाई पुष्पलालले समावेश नगर्नु मतभेदको कारक रहेको थियो ।

त्यसपछिको घटनाक्रम यस्तो छः

– १७ माघ २०१० मा काठमाडौं र पाटनमा भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी पार्टी महासचिवमा निर्वाचित तर चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाँदा डा. रायमाझीद्वारा पार्टी कब्जा ।

– पार्टी कब्जा गरेका केशरजंग र संस्थापक महासचिव पुष्पलाल पक्षबीच दुई लाइन संघर्ष सुरू ।

– १५–२५ जेठ २०१४ सम्म काठमाडौंमा दोस्रो महाधिवेशन हुँदा राजनीतिक प्रतिवेदन पुष्पलालको पारित तर नेतृत्वमा केशरजंग स्थापित । पुष्पलालका राजनीतिक कार्यक्रम अस्वीकृत ।

– दुई वर्षमा हुने महाधिवेशन ६ वर्षमा हुन थाल्यो ।

– १ पुस २०१७ मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको राजा महेन्द्रले अपदस्त गर्दा त्यसबारे पुष्पलाल र केशरजंगबीच मतभेद । केशरजंगले राजाको कदमलाई ‘प्रगतिशील’भन्दा पुष्पलालले ‘सैनिक आतंक’ भनेका थिए ।

– भारतको दरभंगमा महेन्द्रको प्रत्यक्ष शासन सुरु भएकै बेला पार्टी विस्थापित बैठक बस्दा संसदीय व्यवस्थाको विरुद्धमा उभिए केशरजंग । ‘दक्षिणपन्थी अवसरवादी’को संज्ञा पुष्पलाल पक्षबाट पाए । संसद् पुनःस्थापनासँगै संयुक्त जनआन्दोलनको पक्षमा पुष्पलाल थिए । मोहनविक्रम सिंह संविधानसभाको निर्वाचको पक्षमा थिए । अन्ततः सिंहको राजनीतिक प्रस्ताव पारित । केशरजंग र पुष्पलालबीच मतभेद झन चुलियो ।

– ४–१९ वैशाख २०१९ मा भएको तेस्रो महाधिवेशन हुँदा ‘अन्तरजोन सामञ्जस्य समिति’का सचिव तुलसीलाल अमात्यद्वारा राजनीतिक प्रतिवेदन पेस र महासचिवमा निर्वाचित । पुष्पलाल, तुलसीलाल र मोहनविक्रमबीच कार्यक्रमभन्दा नारामा विवाद । तुलसीलालले प्रतिवेदनमा ‘कुन बाटो ?’ लेख्दा पुष्पलालले ‘मुलबाटो’ लेखेका थिए । केशरजंग भने कारबाहीमा परिसकेका थिए ।

– कारबाहीमा पर्दा पनि २०२४ सालमा केशरजंग पक्षले पनि तेस्रो महाधिवेशन गरे । असन्तुष्ट पुष्पलालले पनि एक वर्षपछि २०२५ सालमा तेस्रो महाधिवेशन गरेर महासचिव बने ।

– जेलमा रहेका नेताहरूबाट ‘केन्द्रीय न्युक्लियस’ गठन ।

– ३० भदौदेखि ७ असोज २०३१ सम्म मोहनविक्रम पक्षले चौथो महाधिवेशन गरे । ५ वर्षपछि २०३६ मा शम्भुराम श्रेष्ठ र मोहनविक्रम पक्षबीच एकतापछि नेकपा गठन ।

– त्यसकै सेरोफेरोमा झापामा पूर्व कोशी प्रान्तीय कमिटीमा आबद्ध रहेकाहरूबाट ‘वर्गशत्रू खत्तम’ कारबाही प्रारम्भ ।

–२४ र २५ जेठ २०३२ मा झापा र मोरङका क्रान्तिकारीहरू मिलेर ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन ।

– १४ भदौ २०३४ मा कोअर्डिनेसन केन्द्रसँग मुक्तिमोर्चा, २६ भदौ २०३५ मा क्रान्तिकारी कम्युनिस्ट संगठन कमिटी गण्डकी र २७ मंसिर २०३५ मा दाङको सन्देश समूहबीच एकता ।

– कोअर्डिनेसन केन्द्र ११ पुस २०३५ पछि नेकपा माले गठन ।

– मोहनविक्रम पक्षबाट २०४० सालमा नेकपा (मसाल) गठन । सोही वर्ष निर्मल लामा पक्षबाट नेकपा (चौम) गठन ।

– १–१६ मंसिर २०४१ मा मसालको पाँचौं महाधिवेशन सम्पन्न । मोहन वैद्य कारबाहीमा परे । मोहनविक्रम निकट चित्रबहादुर केसीको राजनीतिक प्रतिवेदन पारित । वैद्य समूहबाट नेकपा (मसाल) नै गठन । सेक्टर काण्डपछि पुष्पकमल दाहाल महासचिव ।

– ९–१४ भदौ २०४६ सम्म सिरहामा भएको चौंथो नै महाधिवेशनपछि मदन भण्डारी महासचिवमा निर्वाचित । संयुक्त जनआन्दोलनका लागि संयुक्त वाममोर्चा गठन ।

– नेकपा माले, नेकपा माक्र्सवादी, नेमकिपा, नेकपा (बर्मा) नेकपा (अमात्य) र नेकपा (मानन्धर) पक्ष संयुक्त वाममोर्चामा सहभागी ।

– सिंह नेतृत्वको समूहबाट २०४७ सालमा डा. बाबुराम भट्टराई अलग । एकता केन्द्र गठन ।

–२२ पुस २०४७ नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता र नेकपा एमाले गठन ।

– एमालेमा नेकपा (अमात्य) नेकपा (माओवादी) नेकपा (मसाल) नेकपा (चौम) नेकपा (मानन्धर) नेकपा (बर्मा) र नेमकिपाका नेताहरू प्रवेश ।

– एमाले गठनपछि संसदीय प्रणालीमा प्रवेश । संसदीय प्रणालीप्रति फरक मत राख्ने मोहन वैद्य, प्रचण्ड, बाबुरामलगायत अन्ततः नेकपा माओवादी गठन गर्दै १ फागुन २०५२ देखि जनयुद्धमा सहभागी ।

– संसदीय प्रणालीमा रहेको नेकपा एमाले ११ फागुन २०५४ मा महाकाली सन्धीलाई लिएर नेता बामदेव गौतमले फुटाए । २०५६ को आम निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि २०५८ मा एमालेमा फर्किए ।

– ४ असार २०६९ तत्कालीन एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष मोहन वैद्य पक्ष अलग ।

– ७ मंसिर २०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एमाले फुट्यो । संघीयता, पहिचान र धर्मनिरपेक्षताको विरुद्धमा पार्टी उभिएको भन्दै राई नेतृत्वमा एउटा पक्ष अलग भएको हो ।

– ९ असोज २०७२ मा एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष डा. बाबुराम भट्टराई अलग ।

– २ भदौ २०७८ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट एमाले विभाजन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार