पानी खान खोल्साकै भर

सल्यान । सल्यानको कालीमाटी गाउँपालिका–७ र्‍याङ्की निर्मला ओलीलाई एक गाग्री पानी लिन बिहानै ५ बजे उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । उहाँसँगै छिमेकी दिलसरा पुन पनि खोलामै पुगेर खोल्साको पानी ल्याउन जानुहुन्छ । उहाँहरु मात्रै होइन् यहाँका ७५ घरपरिवारले लामो समयदेखि खोलाको पानी प्रयोग गर्दै आएका छन् ।

वस्तीनजिक खानेपानीको मुहान नहुनु तथा आवश्यक बजेट अभाव हुँदा बर्खाको धमिलो पानी होस् या अरु समय यहाँका सबैले खोलाकै पानी पिउँदै आएका छन् । ‘जतिबेला पनि पानीकै पिर हुन्छ । जब आकाशमा बादल देखिन्छ, हामी गाग्री बोकेर खोलामा पानी ल्याउन जान्छौं । खोलामा भेल आयो भने पानी धमिलो हुन्छ । कहिले त जरुवा नै पुरिदिन्छ’– स्थानीय तिली पुनले भन्नुभयो–‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो ।’

पानीका लागि ज्यान जोखिममा राखेर खोल्साखोल्सी चाहार्नुपर्ने बाध्यता अझै नहटेको उहाँको भनाइ छ । उहाँका अनुसार खोलाको प्रदूषित पानी खाँदा स्थानीय बारम्बार बिरामी हुने गरेका छन् । गाईवस्तुले खाने र आहाल बसेको पानी पनि उपभोग गर्नुपर्ने बाध्यता छ । पानीकै अभावमा तरकारी खेतीदेखि अन्नबाली लगाउन समेत समस्या भएको स्थानीयको भनाइ छ । यो त एक उदाहरण मात्रै हो । अहिले जिल्लाका उच्च भेगहरुमा खानेपानीको ठूलो समस्या छ । गर्मीयाम शुरु भएसँगै बस्ती नजिक मुहान नहुनु र भएका मुहानहरु पनि सुक्न थालेपछि जिल्लाका उच्च भेगहरुमा खानेपानीको हाहाकार भएको हो ।

सल्यानमा अझै २० प्रतिशत नागरिक पिउने पानीको पहुँच बाहिर छन् । खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय सल्यानले जिल्लाका २० प्रतिशत नागरिकले अझै पानीकै लागि खोला र खोल्साखोल्सी चाहार्नु परेको जनाएको छ । कार्यालय प्रमुख पदमराज देवकोटाले संघीय, प्रदेश र स्थानीय तहको बजेटमार्फत सञ्चालन गरिएका योजनाहरुको आधारमा जिल्लाका ६० प्रतिशत नागरिक मात्रै शुद्ध पिउने पानीको पहुँचमा रहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका ८० प्रतिशत नागरिक पिउने पानीको पहुँचमा छन् । बजेट अभाव, नागरिकको पहुँच नहुनु, बस्ती नजिकमा खानेपानीका मुहान नहुनु जस्ता कारणले केही नागरिक शुद्ध पिउने पानीको पहुँच बाहिर रहेको उहाँको भनाइ छ ।

‘जिल्लाका केही नागरिकहरु खानेपानीको पहुँच बाहिर छन् । कतिपय स्थानमा योजना जीर्ण हुँदा समस्या भएको छ भने केही ठाउँमा बजेट अभाव र बस्ती नजिकैमा पानीका मुहान नहुँदा समस्या भएको छ’– देवकोटाले भन्नुभयो– ‘खानेपानीको पहुँचमा वर्षेनि नागरिक जोडिदै आएका छन्, विकट बस्तीहरुमा पनि लिफ्ट प्रविधिमार्फत खानेपानी योजना सञ्चालन गरिएको छ ।’ उहाँले ती सबै नागरिकलाई शुद्ध पिउने पानीको पहुँचमा ल्याउन सरकारले जिल्लाभर करिब ३० करोड लगानी गर्नुपर्ने बताउनुभयो ।

हाल जिल्लामा नयाँ र पुराना गरेर ५० बढी खानेपानी योजना निर्माणाधीन अवस्थामा छन् । यस्तै यसवर्ष करिब १४ करोड रुपैयाँ बढीको लागतमा जिल्लाभर दर्जन बढी खानेपानीका योजना निर्माणको काम भइरहेको छ । यही गतिमा बजेट प्राप्त भएमा र कामले तीब्रता लिएमा अबको केही वर्षमा नै जिल्लाका सबै नागरिक शुद्ध पिउने पानीको पहुँचमा आउने कार्यालयले जनाएको छ ।

-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार