आजबाट एसईई परीक्षा, ५ लाख १४ हजार परीक्षार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरुले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् ।

बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् ।

कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।

दाङबाट १३ हजार विद्यार्थी

माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा दाङबाट १३ हजार एक सय ५३ विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लाका दुई सय २५ माध्यमिक विद्यालयका १३ हजार एक सय ५२ विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय एकाई समिति दाङका प्रमुख मित्रप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेत घर भई तुलसीपुर कारागारमा रहेका एक छात्रले पनि यतैबाट परीक्षा दिने भएपछि जिल्लामा एक विद्यार्थी थप भएको बताउनुभयो ।

जिल्लामा अहिले प्राविधिक धारतर्फ ११ विद्यालयका तीन सय ५०, ग्रेड बृद्धितर्फ ९४ जना, खुलातर्फ ८५ जना विद्यार्थीहरु पनि परीक्षामा सहभागी हुँदैछन् । सामुदायिक विद्यालय एक सय एक र संस्थागत विद्यालय एक सय २४ गरी दुई सय २५ विद्यालयका विद्यार्थीहरुले परीक्षामा भाग लिदैछन् । १० स्थानीय तह रहेको दाङमा एसईई परीक्षाका लागि ३९ वटा सामुदायिक विद्यालय र छ संस्थागत विद्यालय गरी ४५ वटा केन्द्र तोकिएको छ । जिल्लाको भौगोलिक अवस्था र सबै विद्यालयलाई पायक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख गौतमले बताउनुभयो । माध्यामिक शिक्षा परीक्षाका लागि जिल्लाका छ हजार दुई सय ३४ छात्र र छ हजार नौ सय १८ छात्रा परीक्षामा सामेल हुँदैछन् ।

दुर्गमका विद्यार्थीहरुलाई समस्या

सीमित ठाउँमा परीक्षा केन्द्र राख्दा दुर्गम स्थानका विद्यार्थीलाई भने परीक्षा दिनका लागि समस्या भएको छ । विद्यार्थीहरुले केन्द्रसम्म पुग्न नै कठिन हुने भन्दै दुखेसो पोखेका छन् । नजिकमा सेन्टर नहुँदा घोराही उपमहानगरपालिका वडा नं. १९ का विद्यार्थी समस्या मा परेका छन् । नजिकमा केन्द्र नहुँदा परीक्षा दिन मात्रै डेरा गर्नुपर्ने बाध्यता रहेको भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सिर्जना विकले बताउनुभयो । सो विद्यालयका ३४ जना विद्यार्थीहरु एसईई दिन केही समय डेरा गरेर घोराहीमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उक्त क्षेत्रमा दुई माध्यमिक विद्यालय रहेका छन् । केन्द्र सबै सदरमुकाम घोराहीमा परेकाले कोही साथी आफन्तकोमा र कोही डेरा गरेरै बस्नुपर्ने अवस्था आएको अन्तराष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालयमा अध्ययन गरी एसईई दिन घोराही आउनुभएकी सुस्मिता रानाले बताउनुभयो ।

एसइई परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ  भने परीक्षामा यस वर्ष ११ हजार छ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार नौ सय १४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । दुई वर्षदेखि रोकिएको ग्रेड बृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका दुई सय ९९ विद्यालयका १४ हजार पाँच सय ६४ विद्यार्थी पनि एसइईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार